गुरुङ समुदायमा रहेको ल्वाङ गाउँको सुन्दरता !

गुरुङ समुदाय मूलवासी, भूमिपुत्र मङ्गोल वर्गको समुदाय ,यो मुख्यतय: गण्डकी प्रदेशमा बसोबास गर्दछन्। खासगरि लमजुङ, कास्की, तुनहुँ, गोर्खा, पर्वत, स्याङजा र अन्नपूर्ण हिमश्रृङ्खलाको आसपास मनाङमा गुरुङ समुदायको बाहुल्यता रहेको पाइन्छ।
कोही बाग्लुङ ,ओखलढुङ्गा र ताप्लेजुङतिर माछापुच्छ्रे हिमालको आसपास बसोबास गर्दछन्। थोरै सङ्ख्यामा सिक्किम र भुटानमा समेत बसेको अनुमान गर्न सकिन्छ। तिब्बतको दक्षिणी जिल्लाहरुमा गुरुङ जाति उत्पत्ति भएको मानिन्छ भने केही विद्वानहरूले गुरुङहरु मङ्गोलियाबाट बसाइसराई भई आएका हुन् भनि आफ्नो मत व्यक्त गरेको पाइन्छ।
समुन्द्री सतहबाट करिब १४७० मिटरको उचाइमा अवस्थित ल्वाङ गाउँ जैविक हिमालयन चिया खेतीका लागि प्रसिद्ध मानिन्छ।
पोखरासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका – ८ स्थित मर्दी खोलाको शिरमा माछापुच्छ्रे अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाको काखमा हिमाल जस्तै मिलेको बस्ती हो, ल्वाङ गाउँ !
गुरुङ संस्कृति झल्कने गुरुङ समुदाय भएको अत्यन्तै मनमोहक छ ,ल्वाङ गाउँ ! के तपाई घुम्नु भएको छ त ? यदि छैन भने हामी सरर घुमेको महसुस गरौं है त !
ढुङ्गाका छाना, मौरीका घारहरु, आँगन बाटोमा ढुङ्गाले छापिएका , एकै किसिमका, एकै नाशका झुरुप्प बस्ती, जुन घर हेर्दा पनि उस्तै लाग्ने, उतिकै आकर्षक, लोभलाग्दा र मनमोहक छन्। सेतो र गेरू रङ पोतिएका गुजुमुज्ज गुरुङ बस्ती ,कलात्मक वास्तुकला झल्कने घर , भ्याल, ढोकाले पनि सबैको ध्यान खिचिरहेको हुन्छ !
गण्डकी प्रदेशमा रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका – ८ मा रहेको ल्वाङ गाउँ ! पोखराको हरिचोकबाट २० किलोमिटरको दूरीमा रहेको छ। त्यहाँ जानका लागि पोखराको टुडीखेल स्थित हरिचोकबाट हेम्जा, मिलनचोक, मर्दीपुल, खानेपानी, भेडाबारी, खोरामुख, भाङखोला हुदै करिब १ घण्टा ३० मिनेटमा ल्वाङ गाउँ पुगिन्छ।
शहरमा गर्मी महसुस हुदा, रमाइलो गर्न, अनावश्यक तनाव भुलाउन, थकित व्यस्त जीवनबाट पुनर्ताजगी महसुस गर्न मान्छेहरू त्यहाँको प्राकृतिक र सांस्कृतिक आनन्द लिन जान्छन्।
माछापुच्छ्रे अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न, त्यहाँको शितलपन र सुन्दरताको आनन्द उठाउन , १ हजार ७ सय रोपनी क्षेत्रफलमा फैलिएको चियाबगान हेर्ने, चैत्त, वैशाखमा फुल्ने लालीगुराँस हेर्न पनि आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्दछ।
ढुङ्गाले छाएका पुराना मैलिकघरहरू, ढुङ्गा र काठको बढी प्रयोग भएका पुरानो शैलीमा निर्माण भएका कलात्मक घरका आँगन, बाटोमा ढुङ्गा छापिएका, गुजुमुज्ज परेको मनमोहक रहेछ, ल्वाङ गाउँ !
आन्तरिक वा बाह्य पर्यटकहरू गाउँमा प्रवेश गर्दा त्यहाँका गुरुङ समुदाय र संस्कृति झल्कने गरी महिलाहरुले फूलबुट्टे टिसर्टमाथि रातो स्वेटर, मजेत्रो, लुङ्गीका साथै नौगेडी माला लगाएर एउटै पोशाकमा अविर, टीका. र फूलका माला (गुच्छा) ले स्वागत गरेको देख्दा लाग्छ, आहा! गुरुङ, सभ्यता र संस्कृतिको अनुपम उदाहरण हो, ल्वाङ गाउँ !
गुरुङ सत्कार त्यहाँको संस्कृति, परम्परा, रहनसहन, चालचलन, बोलीचाली, जीवनशैली आकर्षक रहेको छ। २०६७ सालमा सामुदायिक होमस्टेको सुरुवात भएपछि आन्तरिक एवम् वाह्य पर्यटकहरुको चाप बढन थालेका कारण ल्वाङ गाउँ प्रचारमा आएको हो भन्ने स्थानीयको भनाइ रहेको छ।
गुरुङ सभ्यताको धरोहर, इमान्दारिताको पराकाष्ठा बोकेको सभ्यता, आतिथ्य सत्कारमा रमाउने, मेलमिलाप र सहयोगी भावना बोकेका पुस्तैदेखिको सभ्यतालाई निरन्तरता दिएकाले पनि जो कोही त्यहाँ पुग्छन् , तिनीहरूको शारीरिक, मानसिक थकान छिनभरिमै हराएको पत्तै पाउँदैनन्।
त्यहाँको सुन्दर प्राकृतिक दृश्य र सांस्कृतिक परिवेशले जो कोहीको पनि मन लोभ्याउँछ, आतिथ्य सत्कारमा आफैले उत्पादन गरेका चिजलाई प्रोत्साहन गर्नाले पनि स्थानीय उत्पादनमा वृद्धि र खपत भएको महसुस हुन्छ। लाग्छ, कि हामीले पनि हाम्रो देशमा केही गर्नुपर्छ भन्ने भावना सहजै दिलाउनुका साथै संस्कार र संस्कृति जोगाउनमा उर्जाशील बन्नुपर्छ भन्नेमा ध्यानाकर्षण गर्दछ।
होमस्टेको व्यवस्थापन व्यवसायिक शुरुवात हुनुभन्दा अगाडि २०५३ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा चियाखेतीको शुरुवात गरिएको रहेछ। चिया खेतीले अहिले व्यवसायिकता पाएको छ।
अन्नपूर्ण चियाबगान अहिले प्रचार भई व्यवसायिक रूपमा सबैको रोजाइमा पर्न सफल भएको पाइन्छ। होमस्टेबाट आधाघण्टाको पैदल (हाइकिङ) पश्चात अन्नपूर्ण चियाबगानबाट हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छन।
हाल ल्वाङ गाउँ बाह्य पर्यटक भन्दा पनि आन्तरिक पर्यटक घुम्न जाने क्रम बाक्लिएको छ। पर्यटकको बाक्लो चाँपले गर्दा पनि यात्रामा जानुपूर्व नै बासकालागि होमस्टेको बुकिङ गर्नुपर्ने व्यवस्थापकले बताए।
प्रमुख व्यवसायमा पर्यटन (होमस्टे) सैन्य सेवा, वैदेशिक रोजगार, जैविक चिया कारखाना स्थानीय वस्तु उत्पादन र बिक्री, कृषि महत्वपूर्ण मानिन्छन्। स्थानीय उत्पादन मौलिक संस्कृति, ठेठ नेपाली खाना, सांस्कृतिक कार्यक्रम, गुरुङ रहनसहन, भेष भूषा, चालचलन, घाटुनाच, सोरठी नाच ,मारुनी नाच लगायत त्यहाँका अन्य विशेषताहरु पनि रहेका छन्।
नेपालमा रहेका यस्ता प्राकृतिक, सांस्कृतिक महत्त्व बोकेका स्थानको प्रचार गरी आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याई गतिलो आर्यआर्जनको स्रोत बनाउन सकिन्छ । भौगोलिक परिवेश कुनै पनि जाति समुदायको जीवनशैली ,रहनसहन , भाषाशैली, चालचलन, संस्कार र संस्कृतिलाई नजिकैबाट नियाल्यौ भने अनि मात्र त्यससँग गहिरो लगाव हुन्छ। वस्तुगत स्थूल कुराहरु बुझ्न, गहिरिएर अध्ययन गर्न, अवलोकन गर्न, शोध खोज गर्नुपर्छ।
विविध जात, धर्म , भाषा ,संस्कार र संस्कृति भएको हाम्रो देशमा सबैलाई उत्तिकै, समान महत्व दिनुपर्छ। विविधतामा एकता भएको मुलुकमा सबैलाई समान महत्त्व दिई यस्ता पहिचान दिलाउने सभ्यताहरुको प्रचार गर्नुपर्छ।
राज्यपक्षबाट पनि विभिन्न ठाउँमा रहेका सम्बन्धित समस्याहरुको उचित व्यवस्थापन गरी ओझेलमा परेका प्राकृतिक, संस्कृतिक धार्मिक, ऐतिहासिक क्षेत्रहरुको संरक्षण र विकास तर्फ ध्यान जानु आवश्यक हुन्छ।
गैंडाकोट ४, नवलपुर
Facebook Comment