जेलेन्स्कीले फिनल्याण्डमा भने ‘हामी यो युद्ध जित्नेछौं’

काठमाडौं । सैन्य सहयोगको बारेमा छलफल गर्न फिनल्याण्ड पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन र फिनल्याण्ड दुवैले रुसको छिमेकी हुनु कस्तो हुन्छ भन्ने कुरा बुझेको बताएका छन्।
जेलेन्स्कीले भने ‘शान्तिको लागि रुसमाथि सामूहिक दबाब दिन आवश्यक छ र सम्पूर्ण युरोपले एकताबद्ध रूपमा आफ्नो रक्षा गर्नुपर्नेछ।’
उनले भने, “वास्तविकता पुटिनले भनेको भन्दा धेरै फरक छ। हामी हाम्रो सार्वभौमिकता र हाम्रो स्वतन्त्रताको लागि लडिरहेका छौं, हामी यो युद्ध जित्नेछौं।”
जेलेन्स्कीले भने, “रूस चाहन्छ कि हाम्रा सहयोगीहरूले हामीलाई सहयोग गर्न बन्द गरून्, ताकि युक्रेन कमजोर होस्। यदि पुटिन साँच्चै शान्ति चाहन्छन् भने, उनी हाम्रो सेनालाई किन कमजोर बनाउन चाहन्छन्?”
यसैबीच, फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टबले युक्रेनलाई आफ्नो रक्षा गर्ने पूर्ण अधिकार रहेको र यस अधिकारमा कुनै पनि प्रतिबन्ध लगाउन नसकिने बताए।
“युक्रेन, युरोप र अमेरिका शान्ति चाहन्छन्, तर रूसले पनि त्यो चाहन्छ कि चाहँदैन भनेर हेर्न बाँकी छ। यदि रूस तयार भएन भने, वार्ता गर्न बाध्य पार्न थप दबाब दिनुपर्नेछ,” स्टबले भने।
स्टबले पुटिन र ट्रम्प बीचको कुराकानीलाई “सही दिशामा एक कदम” भनेर वर्णन गरे।
स्टबले थप भने, “ट्रम्प रक्तपात रोक्न चाहन्छन् र उनी सही छन्।”
“युक्रेनले बिना शर्त युद्धविराम स्वीकार गर्यो, तर पुटिनले त्यसलाई अस्वीकार गरे।”
Facebook Comment