आईपीएलः बैंगलुरुको विजयी सुरुवात

काठमाडौं। आज देखि सुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु(आरसीबी)ले कोलकत्ता नाइट राइडर्स (केकेआर) पराजित गरेको छ। कोलकत्ताको इडेन गार्डेनमा भएको खेलमा आरसीबीले केकेआरविरुद्ध ७ विकेटको जित निकाल्दै आईपीएलमा विजयी सुरुवात गरेको हो।
केकेआरले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको आरसीबीले १६.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। आरसीबीका लागि ओपनर फिल साल्ट र विराट कोहलीले अर्धसतकीय पारी खेले। कोहलीले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५९ रन बनाए। यस्तै साल्टले ३१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ५६ रन बनाए। कप्तान रजत पाटीदारले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ३४ रन बनाए। उनले ५ चौका र एक छक्का प्रहार गरे।
कोलकत्ताका लागि वैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणले समान एक एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकत्ताले कप्तान अजिंख्य रहाणेको अर्धसतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो। कोलकत्ताका लागि कप्तान रहाणेले सर्वाधिक ५६ रन बनाए। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै ओपनर सुनिल नारायणले ४४ रन बनाउँदा अंगक्रिस रघुवंशीले ३० रन बनाए।
बैंगलुरुका लागि क्रुनाल पाण्ड्याले सर्वाधिक ३ विकेट लिए। यस्तै जोश हेजवुडले २ तथा याश दयाल रसिक सलाम र शुयास शर्माले समान एक एक विकेट लिए।
आईपीएलमा आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा हैदराबाद र राजस्थान तथा दोस्रो खेलमा चेन्नाई र मुम्बई भिड्नेछन्।
Facebook Comment