छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.२ ख ५१३६ नम्बरको ट्रकमा लु.१६ प ६८५ नम्बरको स्कुटर ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक कपिलवस्तु वाणगंगा नगरपालिका-४ बस्ने २८ वर्षीय रमेश खनालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१९ आलानगरस्थित सडकमा कन्ठिपुरदेखि आलानगरतर्फ जाँदै गरेको भे.१२ प ९८०२ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१९ कन्ठिपुर बस्ने ३८ वर्षीय मोहन लाल कामीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
दाङको घोराही उपमहानगरपालिका-१६ गुर्जेखोला पुलस्थित सडकमा रा.२ प ६१६३ नम्बरको मोटरसाइकल र रा.८ प ३४१ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाँदा रा.८ प ३४१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय बिबेक सुबेदीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका रा.२ प ६१६३ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
सिराहाको लहान नगरपालिका-१२ भोटिया चोकमा धनगढिबाट लहानतर्फ आउँदै गरेको प्र.२-००३ प २९० नम्बरको मोटरसाइकल शुक्रबार साँझ दुर्घटना हुँदा चालक धनगढीमाई नगरपालिका-२ बस्ने २३ वर्षीय बिबेक साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो।
सुनसरीको दुहवी नगरपालिका-७ फर्साइस्थित सडकमा प्र.१-०२-००३ त ३३११ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सवार दुहवी नगरपालिका-७ बस्ने ६० वर्षीया देउ कुमारी खाँ को मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
जाजरकोटको कुसे गाउँपालिका-५ दम्दलास्थित सडकमा दम्दलाबाट पांचकाटियातर्फ आउँदै गरेको रा.१ त ४४७१ नम्बरको ट्याक्टरको ठक्करबाट भेरी नगरपालिका-२ तिमिले बस्ने लक्ष्मण सिहको छोरा १५ वर्षीय सन्तोष सिहको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment