महायज्ञका नाममा मल्लिकको घर भत्काइएको घटनाको छानबिन गर्न माग

डिसी नेपाल
९ चैत २०८१ १५:३०

काठमाडौं । राष्ट्रियसभा सदस्यले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

आइतबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरूले उच्चस्तरीय समिति गठन गरेर उक्त घटनाको छानबिन गरि दोषीलाई कडा कारवाही गर्न माग गरेका हुन्।

सांसद घनश्याम रिजालले उक्त घटनाले झन्डै ६० लाख दलित समुदायको अपमान भएको भन्दै छानविन गरि दोषीलाई कारबाही गर्न माग गरे। उनले गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गर्न नसकेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै सांसद विष्णुदेवी पुडासैनीले संविधानमा उल्लेख हक अधिकारविपरित महायज्ञको नाममा दलितको घरमा डोजर लगाउनु आपाराधिक काम भएको बताए। उनले सो घटनामा संलग्नलाई कारबाही गर्न माग गरे।

त्यस्तै सांसद विष्णुबहादुर विश्वकर्माले उक्त घटनामा पालिका अध्यक्षलाई तत्काल पदबाट हटाएर बजरङ्गी बाबालाई पक्राउ गर्न माग गरे।

अन्य सांसदहरूले पनि दलित समुदायमाथि ज्यादती गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *