साहित्यकार एवं डोटेली भाषी लेखक भण्डारीसहित पाँच जना सम्मानित

धनगढी । साहित्यकार एवं डोटेली भाषी लेखक सुभाष सङ्कल्प भण्डारीलाई ‘हेम स्मृति आमसञ्चार पुरस्कार-२०८१’ प्रदान गरिएको छ।
डोटेली भाषालाई जोगाउन र फैलाउन सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा लेख/रचना प्रकाशित गर्दै पुर्याएको योगदानका लागि सुदूरपश्चिम बहुउद्देश्यीय मञ्चले ११ हजार एक सय ११ राशिको उक्त पुरस्कार प्रदान गरेको हो।
डोटीको गडसेरा शैलकोटिला घर भइ हाल धनगढी उपमहानगरपालिका-५, तारानगर बस्दै आएका भण्डारी शिक्षकसमेत हुन्। उनले लामो समयदेखि डोटेली भाषामा कलम चलाउँदै आएका छन्। खासगरी डोटेली लघु संवाद र पत्रमार्फत डोटेली भासाका लोप भैरहेका शब्द प्रयोगमा ल्याउन उनी लागि परेका छन्।
यस्तै समाजसेवाका क्षेत्रमा योगदान पुर्याएको भन्दै डण्डीराज जोशीद्वारा स्थापित ११ हजार एक सय ११ राशिको ‘डण्डीराज भागरथीलाई समाज सेवा पुरस्कार २०८१’ दृष्टि फाउन्डेसनकी संस्थापक तथा सञ्चालक समाजसेवी कल्पना भट्टलाई अर्पण गरिएको छ। साथै समाजसेवाकै क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगाए वाफत धनगढीको मोहनपुर निवासी समाजसेवी दिर्घराज भट्ट लाई ‘डण्डीराज भागरथी आदर्श सम्मान’ अर्पण गरिएको छ।
यस्तै ११ हजार एक सय ११ राशिको ‘परिमल स्नेही राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१’ देउडा गायक स्वर्गीय हरिशचन्द्र कडायतलाई (मरणोपरान्त) प्रदान गरिएको सचिव डिल्लीराज जोशीले बताए।
यस्तै साहित्य क्षेत्रमा योगदान पुर्याए वापत सुदूरपश्चिमाञ्चल साहित्य समाजका संस्थापक अध्यक्ष तथा कैलाली जनपुस्तकालयका पूर्वउपाध्यक्ष यज्ञराज यात्रीलाई पनि सम्मानित गरिएको छ।
कैलालीको गोदावरी नगरपालिका-३, मालाखेतीमा अवस्थित सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय मञ्चको २१औं वार्षिक साधारण सभा समारोहमा उक्त पुरस्कार र सम्मान प्रदान गरिएको हो।
लाल बहादुर खड्काको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए।
कार्यक्रममा गोदावरी नगरपालिका नगरपालिकाका प्रवक्ता तथा वार्ड नम्बर १ का अध्यक्ष गोपालदत्त भट्ट, प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, बरिष्ठ साहित्यकार पद्मराज जोशी ‘प्रभात’, बरिष्ठ कवि निर्मलकुमार भण्डारी र साहित्यकार टीआर पाठकले आ-आफ्ना धारणा राखेका थिए।
यस्तै, संस्थाको २१औं साधारण सभाबाट निवर्तमान अध्यक्ष लाल बहादुर खड्काकै अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरिएको छ। मञ्चको उपाध्यक्षमा देवराज भट्ट, सचिवमा डिल्लीराज जोशी, कोषाध्यक्षमा हरिशंकर जोशी, सहसचिवमा लेखराज जोशी चयन भएका छन्। सदस्यमा गणेश बहादुर कडायत, सुरेन्द्र संगम, कमला भण्डारी भाट र जानकी कडायत चयन भएका छन्।
Facebook Comment