अब म २०८४ सम्म प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

डिसी नेपाल
७ चैत २०८१ १३:४५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म प्रधानमन्त्री हुने दौडमा नरहेको बताएका छन्।

शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको आरोप लगाउँदै आफू २०८४ सम्म जनताकै साथमा रहने बताएका हुन्।

प्रचण्डले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए। ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ। उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,’ उनले भने।

प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप लगाए। ‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन। लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरूलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनुभएको छ’ उनले भने, ‘उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने भएको छ।’

प्रचण्डले सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीलाई लागू नहुने दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *