कथा : मनकुमारी कुखुरी काँ !

भालेको पहिलो डाँकमै मनकुमारी जरुक्क उठिन्। पूर्वको ज्योतिले धर्तीलाई स्पर्श गरेकै थिएन। सामान्य शूची सकेर लुगा फेरिन् र बेलुकी नै ठिक पारेको झोला बोकिन्। छोरा सुतेको ठाउँमा हेरिन् तर हेरिरहन सकिनन्। बिस्तारै बिरालाको चालमा बाहिर निस्किइन्।
उनका अपांग लोग्ने पिँढीमा मस्त निदाएका थिए। लोग्नेको घुराइको बाक्लो आवाजले छोरा बिँउझेला भनेर उनी रसाएका आँखालाई कोस कोस पुछेर सुख्खा गराउँदै तगारो नाघेर तलतिर झरिन्।
रुँदै गरेको छोरा छाडेर हिँड्न आमालाई गाह्रो हुन्छ नै। यही ठानेर उनले सुस्तरी पाइला चालेकी थिइन्। गोठको भैंसीले कराएर बोलाए झैँ गर्यो। सायद मनकुमारीको घर छोड्ने कुरा थाहा पाएर भैँसीले बोलाएको होला! पशुवाक्य मान्छेले बुझ्ने कुरै भएन। उनी घरतिर नफर्की सरासर बाटो लागिन्। उनलाई वुटवलको बस भेट्टाउनु थियो।
ल! ल! जानै लाग्यो छिटो आउनूस्!
बस हिँड्नै लागेको रहेछ।
मनकुमारी बाटोभरी आफ्नो काखे बालक छोरालाई सम्झँदै बेचैन हुन्थिन्। नजिकै सिटमा बसेका अन्य महिलाका काखे नानी देखेर मनकुमारीको मुटु जोडजोडले हुनसक्छ धड्कियो हुनसक्छ आफ्नो नानी सम्झिएर।
नागबेली आकारको पहाडी बाटो बसले रफ्तार लियो। बसको गति बढ्नासाथ यात्रुको धड्कन बढ्दै जान्थ्यो। धड्कन भन्दा डर अझैँ बढी हुन्थ्यो। झ्यालसँगैको सिटमा बसेकी मनकुमारी आफ्ना सम्झनाका तरेलीहरूमा पर्दा हाल्न झ्यालबाट बाहिर हेर्थिन् र भुल्न खोज्थिन्। तर, उनलाई घरको याद आइरहेको थियो।
घरको भन्दा सानो बालक छोराको यादले सताइरहेको थियो। बसले केही कम गति लिएको बेलामा सिटमै अडेस लागेर निदाउने जमर्को गर्थिन् तर निदाउन सकेकी थिइनन्। उसो त मनकुमारी विदेश जाने योजना बनेदेखि नै राम्रोसँग निदाएकी थिइनन्। झन् तीन रात भयो उनले पलक पटक्कै नजोडेको। मनभरी खेलेका कुराका वयानले निदाउन पो कहाँ दिन्थ्यो र।
“गौरी पनि म जस्तै महिला त हो नि! विदेश गएर कति धेरै पैसा कमाएर आफ्नो बन्दोबस्त गरेकी छे। परिवारलाई शहरमा लगेर राखेकी छे। छोराछोरीलाई राम्रोसँग पढकाएकी छे।” मनकुमारीको मगजमा नयाँ पुराना कुराका दृष्य फेरिँदै रहे।
“मनकुमारी तिमी पनि हिँड विदेश।” गौरीले धेरै पटक मनकुमारीलाई भनेकी थिइन्। उमेरमै पैसा कमाऊँ, छोराछोरीलाई राम्रो शिक्षा दिन सकिन्छ। बुढेसकालमा सुख पाइन्छ। शत्रु, वैरीका अगाडि ठाडो शिर गरेर बाँच्न पाइन्छ। यस्ता अनेकौ कुरा गरेकी थिइन् गौरीले मनकुमारीसँग।
गौरीका कुराले भित्रसम्म छोइएकी मनकुमारी आफ्नो जीवनको नीरस भूमिलाई उर्वर बनाउन विदेश जाने निर्णयमा पुगेकी छन्। “गौरीलाई विदेश पठाउने मान्छेले नै बहिनी चिन्ता नगर्नू, राम्रो ठाउँमा पठाइदिन्छु ’’ भनेको थियो।”
राम्रै ठाउँमा पठाउला! एकै भेटमा कस्तो नजिकको आफन्तको जस्तो व्यवहार गरेको थियो। पैसा कमाउन थालेपछि पहिला ऋण तिर्छु, लोग्नेको उपचार गर्छु अनि छोराछोरी पढाउँछु।” मनकुमारीका मनमा अनेकौ दृष्यका वर्षात भए। धेरै सपना आँखामा आएर अलप भए।
ए! वुटवल, वुटवल!
ल! ल! आयो!
आ–आफ्नो सामान लिएर झर्नूस्। सह-चालकले जोडले कराएर मनकुमारीको तर्कना विथोलिदियो। केटा मान्छेहरू फटाफट पहिले ओर्लिए। झोला, गुन्टा भएका मानिसहरू र नानी बोकेका महिला बिस्तारै ओर्लिए। मनकुमारी पनि ओर्लिइन्।
“मनकुमारी तपाई नै होइन?”
“हो, म नै हो।”
“म लालहरि, गौरीले फोनमा कुराकानी गराइदिएको मान्छे। ल हिँड्नूस्। म तपाईलाई मेनपावर अफिस पुर्याइदिन्छु। पर्सीको फ्लाइट छ। उहाँहरू पनि हुनुहुन्छ।” लालहरिले मनकुमारीलाई अरू तीनजना महिलालाई देखायो। अरू तीन जना महिला र मनकुमारीले आफ्नो भविष्यको बाटो लालहरिको जिम्मामा छाडे।
नेपाल सरकारले महिलालाई वैदेशिक रोजगारीमा जान धेरै प्रक्रिया पूरा गर्नुपर्ने बनाएको थियो। झन्डै झन्डै प्रतिबन्धको अवस्था थियो। त्यसैले मनकुमारीे समूहका सबैलाई खाडी देश लैजाने भनेर लालहरिले पहिले नयाँ दिल्ली पुर्यायो। हातमा राहदानी र प्लेन टिकट थमाउँदै राम्रोसँग जानू, धेरै पैसा कमाउनू भन्यो। दुबइको एयरपोर्टमा मेरो मान्छे लिन आउँछ। उताको बन्दोबस्त सबै उसैले हेर्छ भनेर आश्वस्त बनायो। मनमा डर डर लागे पनि पैसा कमाएर सुखको संसार बनाउने सपनाले मनकुमारी लगायतको मन जितेको थियो। उनीहरूका लागि यो यात्रा नौलो अनुभव थियो। अरू साथी कता छुटे, कता परे मनकुमारीले पत्तो पाइनन्। अत्यन्तै नौलो यात्रा गर्न लागेकी मनकुमारीले आफ्नो झोला बोकिन् र पछि फर्केर हेरिन्। लालहरि गइसकेको थियो।
जहाजमा कतैकतै नेपाली बोलेको सुनेर मनकुमारीले एक्लो यात्रामा पनि ढाडस दिइन् आफैँलाई। तीन घन्टाको यात्रापछि दुबई एयरपोर्टमा जहाजले ओराल्यो। नितान्त नौलो ठाउँ, नौला मान्छे, नौलो नौलो बोली। लालहरिले भनेझैँ प्रकृया पूरा गर्दै उनी एरपोर्ट बाहिर निस्किइन्।
“मनकुमारी तपाई नै हो?” एउटा मान्छेले नजिकै आएर सोध्यो।
“म लिन आएको तपाईँलाई, हिँड्नूस्।” उसले यति भन्यो र ट्याक्सी बोलायो। नेपाली मान्छेले नै बोलाएर सँगै जाँदा मनकुमारीलाई अलिक चैनको सास आयो।
“म शिवलाल।”
“घरमा को को छन्?”
“तपाईँको लोग्ने के गर्नुहुन्छ?”
मनकुमारीले उत्तर दिन नपाउँदै एकपछि अर्को प्रश्न गथ्र्यो त्यो मान्छेले। घर परिवारको सम्झनाले मनकुमारीको आँखा रसाइरहे।
करिब आधा घन्टाको यात्रापछि ट्याक्सी रोकियो। मनकुमारी ओर्लिइन्। तातो हावाले स्पर्श गर्नासाथ उनको शरीरले बेचैनी ठान्यो। त्यो मान्छेले उनलाई एउटा घरभित्र लिएर गयो। त्यहाँ एउटा कोठामा अरू पनि दिदीबहिनीहरू रहेछन्। मनकुमारीलाई अरू दिदीबहिनी देख्दा खुसी र आधार मिलेको आभास भयो। परिचय साटासाट भयो। विदा मनाउन जम्मा भएका रहेछन्उनीहरू।
मनकुमारीको भिजिटिङ भिषा रहेछ। शिवलालले उनको काम खोज्ने जिम्मा लिएका रहेछन्। भन्ने बित्तिकै काम पाइएन। घरमा छोराछोरी छिट्टै फर्कनू आमा भनेर चिच्याउँदा उनको कलेजा नौचिरा हुन्थ्यो। महँगाे व्याजमा काढिएको ऋणले अनेक हाँगाबिगा हाल्दै थियो। कुनै राम्रो काम नपाएपछि एकजना नेपाली मान्छेले एउटा भारतीय परिवारको घरमा राखिदिए। थोरै तलब र गाह्रो काम थियो। तर परिवार र ऋण सम्झिएर उनले काम गर्न मञ्जुर गरिन्।
एक साँझ एकजना नेपालीले फोन गरेर परिचय दियो। “म कुमार! अस्ति बरदुबइमा भेटेको के त”
“ए! अँ, चिने, चिनें।
“किन यतिबेला फोन गर्नुभयो त कुमारजी”
“एउटा राम्रो काम भेटिएको छस मिल्छ भने भोलि छुट्टी मिलाएर यता आउनू। काम चित्त बुझे यतै गर्नुहोला मनकुमारीजी।”
“हुन्छ, म आउँछु, कुमारजी।”
एकभारी सपना बोकेको मनलाई अलिकति खुसी मिलेजस्तो भयो। मनकुमारी घरमा पैसा पठाउने बहाना गरेर निस्किइन्। अलिअलि जम्मा भएको पैसा घरमा पढाउनुपर्ने पनि थियो। आफूलाई केही मेसो नभएको हुँदा कुमारले सहयोग गर्नेछ भन्ने आशा अनुरुप कुमारले सहयोग गरेर पैसा पठाइदियो। नेपाली मन नेपालीपन निकै सुखद आत्मीयता मनकुमारी गद्गद् भइन्।
“निकै गर्मी छ चिसो पिऊँ कुमारले चिसो पेयपदार्थले भरिएको गिलास मनकुमारीको हातमा थमायो र आफूले पनि पिउन थाल्यो। त्यहाँ अरू मान्छे कोही थिएनन्। पेय पदार्थमा नशालु तत्त्व मिसाइको रहेछ। मनकुमारी अर्धचेत बनिन्। कुमारले कुत्सित् हर्कत पूरा गर्यो। मनकुमारी रोइन् कराइन् तर उनको पुकार सुन्ने भित्ता बाहेक कोही थिएन। भित्ताको पनि कान हुन्छ भन्थे तर मनकुमारीको रोदन भित्ताले सुनेन। उनी लुटिइरहिन्।
नशाले केही छोडेपछि आफ्नो अस्मिता गुमाएर मनकुमारी फर्किइन्। केही बोलौँ नयाँ र नौलो ठाउँ, त्यसमाथि आफ्नै इज्जतमाथि प्रश्न।
एकदिन मनभरि घरको पिर अनि आफू लुटिएको पीडाको बीचमा काम गर्दा गर्दै बेहोस् भएर ढलिन् मनकुमारी। उनलाई स्वास्थ्यकर्मी ल्याएर देखाइयो। बिडम्बना मनकुमारी गर्भवती बनेकी रहिछन्। यो थाहा पाउनेवित्तिकै साहूनीले मनकुमारीलाई कामबाट निकालिदिइन्। मनकुमारीको विकल्प थिएन र त्यही कुमारलाई फोन गरिन्। भेट गर्नुपर्ने भन्ने बित्तिकै हौसिएको कुमार मनकुमारीको कुरा सुन्ने वित्तिकै आगो भयो र उल्टै मनकुमारीलाई लाञ्छना लगाउन थाल्यो। आफूले कुनै हालतमा स्वीकार नगर्ने र आफू प्रतिष्ठित मान्छे भएकाले यस्ता कुरा कसैले विश्वास नगर्ने भन्दै उल्टै धम्की दियो।
मनकुमारीको अवस्था दयनीय भयो। दुईरातसम्म भोकप्यास सहेर सडकमै बसिन्। समुन्द्रमा फाल हालेर जीवन त्याग गर्न नसोचेकी पनि होइन। तर घरमा अशक्त श्रीमान र साना अबोध छोराछोरी सम्झिएर त्यसो गर्न सकिनन्। भोकप्यासले ग्रसित मनकुमारी समुन्द्र किनारको बालुवामै ढलिन् र भीड जम्मा भयो। मनकुमारीलाई अस्पताल लगियो। सज्जन नेपाली दाजुभाइ दिदीबहिनीले सहयोग गरे। उनको अवस्था हेरेर कसैले दुबईमा रहेका समाजसेवी मुकुन्द थापालाई खबर गरिदियो। मुकुन्द थापाले सबै चाँजोपाजो मिलाएर उनको उपचार गरिदिए। समाजसेवी थापाले नै राजदूतावासको सहयोगमा बढ्दै गरेको गर्भ सहित मनकुमारीलाई नेपाल फर्काए। नेपाल त फर्किइन् उनी, तर जाने ठाउँ देखिनन्। घरमा जाने कुरै थिएन। बेलाबेलामा पेटमा रहेको शिशुले लात हानेर उनको गाउँ फर्कने योजना विथोलिदिन्थ्यो। चिनजान आफन्तकोमा जाने सम्भावना नै थिएन, उफ!
दुबई हुँदा चिनजान भएकी एकजना साथीको घर काठमाडौँमा थियो। त्रिभुवन एयरपोर्टबाहिर निस्केर एकजना व्यक्तिको सहयोगले उनै साथी सुनितालाई फोन गरिन्।
आपत्मा आफन्तभन्दा असल मन भएका साथी नै बढी काम लाग्ने हुन्छन्। मनकुमारीलाई भेट्न सुनिता तुरुन्तै आइहालिन्। मनकुमारी र सुनिता अँगालोमा कसिए। सुनितालाई देख्दा मनकुमारीलाई निकै ठूलो आधार मिलेको थियो। दुवैजना सुनिताको घर गए। मनकुमारीले रुँदैरुँदै आफ्नो सबै कुरा सुनाइन्। सुनिताको आँखाबाट पनि आँसु बर्सिए।
भोलिपल्टै सुनिताले मनकुमारीलाई राम्रो हेरचाह हुने संस्था “ह्याप्पी-होम’मा लगेर छोडिन्। चाहेर पनि आफूसँग राख्न सकिनन्। परिवारलाई के भन्नू? बेला बेलामा संस्थामा गएर भेट्ने गर्थिन् सुनिता। दुई महिनापछि मनकुमारीले सुन्दर छोरीलाई जन्म दिइन्। मुटु अब दुईतिर बाँडियो। उता, घरको याद उत्तिकै छ। यहाँ अर्को मुटुको टुक्रा! छोरी बोकेर घर जान पनि त नहुने। कसलाई छोड्ने, कसलाई अँगाल्ने दोधारमा परिन् ।बेलाबेलामा घरतिरको खबर सुनेर मरेतुल्य हुन्थिन् मनकुमारी।
आफन्त ,इष्टमित्रमा लामो समयदेखि बेखबर मनकुमारीलाई समाजले अनेक कुरा काटेर उनको चरित्रमाथि अौंला उठाएको थियो। कतिले त सुखको खोजीमा पोइल भागेको किटानी गरेका थिए। छोरामान्छे बेखबर बनेको भए अनेक सहनुभूतिको वर्षा गराउँथ्यो समाजले। मनकुमारी रहरले होइन बाध्यताले बेखबर बनेकी थिइन् यही समाजको चुत्थ्थो इज्जतका लागि।
टाउकामाथि खसेको आकाश पन्छाउन सानो आँट र हिम्मतले सम्भब थिएन। छोराछोरीको भविष्य ,लोग्नेको उपचार ,साहूको ऋण , काखे नानीको व्यवस्थापन विकट पहाड बनेर उभिएका थिए मनकुमारी सामु।
सुनिताको सहयोगमा सीपमूलक तालिम लिइन् मनकुमारीले। लगनशीलता र मेहनतले काम गर्दै जाँदा छोटो समयमा नै निकै तरक्की गरिन् उनले । गाँस बासको समस्या नपरेपछि अन्य योजना बनाउन र काम गर्न सजिलो हुन्छ भन्ने उनले बुझिन।
मनकुमारीले आफूलाई रसातल पुर्याउने दुष्टलाई सजाय दिलाउने हेतुले वैदेशिक रोजगार विभाग र प्रहरीमा समेत उजुरी दिइन्। विडम्बना, मनकुमारीको आशा यश कुरामा भने पूरा हुन पाएन। किनभने, कुमार भन्ने त्यो नरश्वानले अर्को नेपाली चेलीलाई मनकुमारीलाई झैँ फन्दामा पारेर शोषण गर्न खोज्दा ती चेलीले दुबई पुलिको जिम्मा लगाइदिइछन् । बलात्कार जस्तो जघन्य अपराधमा उसलाई मृत्युदण्डको फैसला भैसकेको रहेछ। मुकुन्द थापाद्वारा सुनेको खवरले घाउमा थोरै मलमको काम गर्यो मनुलाई|
समय बित्यो । फराकिलो मन भएका मनकुमारीका लोग्नेले उनको बाध्यतालाई आत्मसात गरेका छन्। लामो समयको उपचारपछि रोगलाई जितेर तन्दुरुस्त भएका उनी मनकुमारीलाई हरतरहले सहयोग गर्नेछन् । छोराछोरी पनि शहरको राम्रो विद्यालयमा पढ्छन्।
मनकुमारीमा हरेक समस्या सामु सतिसाल झै उभिइन् सुनिता । अभरमा परेका मान्छेलाई साथ सहयोगले लक्ष्यमा पुर्याउँछ भन्ने उदाहरण हो यो। महिलाको धन,यौवन लुट्ने देखि जीवन नै चुडाल्न पछि नपर्ने समाजका गलत मनोवृत्ति बोकेका मानिस र महिला विभेदका विरुद्धमा आवाज बुलन्द गर्ने मनशाय राखेर सामाजिक काम गर्न अगाडि बढ्दै छन् सुनिता मनकुमारी ।
खजुरा बाँके
Facebook Comment