नेपालमा ६४ शिवलिंग किन ?

हरिप्रसाद सोडारी
१२ चैत २०८१ ७:३९

नेपालको कोशी र गण्डकी नदीबिचमा रहेका ६४ शिवलिंगको सम्बन्ध सतीदेवीको अंगपतनसँग जोडिएको छ। एकपटक सतीदेवीका बुबा दक्षप्रजापतिले आयोजना गरेको यज्ञमा महादेव र सतीदेवीबाहेकका सबै देवीदेवता र आफन्तहरूलाई निमन्त्रणा दिए।

“भूलवश नबोलाइएको हुन सक्ने” भन्दै महादेवसँग सतीले बुबाको यज्ञमा सहभागी बन्न हठ गर्नुभयो। नबोलाएको, मर्यादा नभएको ठाउँमा जान हुँदैन भन्दै महादेवले रोक्न खोज्दा पनि सतीदेवी जानुभयो।

माइत पुगेपछि महादेवलाई बोलाउन बुबा दक्षप्रजापतिलाई अनेकौँ अनुरोध गर्दा सफल नभएपछि यज्ञकुण्डमा हाम्फालेर देहत्याग गर्नुभयो। ब्रम्हा, विष्णुलगायतका देवीदेवताबाट संरक्षित दक्षप्रजापतिको घमण्ड एवं द्वेषभावले यो घटना घटेको थियो।

वीरभद्र तथा कालीलाई उत्पन्न गरी महादेवले दक्षप्रजापतिको घमण्डको उन्माद र मपाइँत्व तोड्न निर्देशन दिनुभयो। सोही आज्ञाअनुसार उनीहरूले देवीदेवतालाई पराजित गरी दक्षको शिर काटी यज्ञमा अर्पण गरी सम्पूर्ण आमन्त्रितहरूलाई भगाई दिए।

दक्षमाथि आवेग पोखे र केही शान्ति मिले पनि सतीदेवीको वियोग थाम्न महादेवलाई गाह्रो भयो। सांसारिक प्राणीले जस्तै गरी भोलेबाबाले दक्षप्रजापतिको यज्ञकुण्डबाट सतीदेवीको शव निकाली बोकेर हिँड्नुभयो। शंकरको स्पर्शले सतीदेवीको शरीर गलेन। यस दशाबाट मुक्त गराउन देवताहरू मिलेर सतीदेवीको शरीर कुहाउने प्रयास गरे। सतीदेवको अंगपतन जहाँ भयो त्यहाँ शिव र शक्तिको स्वरूप उत्पन्न भई तीर्थस्थलमा रूपान्तरण भए।

काठमाडौँ वरपरका ६४ स्थान जहाँ सतीको अंगपतन भए त्यहाँ ऋषिमुनिहरूले योगिनीसहित शिवलिंग स्थापना गरेकाले यसको नाम चौसठ्ठी शिवलिंग हुन पुग्यो। नेपालका दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट जिल्लामा ६४ शिवलिंग रहेका छन्। यी स्थल एवं शिवलिंगहरू साधना, दर्शन, पूजन आदिका दृष्टिले महत्वपूर्ण हुन पुगे।

६४ अंकको सम्बन्ध साधना, कला, आसन, योग, तन्त्र, महादेव आदिसँग जोडिएको छ। श्रीकृष्णले ६४ दिनमा सान्दिपिनि गुरुसँग ६४ कला सिके। ६४ योगिनी, ६४ आसनका चर्चा तन्त्रग्रन्थहरूमा पाइन्छन्।

नेपालको सिमाना जुन कालखण्डमा पूर्वमा सिन्धुपाल्चोक र दोलखा, दक्षिणमा सिन्धुली र मकवानपुर, पश्चिममा धादिङ, उत्तरमा नुवाकोटसम्म थियो त्यही समयमा ६४ शिवलिंग स्थापना गरिएको हुनुपर्छ।

झट्ट हेर्दा आराध्यदेव पशुपतिलाई केन्द्रमा राखी त्यसका वरिपरि तन्त्र, मुद्रा, आसन, यन्त्र र वास्तुलाई ध्यान दिई चौसठ्ठी शिवलिंगको स्थापना गरियो। पूर्वमा कोशी र हलेशी, दक्षिणमा नटारम्भेश्वर, पश्चिममा असितेश्वर र त्रिशूलीनदी, उत्तरमा गोसाइँकुण्डजस्ता शिवधामका बिचमा ६४ शिवलिंग स्थापित गरी नेपाललाई शिवकवचद्वारा सुरक्षित गरियो। त्रेतायुगसम्म शिवधनुष जनकपुरमा थियो।

भष्मासुरले लखेट्दा, कालकुट विष पिउँदा, पाण्डवले केदारमा भैँसीको रूपमा देखा परेपछि महादेव यही भूमिमा आउनुभयो। हिमवत्खण्डअनुसार विरूपाक्षलाई नेमुनिले पहिलोपटक ६४ शिवलिंगको दर्शन र पूजा गराई मातृगमनको पाप र त्यसबाट उत्पन्न रोगबाट मुक्ति दिलाए।

महाभारतका अनुसार अर्जुनले ६४ शिवलिंगमध्येको किरातेश्वर दर्शन झण्डै ५ हजार वर्षपहिले गरे। तात्कालिक राजाले शैव तन्त्र, शिव र शक्तिको आशीर्वादद्वारा सीमाको सुरक्षा, जनताको कल्याण, सभ्यता र शिक्षाको विकास गरे।

राज्यमा दैवी, प्राकृतिक र मानवीय विपत्ति नआओस्, राष्ट्रमा सुख-शान्ति रहोस्, जनतामा शत्रु र शैतानको प्रकोप नहोस् भनी ६४ शिवलिंग स्थापना गरे। लिच्छविकालमा शिवचर्चा, शक्तिको पूजा, शिवलिंगको स्थापना अधिक छ।

धर्म, भौतिक विकास, राजनीतिक स्थायित्व, शैक्षिक जागरणले उच्च लिच्छविकाललाई वैभावशाली बनाएकोले स्वर्णीमयुग भनिन्थ्यो। यही समयमा कला, साधनाले गति लियो र ६४ शिवलिंगको स्थापना हुन पुग्यो। यी शिवलिंगको आशीर्वादले जनतामा श्रद्धा बढायो, नेपाल अनुष्ठानस्थल बन्यो, दर्शनार्थीको भीड वृद्धि भयो।

नेपालका अन्य स्थानमा पनि सतीदेवीका अंगपतन भएका छन् तिनको खोज हुन बाँकी छ। दक्षप्रजापति हिमाली तथा पहाडी क्षेत्रका राजा भएकाले यहीँ यज्ञ गरेका थिए। महादेवको बसोबास हिमालमा रहेकाले आर्यावर्तका हिमाली तथा पहाडी क्षेत्रमा सतीदेवीको धेरै अंगपतन भएको हुनुपर्छ। नेपालको वागेश्वरमा जीभ्रो, गुह्येश्वरीमा गुह्यस्थान, दन्तकालीमा दाँत पतन भयो।

लिच्छविकालका शासकले आफ्नो राज्यमा ६४ शिवलिंगको स्थापना गरी तीर्थाटनको विकास तथा स्वस्थानीव्रतकथालाई लिपिबद्ध गराए। राज्यको उदासिनताले गर्दा अन्य स्थानका सामग्रीहरू हराए, इतिहास बिलाए, पुरातात्विक सामग्री गुमनाम भए। राजा हरिदत्त वर्माले उपत्यकाको चार दिशामा चार नारायणको स्थापना गरेका थिए।

चार नारायण, चार गणेश, चार बराहद्वारा चारै दिशाबाट काठमाडौँउपत्यकाको सुरक्षित गरेझैँ लिच्छविकालका शासकद्वारा शिवलिंगलाई आफ्नो राज्यको सुरक्षा कवच बनाए। सबैलाई आफ्नै भूमि, भाषा, कला, देवस्थल, तीर्थस्थल प्रिय लाग्छन्। नेमुनिले ६४ शिवलिंगको दर्शन विरूपाक्षलाई गराएर जनतालाई तीर्थाटनको मात्र होइन आन्तरिक पर्यटनको पाठ पढाए।

स्वस्थानीव्रतकथाले काठमाडौँउपत्यका र आसपासका नदी, पर्वतश्रृङ्खला, तीर्थस्थलको अधिक बयान गरेको छ। नेपालका पहाडीक्षेत्रमा देवीमन्दिर, देउराली र शिवालयहरू प्रशस्त पाइन्छन्।

तिनीहरूको इतिहास, शक्ति र सम्बन्ध महादेव, पार्वती(दुर्गा वा काली) सँग जोडिएको छ। शिवलिंग नभएका डाँडा, देवी नबसेका पहाड, गणेश र भैरव नरहेका बस्ती, नाग नभएका जलस्रोत, ऋषि नबसेका वृक्ष, सिद्ध नहिँडेका मार्ग नेपालमा छैनन्।

भारतको आसामस्थित कामाख्या देवीमा सती देवीको प्रजनन् अङ्क र नेपालको गुह्येश्वरी गुह्यस्थान पतन भएको पुराणहरू बताउँछन्। पशुपतिलाई अग्निकारक (आगो) र गुह्येश्वरीलाई जलकारक रूपमा लिइन्छ।

यी दुईसँग ६४ शिवलिंग एवं देवीपीठको अन्तरंग सम्बन्ध छ। पशुपति नै ६४ शिवलिंग, ६४ योगिनी, कुण्ड आदिका मियो हुन्, देवस्थलका मुटु हुन्, सिद्धहरूको आश्रयस्थल हुन्, तीर्थहरूको मेरुदण्ड हुन्। पाशुपतक्षेत्र वरपर ६४ शिवलिंगसहित अनेकौँ शक्तिपीठको स्थापना गरियो जसको छानामा ६४ योगिनीलाई राख्न थालियो।

नेपालमा उपलब्ध हस्तलिखित ग्रन्थहरूमा देवीदेवतालाई मान्त्रिक, तान्त्रिक, मिश्रित र स्थानीयपद्धतिबाट अनुष्ठान गर्ने विधिहरू पाइन्छन्। नेपालका कुण्ड, पोखरी, नदी, गुफा, खोँच, देउराली आदिको ऊर्जामा अद्भूत मूर्ति, अनुपम देवस्थल र मोक्ष मिल्ने तीर्थस्थलले जन्म लिए, जहाँ साधकहरू गुप्त रूपमा साधना गर्छन्, ध्यानीहरू ब्रम्हचिन्तन गर्छन्, देवीदेवताहरू अनेक रूप लिएर भ्रमण गर्छन्, देवदूतहरूले परिक्रमा लगाउँछन्। केही व्यक्तिसँग अप्रकाशित पुराना ग्रन्थहरू छन्, केहीसँग कुलपरम्पराअनुसार पुज्दै आएका मूर्ति छन्, यसलाई प्रकाश पार्न सके ६४ शिवलिंगको महत्व अझै झल्कने थियो।

६४ शिवलिंग रहेको भूमिमा साधना छिट्टै सिद्धि हुन्छ, आध्यात्मिक शक्ति प्रवाह सजिलै अनुभव गर्न सकिन्छ। यही क्षेत्रमा रहेका मूर्तिकलासँग अनेक आख्यान जोडिएका छन्। एक मूर्तिकारले काभ्रेजिल्लास्थित पलाञ्चोकभगवतीको मूर्ति बनाए।

अर्को त्यस्तै मूर्ति बनाउलान् भन्ने डरले त्यहाँका राजाले मूर्तिकारको दाहिने हात काटिदिए। ती मूर्तिकारले देब्रेहातबाट काठमाडौँस्थित नक्सालभगवतीको मूर्ति बनाए। अर्को त्यस्तै मूर्ति नबनाओस् भनी यहाँका राजाले मूर्तिकारको देब्रेहात काटिदिए।

दुबै हात गुमाएका मूर्तिकारले खुट्टाद्वारा शोभाभगवतीको मूर्ति बनाए। यस कथनले शासकको मनोवृत्ति एवं नेपाली मूर्तिकारको क्षमता प्रष्ट हुन्छ। कतिपय मूर्तिमा देवीदेवता विलीन भएका, सपनामा साधकलाई सूचना दिएको, उत्खनन् गर्दा अलौकिक मूर्ति भेटिएको, कतिलाई ऋषिमुनिले स्थापना गरेको, केहीमा सतीदेवीको अंगपतन भई बनेको रहस्यमयी मूर्तिहरू यहीँ छन्। यस्ता मूर्तिले मानिसका इच्छा, साधकका साधना, भक्तको भावलाई पूरा गरिदिन्छन्।

नेपालमा रहेका ६४ शिवलिंगहरूमध्ये अधिकांशलाई ऋषिमुनिहरूले स्थापना गरेको तथ्य मानसखण्ड, हिमवत्खण्ड, मल्लकालका हस्तलिखित ग्रन्थहरूले बताउँछन्। नेपालका अधिकांश पुराना मूर्तिमा कतै न कतै चोट लागेको पाइन्छन्। यस्तो हुनको कारणबारे सबैमा एउटै भनाई भेटिन्छ।

“कुनै किसानले जोत्दै गर्दा हलोको फाली ढुंगामा ठोकिँदा रगत बहन थाल्यो। उत्खनन् गर्दा देवीदेवताको मूर्ति वा शिवलिंग भेटियो। क्षमापूजापछि यसलाई नियमितरूपमा पूजा गर्न थालियो।” गोरखामनकामनाको मूर्तिमा यस्तै कथन जोडिएको छ। हाम्रो भूगोलले अद्वितीय क्षमताका मनुष्यमात्र जन्माएन दुनियाँको रहस्य बताउने, प्रकृतिको सूचना दिने शिवलिंग यहीँ छन्।

नेपालले अद्भूत मूर्ति, मन्दिर, चित्र बनाउने साधक जन्मायो। आधुनिककालमा यस्ता ऊर्जावान् मूर्ति बनाउनेहरूको नेपालमा मात्र होइन आर्यावर्तमा नै खडेरी परेको छ। हाम्रा तीर्थस्थल, देउराली, जल, देवस्थलबाट दैवी शक्ति प्रवाह हुनेहुँदा तिथि र पर्वमा दर्शनार्थ घुँइचो लाग्छ।

शिवलिंगले जमिनमुनि, जमिनसतह र आकाशीय ऊर्जाबीच समन्वय गर्दछ। जमिनमुनिको खण्डले पूर्वजन्म, जलहरीले यस जन्म र महादेवभागले मृत्युपछिको ज्ञान गराउँछ। बनोटअनुसार शिवलिंगले हामीलाई दिने शक्ति एवं सूचना फरक फरक छन्।

यसलाई ध्यानमा राखेर ६४ कला सिक्न, ६४ योगिनीको दर्शन गराउन, ६४ भैरवको शक्ति लिन, ६४ शिवलिंगको आशीर्वाद पाउन तात्कालिक राजाले विद्वान् र साधकसँग सल्लाहअनुसार ६४ शिवलिंगको स्थापना गरे। जहाँबाट भिन्न शक्तिको सञ्चार हुन्छ, अनेकौँ तरङ्गको प्रवाह भइरहन्छ।

चाँगुनारायण क्षेत्र हल्लिएर जनता आजित भएपछि किलेश्वरशिवलिंगको स्थापना गरियो। महादेवले ताण्डव नृत्य गरेका स्थानमा नटारम्भेश्वरको स्थापना गरियो। हृदयमा आस्था, इतिहासको गौरव, धर्मप्रति गर्व, संस्कृतिप्रति सम्मान, तन्त्रका ज्ञान, वास्तुको अध्ययन एवं इतिहासप्रति चासो भएकाहरूको सल्लाहअनुसार ६४ शिवलिंगको स्थापना हुनपुग्यो।

महाशिवरात्रि, सोमवार, श्रावण महिना, हरेक चतुर्दशी तिथि पारेर ६४ शिवलिंगको पूजा, परिक्रमा गर्न सके अनेक लाभ मिल्छ। सन्ततिको कल्याण, राष्ट्रको वैभव, तन्त्रको संरक्षण होस् भनी तात्कालिक शासकले ६४ योगिनी र ६४ शिवलिंगको स्थापना गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *