पीएम कपः सुदूरपश्चिम, आर्मी र एपिएफ विजयी

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ।
दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको हो। २४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटियो।
कोशी प्रदेशका लागि शकिब हकले सर्वाधिक ६२ रन जोडे। त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २४२ रन बनाएको थियो। सुदूरपश्चिमका किरण ठगुन्नाले ११५ रन बनाएका थिए। कोशी विरुद्धको जीतमा शतक प्रहार गरेका ठगुन्ना प्लेयर अफ द म्याच भए।
त्यस्तै प्रतियोगिता अन्तर्गत रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १ सय ३१ रनले पराजित गर्यो।
जितको लागि २ सय ४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रनमा समेटियो। लुम्बिनीका लागि देव खनालले सर्वाधिक ३७ रन बनाए। त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ४९ ओभर २ बलमा सम्पुर्ण विकेट गुमाउँदै २ सय ४३ रन बनाएको थियो। आर्मीका लागि बसिर अहमदले सर्वाधिक ८६ रन बनाए।
त्यस्तै प्रतियोगिता अन्तर्गत रुपन्देहीमा भएको खेलमा विभागीय टोली एपिएफले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गर्यो। २५९ रनको लक्ष्य पछ्याएको गण्डकीले पुरै ५० ओभर खेल्दा आठ विकेट गुमाएर २ सय २७ रनमात्र बनाउन सक्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको एपिएफले ४९ दशमलव २ ओभरमा सवै विकेट गुमाएर २५८ रन बनाएको थियो। आइतबारको खेलसंगै आर्मी र एपिएफले फाइनलको सम्भावना कायमै राखेको छ भने लुम्बिनी र गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।
Facebook Comment