तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिशलाई

डिसी नेपाल
८ चैत २०८१ २१:१६

भैरहवा (रूपन्देही)। लुम्बिनीमा सम्पन्न तेस्रो अन्तरराष्ट्रिय पिस म्याराथनको उपाधि अनिश थापा मगरले हात पारेका छन्। नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा सम्पन्न म्याराथनमा भारतीय सेनामा कार्यरत थापा मगर प्रथम भएका हुन्। मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर पार गरे।

थापा मगरले रु तीन लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। यसैगरी नेपाली सेनामा कार्यरत सुशिलकुमार शाही दोस्रो भए। उनले उक्त दूरी दुई घण्टा २० मिनेट २५ सेकेण्डमा पूरा गरेर रु दुई लाख ५० हजार हात पारे।

केन्याका धावक स्टेफेन कोस्गेई तेस्रो भए। उनले उक्त दूरी दुई घण्टा २० मिनेट ४७ सेकेण्डमा पूरा गरेर रु एक लाख ५० हजार पुरस्कार जिते।

यसैगरी महिला सहभागीलाई आधा दूरीको म्याराथन गराइएको थियो। हाफ म्याराथनमा पनि नेपाली धावकले वर्चस्व जमाए। यसमा २१ किमी हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन्। उनले उक्त दूरी एक घण्टा २० मिनेट पाँच सकेण्डमा पूरा गर्दै रु एक लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्। यस्तै, नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सकेण्डमा उक्त दूरी पार गरेर दोस्रो भइन्। उनले रु एक लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्। यस्तै, चीनकै चेन विइले दुई घण्टा २६ सकेण्डमा उक्त दूरी पार गरेर तेस्रो भई रु ८० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्।

म्याराथनमा पुरुषतर्फ १०औँ स्थानसम्म आउने र महिलातर्फ छैठौँ स्थानतर्फ आउनेलाई पुरस्कार दिइएको थियो।

म्याराथनअन्र्तगत पाँच किलोमिटरको खुल्ला दौड र पाँच किलोमिटरकै विद्यालयका छात्रछात्राको दौडसमेत आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा ४३० भन्दा बढी सहभागी भएका थिए।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लुम्बिनीमा म्याराथनको आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *