आर्मी र एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा

डिसी नेपाल
८ चैत २०८१ १०:०९

भरतपुर । त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो।

रोमाञ्चक खेलमा आर्मी ६–३ ले विजयी भयो। खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो। त्यसपछि आर्मी खेलमा फर्कियो। आर्मीको जितमा चन्द्रा भण्डारीले चार गोल गरिन्। अरु दुई गोल बिमला र हिमा चौधरीले गरे।

रौतहटका लागि पिउली रायले दुई तथा सेनु परियारले एक गोल गरे। चार गोल गरेकी आर्मीकी चन्द्रा प्लेयर अफ द म्याच भइन्। उनले १० हजार प्राप्त गरिन्।

उक्त खेलको प्रमुख अतिथी एनआरएनए आईसिसिका उपमहासचिव प्रविन गुरुङले उक्त राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरे। चितवन स्थायी घर भइ कतारलाई कर्मभुमी बनाएर ब्याबसाय र सामाजिक कार्य गर्दै आएका गुरुङले महिला फुटबललाई सधै सहयोग गर्ने बताए। गुरुङले नेपालको खेलाडीहरुले घरको खाना खएर यत्तिको खेलेकोमा प्रसंसा गरे।

उक्त राष्ट्रिय महिला फुटबल प्रतियोगिताको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतले सफलताको शुभकामना व्यक्त गरे।

आर्मीले अब उपाधिका लागि एपिएफ एफसी काठमाडौंको सामना गर्नेछ। एपिएफ यसअघि पहिलो सेमिफाइनलमा भरतपुर–२४ विरुद्ध ११–० को फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन्। भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ।

प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्। एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो टोली उपाधि जित्ने लक्ष्य लिएर मैदान उत्रिने बताए। उनले आर्मीविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने पनि बताए। राष्ट्रिय टिमका अधिकांश खेलाडी एपिएफमा हुनु बलियो पक्ष भएको उनले बताए।

कप्तान अनिता बस्नेतले एपिएफले आफ्नै शैलीको खेल प्रस्तुत गर्ने बताइन्। उनले पनि विपक्षीलाई कमजोर नआँक्ने बताइन्।

आर्मीका प्रशिक्षक कृष्ण सिंह ठगुन्नाले यस पटक एपिएफलाई हराएर उपाधि जित्ने विश्वास रहेको बताए। फाइनलमा केही परिवर्तन हुन सक्ने उनले संकेत गरे।

आर्मीविरुद्ध यसअघिका खेलमा हार बेहोरे पनि यस पटक जित्ने लक्ष्य रहेको बताए। कप्तान सुनिता चौधरीले आर्मीको लक्ष्य उपाधि नै रहेको बताए।

आर्मीलाई एपिएफविरुद्ध बदला लिने अवसर रहेको छ। फागुन २४ गते भएको इलाम गोल्डकपको फाइनलमा एपिएफले आर्मीलाई पराजित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *