शब्दहरू फक्रिँदै, भावनाहरू बग्दै

ज्ञानेन्द्र विवश
८ चैत २०८१ ६:५३

लेखन आत्मसन्तुष्टिको एउटा मौन यात्रा हो। यो यात्रामा शब्दहरू मेरा सहयात्री बन्छन्, अक्षरहरू मेरा पदचिन्ह बन्छन् र भावनाहरू- अल्झिएका, उम्लिरहेका, कहिले मौन त कहिले चर्का र ती नदीझैँ बग्न थाल्छन्।

जब कलम कागजमा तरंगित हुन्छ, त्यस क्षण म आफैँ अक्षरमा परिणत हुन्छु। शब्दहरू फक्रिन थाल्छन्, फूलझैँ। तिनको सुवास केवल पाठकका आँखाबाट होइन, आत्माबाट महकिन्छ। म त्यतिबेला आनन्दको उल्लासले आह्लादित हुन्छु।

अक्षरको सौन्दर्यलाई कुनै सीमा चाहिँदैन। तिनीहरू कहिले कुनै उज्यालो बिहानजस्ता उजागर हुन्छन्, कहिले कुनै साँझको गोधूलिझैँ मलिन। लेखनको मार्ग कुनै सरक्क कोरिएको रेखा होइन, यो कहिले घुम्ती, कहिले गहिराइ, कहिले अग्ला पहाडजस्तो हुन्छ।

सोच्छु-जब म लेख्छु, तब म आफैँ हराउँछु। यसरी हराउँदा भावनाका अनेक भेलहरूमा तैरिँदै, डुब्दै, बयलिँदै रमाउँदै जीवनको अर्को स्वप्निल संसारमा विचरण गर्न पुग्छु।

विचारहरूको प्रवाहलाई नियाल्न खोज्दा शब्दहरू झरीका थोपाझैँ बग्छन्। हरेक अक्षर कुनै कोपिलाजस्तै अंकुराउँछ, कुनै मूक पीडाजस्तै सल्बलाउँछ, कुनै मिठो सुरजस्तै गुञ्जिन्छ। बिर्सिएको कुनै पुरानो सम्झना जस्तै झल्याँस्स सम्झनामा आउँछ। त्यसले लेखनलाई नयाँ मोडतिर डोर्‍याउँछ।

लेखन अभिव्यक्तिको माध्यम होइन, यो एकाकार हुनु हो- जीवनसँग, समाजसँग, इतिहाससँग, अनि सबैभन्दा महत्वपूर्ण-आफ्नै आत्मासँग। हरेक लेखक कुनै न कुनै रूपमा स्वयंलाई खोजिरहेको हुन्छ। लेखन ऐना पनि हो, जसलाई बेलाबेला आफ्नै अनुहारलाई पनि हेरिरहनुपर्छ। कतै हराए जस्तै बारम्बार आफैंलाई पनि खोज्नुपर्छ।

वस्तुतः शब्दहरू मेरो आत्माका प्रतिविम्ब हुन्, जो कहिले झन्झन् स्पष्ट देखिन्छन्, त कहिले तुँवालोमा हराउँछन्। तिनलाई पनि फकाइफुल्याइ शब्दहरू मिलाई-मिलाई सौन्दर्यको व्यञ्जन खुवाउनुपर्छ।

कहिलेकाहीँ लाग्छ- लेखन भनेको एक प्रकारको ध्यान हो। लेअिरहँदा म ध्यानस्थ हुन्छु। कोठाको सन्नाटा, झ्यालबाट छिरेको मधुरो प्रकाश, चरा र बालबालिकाको गुञ्जन, कुकुरको झर्को लाग्दो एकोहोरो भुकाइ यी सबै नसुन्दानसुन्दै पनि सुन्नुपर्छ। कलमको बिस्तारै चिप्लँदो गति- यी सबै मेरो लेखकीय संसारका अंग हुन्। शब्दहरू फक्रिन्छन्, फुल्छन्, ओइलिन्छन्, फेरि कोपिला पलाउँछन्।

भावनाहरू बगिरहन्छन्- नदीझैँ। कहिलेकाहीँ ती आँसु बनेर पोखिन्छन्, कहिले हाँसो बनेर उफ्रिन्छन्। तर जे होस्, लेखन रोकिँदैन। किनकि लेखन आत्मसन्तुष्टिको यात्रा हो। यसले मलाई एकछिन भए पनि आफैँसँग भेट गराउँछ।

एक लेखकको लागि आत्मसन्तुष्टिको यात्रा आफैंमा आत्मसंवाद पनि हो। त्यही आत्मसन्तुष्टिले असन्तुष्टि प्रकट गर्न थालेपछि लेखनको अभियान प्रारम्भ हुन थाल्छ। मेरो लेखनको प्रेरणा नै यही असन्तुष्टिको विरुद्ध सन्तुष्टिको प्राप्ति हो।

कसैले लेखनलाई समाज परिवर्तनको साधन मान्छ, कसैले वैचारिक विद्रोहको अस्त्र। तथापि जब म कलम समात्छु, मेरा औंलाहरू आत्मसन्तुष्टिको सेतो कागजमा आफ्नै अनुभूतिहरू रोप्न थाल्छन्। एकसरो रोपिसकेपछि म तिनलाई गोलमेल गर्न थाल्छु। यसले नमिलेका शब्द, अशुद्धिपन र अस्पष्ट भाव रूपी झारपात उखेर फाल्छ।

यस किसिमको स्याहार-सुसारले अनुकूल मलजल पाएपछि बाली हलक्क हुर्किएझैं लेखनको पाटो पनि सुन्दर बन्छ। मैले सधैँ अनुभूति गरेको छु- लेखन अन्ततः आत्मसन्तुष्टिको यात्रा मात्रै हो, जसको बाटोमा शब्दहरू फूलझैँ फक्रिन्छन् र भावनाहरू नदीझैँ बग्छन्। त्यसले कसैलाई बिझाउँदैन। कसैलाई चिढाउँदैन। बरु सप्रेम मनका सुकिला दृष्टिहरूले मनन-महसुस गर्छन्।

लेखनको सुरुवात कहाँ हुन्छ ? कुनै सुदूर पहाडी गाउँको कच्ची घरको ओछ्यानमा, जहाँ बालक म यौटा सिसाकलमले पहिलो अक्षर कोर्छु। कुनै भीडभाडयुक्त सहरको झ्याल अगाडि, जहाँ धुलाम्मे सडकलाई हेर्दै जीवनका परिभाषाहरू खोज्छु ? वा कुनै गहिरो वनको छायाँमा, जहाँ आत्मा र प्रकृतिले मौन संवाद गर्छन् ?

शायद, लेखनको सुरुवात त्यहाँ हुन्छ, जहाँ मन कुनै अदृश्य स्पर्शले छुन्छ। कुनै रातको सन्नाटामा अचेतनले फुत्काएको एउटा वाक्य, जुन बिहानभरिको विचार-मन्थनपछि पनि गुम्न चाहँदैन।

या कुनै यात्रामा देखिएको दृश्य, जसले हृदयको कपाटमा चोट पारेर जान्छ। त्यही चोटको उपशम खोज्न लेख्न थालिन्छ, आफ्नै भावनालाई चिन्नका लागि, आफ्नै अनुभूतिहरूको प्रतिविम्ब हेर्नका लागि।

लेखन आत्मसन्तुष्टिको उपक्रम मात्र हो भने किन पाठकका प्रतिक्रियाले हृदय स्पन्दित हुन्छ ? किन शब्दको प्रभावको खोजीमा मन काप्छ ? सायद यसको उत्तर पनि आत्मसन्तुष्टिकै परिधिभित्र लुकेको छ।

पाठकले मेरो लेखमा आफ्नै पीडा, आफ्नै सपना र आफ्नै जीवनका छायाहरू भेट्छन्। म आफैंसँग साक्षात्कार गर्न पुग्छु। वास्तवमा लेखन मेरो मात्र होइन, पाठकको पनि दर्पण बन्दोरहेछ।

यद्यपि लेखनले मात्र आत्मसन्तुष्टि दिन्छ त ? कुनै-कुनै दिन शब्दहरू निस्कन्नन्, कलमको मसी सुक्छ, मन गुम्सिन्छ, छटपटीले ऐठन हुन्छ। त्यस्तो बेला लाग्छ, लेखन आफैंमा असन्तुष्टिको अर्को नाम हो। तर फेरि कुनै अपरिचित विचारले मनको ढोका ढकढक्याउँछ, नयाँ सिर्जना जन्मिन खोज्छ। लेखन निरन्तरता हो, जुन कहिल्यै पूर्ण हुँदैन, तर हरेक पाइलाले केही आत्मसन्तुष्टिको आभास दिइरहन्छ।

अन्ततः लेखन मेरो लागि आन्दोलन होइन, विद्रोह होइन, अरूलाई प्रमाणित गर्ने चाहना होइन। लेखन केवल मेरो आत्मासँगको वार्तालाप हो। त्यहाँ म आफूलाई भेट्छु, आफ्नै अस्तित्वको अर्थ खोज्छु। चाहे त्यो अनुभूतिहरूको उत्सव होस् या मौन पीडाको उजागर, अन्ततः लेखन मेरो आत्मसन्तुष्टिको यात्रा मात्र हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *