विराटनगरमा ढाका महोत्सव सुरु

काठमाडौं । कोशी प्रदेशका महिलाले उत्पादन गरेको ढाकाको बजारीकरण र प्रवर्द्धन गर्ने उदेश्यले विराटनगरमा ढाका महोत्सव सुरु भएको छ।
महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरे। सो क्रममा उनले पोशाकमा स्थानीय उत्पादनलाई अनिवार्य गर्ने बित्तिकै स्थानीय महिलाहरुले रोजगारी पाउने र ढाकालगायतका अन्य कपडाको विक्री बढ्ने बताए।
उनले आर्थिक र कानुनी रुपमा नै नीति बनाउन सके स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे। मुख्यमन्त्री कार्कीले महिला उद्यमशिलता र स्थानीय उत्पादन प्रवर्द्धनका लागि आवश्यक कार्यक्रम ल्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गरे।
मुख्यमन्त्री कार्कीले आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षक, शिक्षिका र कर्मचारीहरुलाई वितरण गरिने पोशाकमा स्थानीय उत्पादन अनिवार्य गर्ने नीति ल्याउने योजना रहेको बताए।
कोशी प्रदेशको ताप्लेजुङ, इलाम, पाँचथर, भोजपुर, संखुवासभा, धनकुटा लगायतका जिल्लामा वर्षेनी करिब १० करोड रुपैया बराबरको ढाकाका सामग्री उत्पादन हुने बताइएको छ।
ढाका मौलिक पहिचान भएको र महिलाहरुको आम्दानीको स्रोतसमेत भएकाले यसको बजार प्रवद्र्धन गर्न एवं अन्तर्राट्र्रिय क्षेत्रमा पहिचान गराउन महोत्सव फलदायी हुने आयोजकले जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको तीन दिने ढाका महोत्सवमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ल्याइएका ढाकाका सामग्रीका २८ वटा स्टल राखिएको छ।
Facebook Comment