इजरायलको आक्रमणमा हमासका राजनैतिक प्रमुखको मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल-बर्दाविल र उनकी श्रीमतीको मृत्यु भएको छ। हमासले आइतबार बिहान यसको पुष्टि गरेको छ। यो आक्रमण दक्षिणी गाजाको खान युनिस शहरमा भएको थियो।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणमा ४१ जनाको मृत्यु भएको र ६१ जना घाइते भएको पुष्टि भएको छ। योसँगै १७ महिनादेखि जारी युद्धमा ज्यान गुमाउने प्यालेस्टिनीहरूको संख्या ५० हजारभन्दा बढी पुगेको छ। योसँगै घाइतेको संख्या १,१३,२७४ पुगेको छ।
इजरायलले शनिबार राति लेबनानका धेरै ठाउँमा हवाई आक्रमण गरेको छ। यी आक्रमणहरूमा ७ जनाको मृत्यु भयो। लेबनानबाट प्रहार गरिएको रकेटको जवाफमा इजरायलले यी आक्रमणहरू गरेको हो। विगत ४ महिनादेखि चलिरहेको हिजबुल्लाहसँगको युद्धविरामपछि इजरायलको यो पहिलो ठूलो आक्रमण थियो।
हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा रकेट प्रहार नगरेको र युद्धविरामको पालना गरिरहेको बताएको छ। इजरायली सेना (आईडीएफ) ले लेबनानी सीमा नजिकै रहेको मेटुला शहरबाट छ वटा रकेट प्रहार गरिएको बताएको छ। यी मध्ये ३ वटा इजरायलमा प्रवेश गरे र हावामै नष्ट भए।
आइडीएफले आक्रमणकारीहरूको पहिचान नभएको बताएको छ तर हिजबुल्लाह कमाण्ड सेन्टर र दर्जनौं रकेट लन्चरहरूलाई लक्षित गरेको छ।
Facebook Comment