जनताको पानी र सरकारको लगानी मूल लक्ष्य हो : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले मन्त्रालय जनताको पानी र सरकारको लगानी भन्ने विषयलाई लिएर अगाडि बढि रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानी’ विषयक सरोकारवालहरुबीच गोष्ठी कार्यक्रममा उनले पानीमा जिरो प्रतिशत जनताको लगानी र सय प्रतिशत नै सरकारले लगानी गर्ने भन्दै यसको नीतिसहित अगाडि बढिरहेको बताए ।
उनले भने, ‘जनताको पानी र सरकारको लगानी भनेर हामी अगाडि बढि रहेका छौ । अब जनताको एक रुपैयाँ पनि पानीमा नलाग्ने जिरो प्रतिशत जनताको लगानी रहने गरि सय प्रतिशत नै खानेपानीमा नेपाल सरकारले लगानी गर्ने गर्छ । यसको नीतिसहित हामी अगाडि बढि रहेका छौ । खानेपानीको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याई रहेका छौ भन्ने विश्वास पनि लिएका छौं ।’
उनले डाटा अनुसार जनतालाई २७ प्रतिशत स्वच्छ र शुद्ध पानी वितरण गरिएको भन्दै प्रदेश र स्थानीय सरकारको सहयोगमा यसलाई एक वर्षभित्र ५७ प्रतिशत पुर्याउनको लागि मन्त्रालय अगाडि बढिरहेको बताए ।
यसको साथै, उनले तीनै तहका सरकारबीच सुशासनमार्फत अन्तर समन्वय गर्दै पानीमा समान पहुँच न्याय संगत वितरण र दिर्घकालिन व्यवस्थापन प्रवद्र्धनमा पहल गरिरहेको बताए ।
Facebook Comment