प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको लगातार सातौं जित

डिसी नेपाल
६ चैत २०८१ १७:२७

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार सातौं जित निकालेको छ।

बुधबार रुपन्देहीको एक्स्ट्रा टेक क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशलाई ९३ रनले पराजित गर्दै पुलिस क्लबले लगातार सातौं जित निकालेको हो। जीतसँगै पुलिस तालिकाको शीर्ष स्थानमा कायमै छ।

खेलमा पुलिसले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५ दशमलव २ ओभरमा २ सय ४ रनमा समेटियो। बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन जोडे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८८ रन जोडे।

त्यस्तै प्रतियोगीता अन्तर्गत रुपन्देहीकै सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदशेलाई पाँच रनले पराजित गर्‍यो। कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९ दशमलव ४ ओभरमा २ सय रनमा समेटियो।

लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४८ दशमलव ५ ओभरमा २ सय ५ रन बनाएको थियो। कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६६ रन जोडे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *