ओली सम्वाद चाहन्छन्, प्रचण्डलाई छैन चासो

डिसी नेपाल
९ चैत २०८१ ११:११

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्न खोजिरहेका छन्। तर, प्रचण्डको व्यस्तता र अरुचीका कारण त्यो सम्भव हुन सकिरहेको छैन।

शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफलको तयारी भए पनि उनीहरू लामो समयदेखि एक ठाउँमा जुट्न नसकेका हुन्।

हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड काठमाडौं फर्किएपछि टीआरसीको विषयमा शीर्ष नेताबीच छलफल हुने बताइएको छ।

अभियानको क्रममा चितवनमा रहेका प्रचण्ड आइतबार साँझ काठमाडौं फर्किने उनका स्वकीय सचिव गोविन्द आचार्यले बताए। तर, भेटघाटको समय भने तय भइसकेको छैन।

प्रधानमन्त्री ओलीले प्रचण्डसँग पटक-पटक सम्पर्क गरे पनि भेट्न नसकेको गुनासो गर्दै आएका छन्। प्रधानमन्त्री ओलीले गत बिहीबार संसदमा पनि प्रमुख प्रतिपक्ष दलको नेतासँग सम्पर्क हुन नसकेको बताएका थिए।

‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा ओलीले माओवादी केन्द्रका सांसद विमला सुवेदीको प्रश्नको जवाफ दिँदै यस्तो गुनासो गरेका थिए। ‘मैले पटक–पटक सम्पर्क गर्न खोजेँ। तर, स्वास्थ्य समस्याका कारण उहाँसँग प्रत्यक्ष संवाद हुन सकेको छैन। म निरन्तर प्रयासरत छु,’ उनले भनेका थिए।

प्रधानमन्त्रीले यस्तो जवाफ दिए पनि प्रचण्ड स्वस्थ छन्। उनी हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी कार्यक्रमका लागि मधेशमा छन्। यसले स्वास्थ्यलाई कारण देखाइ प्रचण्डले प्रधानमन्त्रीसँग भेट्न अरुची देखाएको प्रस्ट हुन्छ।

प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने बताएका छन्। ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथासक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ। यसमा अहिले पनि म प्रयासरत छु, यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु, मैले पटक–पटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा समस्या भएकाले सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु,’ उनले भने।

भेटघाटका लागि छलफल गर्न ओलीले ४ चैतमा एमाले नेता अग्नि खरेललाई प्रचण्डकहाँ पठाएका थिए। प्रचण्ड र खरेलबीच भेट भए पनि ओलीसँग तत्काल भेट्ने चाहना नभएको प्रचण्डले जवाफ पठाएका थिए।

स्रोतका अनुसार पछिल्लो समय प्रधानमन्त्री ओलीले सत्ता सहकार्यका लागि प्रचण्डलाई भेट्न खोजेको बताइएको छ। तर, प्रचण्डले २०८४ सम्म सरकारमा नजाने प्रष्ट पारिसकेका छन्।

शुक्रबार मात्रै वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको आरोप लगाउँदै आफू २०८४ सम्म जनताकै साथमा रहने बताएका हुन्।

प्रचण्डले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताएका थिए। ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ। उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,’ उनले भने।

प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप लगाए। ‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो पाएको छैन। लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरूलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनुभएको छ’ उनले भने, ‘उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने भएको छ।’

प्रचण्डले सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीलाई लागू नहुने दाबी गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *