कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

डिसी नेपाल
६ चैत २०८१ ११:३८

काठमाडाैं। कोशी प्रदेश सरकारले कोशी प्रदेश सभाको चालु छैठौँ अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

बिहीबार विराटनगरमा बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश सभाको छैठौँ अधिवेशन बिहीबाररातीबाट अन्त्य गर्ने निर्णय गरेको हो।

बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई नियुुक्त गर्ने निर्णय गरिएको कोशी प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाँट गर्न स्वीकृत प्रदान प्रदान गरिएको उनले बताए।

बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अरब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमान सीमा १ अरब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको भण्डारीले जानकारी दिए।

उनले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको समेत जानकारी दिए। त्यस्तै बैठकले राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी २०८१ पनि स्वीकृत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *