एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य छ: मन्त्री यादव

डिसी नेपाल
७ चैत २०८१ २३:२५

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता भएकाले अबको एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको बताएका छन्।

काठमाडौंमा युएचएस होल्डिङ्सको सहभागितामा आज आयोजित आइओन एक्सचेन्ज जेरोबी–उत्पादन लन्च समारोहमा मन्त्री यादवले अहिले २७ प्रतिशतमा स्वच्छ खानेपानी पुर्याउन सफल भएको र आगामी एक वर्षभित्रमा ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य लिइएको बताए। उनले भने, ‘हामी सबैलाई अवगत छ कि शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता हो, यसको अभावले सार्वजनिक स्वास्थ्य मात्र होइन, समग्र विकासमा समेत गम्भीर असर पुर्‍याउँछ।’

मन्त्री यादवले खानेपानी मन्त्रालय नेपालका प्रत्येक नागरिकलाई सुरक्षित, शुद्ध र स्वस्थ पिउने पानी उपलब्ध गराउने आफ्नो संकल्पप्रति प्रतिबद्ध रहेको बताउँदै नेपालका ग्रामीण क्षेत्रमा ९५ प्रतिशत र सहरी क्षेत्रमा ९८ प्रतिशत जनसङ्ख्याले आधारभूत खानेपानी सेवाहरूको पहुँच पाएको बताए।

सरकारले सन् २०३० भित्र ‘सुरक्षित तथा स्वच्छ खानेपानी पहुँच’ हासिल गर्ने लक्ष्य लिएको तथा जुन संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यको हिस्सा पनि भएको बताए। उनले भने, ‘यस लक्ष्यलाई हासिल गर्न निजी क्षेत्र, सरकारी निकाय र गैरसरकारी संस्थाहरूको सहकार्य अपरिहार्य छ।’

दूषित पानीका कारण टाइफाइड, डाइरिया, हेपाटाइटिस, हैजाजस्ता रोग महामारीका रूपमा देखापर्ने गरेका, नेपालका धेरै भागमा जलस्रोतको प्रदूषण, अव्यवस्थित ढल निकास र औद्योगिक फोहर स्वच्छ पानीको उपलब्धतामा बाधक बन्दै आएको उनको भनाइ छ।

शुद्ध खानेपानी नागरिकको मौलिक अधिकार भएकाले यसलाई सरकार, निजी क्षेत्र र नागरिक समाजले मिलेर सुनिश्चित गर्नुपर्ने, जेरोबीजस्ता नवीनतम् प्रविधिहरूको प्रयोगले सुरक्षित पिउने पानीको सुनिश्चितता गर्न मद्दत गर्ने, सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाहरू मिलेर ‘स्वच्छ खानेपानी पहुँच’को लक्ष्य प्राप्त गर्ने मन्त्री यादवले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *