दोहोरो भिडन्तमा २२ माओवादी मारिए

काठमाडौं । भारतका गृहमन्त्री अमित शाहले आफ्नो एक्स अकाउन्टबाट छत्तीसगढको बिजापुर र कांकेरमा सुरक्षा बल र माओवादीहरूबीच भएको मुठभेडमा २२ संदिग्ध माओवादीहरू मारिएको पुष्टि गरेका छन्।
उनले लेखे , “आज हाम्रा सैनिकहरूले नक्सलमुक्त भारत अभियानको दिशामा अर्को ठूलो सफलता हासिल गरेका छन्। छत्तीसगढको बिजापुर र कांकेरमा हाम्रा सुरक्षा बलका दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सली मारिएका छन्।”
उनले मोदी सरकारले आत्मसमर्पण नगर्ने नक्सलवादीहरू विरुद्ध शून्य सहनशीलताको नीति अपनाएको पनि लेखेका छन् ।
गृहमन्त्री अमित शाहले अर्को वर्ष मार्च ३१ अघि देश नक्सलमुक्त हुने दाबी गरेका छन्। यस भिडन्तमा जिल्ला रिजर्भ गार्डका एक जवानको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीका अनुसार अहिलेसम्म १८ जना माओवादीको शव बरामद गरिएको छ।
जनवरीदेखि अहिलेसम्म बस्तरमा ७२ माओवादी मारिएका छन्। प्रहरीले मारिएका माओवादीको संख्या अझै बढ्न सक्ने बताएको छ।
बस्तर प्रहरीले एक विज्ञप्तिमा भनेको छ कि सुरक्षा बलको संयुक्त टोली बिजापुर र दन्तेवाडाको सिमानामा रहेको थाना गंगलुर क्षेत्रमा गएको थियो, जहाँ बिहान माओवादीहरूसँग मुठभेड सुरु भएको थियो।
प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ कि भिडन्त स्थलबाट दुई माओवादीको शव र ठूलो मात्रामा हतियार र गोला बारुद बरामद गरिएको छ।
यसैबीच, अर्को घटनामा, नारायणपुर-दन्तेवाडा सीमाको थुलथुली क्षेत्रमा भएको IED विस्फोटमा दुई जवान गम्भीर घाइते भएका छन्।
Facebook Comment