जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन : क्यान्सर पहिचान र उपचारमा समान पहुँच पुर्याउन जोड

जनकपुर। जनकपुरमा सम्पन्न सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनले क्यान्सर उपचारमा समान पहुँच हुनुपर्नेमा जोड दिइएको छ। शुक्रबार र शनिबार दुई दिनसम्म चलेको सम्मेलनमा अमेरिका, चिन, नेपाल र भारतका क्यान्सर रोगका विशेषज्ञ चिकित्सकहरु सहभागी थिए।
सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहका अनुसार क्यान्सरको पहिचान र उपचार पद्धति र प्रविधिको विकास तीव्र गतिमा भएपनि असमानता कायम छ। ‘हामीले सम्मेलनमा विभिन्न चिकित्सकका अनुसन्धान, अनुवभ र कार्यपत्रमाथि छलफल गर्यौं। उपचार प्रविधि र पद्धतिका विषयमा पनि कुरा गर्यौं र साथै क्यान्सर पहिचान र उपचारमा विभेद रहेकाले समानताका पक्षमा वकालत गर्ने निष्कर्ष समेत निकालेका छौं।’
जनकपुरमा नै उक्त सम्मेलन गरिरहनुको उद्देश्य पनि मधेश प्रदेशमा क्यान्सर पहिचान र उपचारको अभावलाई उजागर गर्नु रहेको बताए।
सम्मेलनको चेयर समेत रहेका नेपाल क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा कपेन्द्रशेखर अमात्यले यस्ता सम्मेलन र छलफलले आमजनमा जनचेतना फैलाउनुका साथै चिकित्सा अभ्यासमा थप निखारता ल्याउने बताए।
उनले भने, ‘सम्मेलनमा क्यान्सर उपचारका विषयमा विश्वका चिकित्सकले अभ्यास गरिरहेका नवीनतम उपचार प्रविधि, पद्धति र अनुभवका छलफल भएको छ।’ विभिन्न देश र अस्पतालहरुमा रहेका उपचार गरिरहेका चिकित्सक र अध्येताले एकअर्काबाट ज्ञान आदान-प्रदान गर्न यसको आयोजना गरिएको उनले बताए।
अमेरिकाका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ डा मार्क पेग्रामले क्यान्सर रोग, त्यसको ट्रेन्ड र उपचारका विषयमा महत्वपूर्ण छलफल भइरहेको उल्लेख गरे। उनले थपे, ‘नेपालमा आयोजना हुने यस्ता सम्मेलनले यहाँको उपचार सेवा प्रभावकारी बनाउन भूमिका खेल्नेछ। साथै यहाँ उपस्थित चिकित्सकका अनुभव र अभ्यासबाट हाम्रो ज्ञानको दायरा थप फराकिलो बनाउन समेत सहयोग पुग्नेछ।‘
शुक्रबार सुरु भएको सम्मेलनको सुरुवाती प्रस्तुति हेड एन्ड नेक क्यान्सरका विषयमा रहेको थियो। जहाँ सर्जन डा प्रभात ठाकुरले ‘सर्जिकल प्रिन्सिपल अफ हेड एन्ड क्यान्सर’का विषयमा अनुसन्धान प्रस्तुत गरेका थिए। डा बजरङ्ग साहले अध्यक्षता गरेको सेसनमा अमेरिकाको माय सेन्ट जोनमा कार्यरत चिकित्सक डा दिनेश क्षेत्रीले केसमा-आधारित छलफल चलाएका थिए।
दिउसो ३ देखि ४ बजेसम्म अब्स्ट्र्याक्ट प्रिजेन्टेसन सेसन रहेको थियो। जहाँ डा रमेश श्रेष्ठले अध्यक्षता गरेका थिए भने विभिन्न अनुसन्धानकर्ताहरुले आफ्ना अनुसन्धान प्रस्तुत गरेका थिए।
‘हेमाटोलोजी मेलिग्न्यान्स (रक्तक्यान्सरको जटिल अवस्था’ विषयमा पनि वैज्ञानिक छलफल भएको थियो। जहाँ डा सजिन राजभण्डारी र अमित श्रेष्ठले संयुक्त रुपमा अध्यक्षता गरेका थिए।
डा श्रेष्ठले रिसेन्ट एडभान्स इन द म्यानेजमेन्ट अफ डीएलबीसीएलका आफ्नो प्रस्तुति राखेका थिए भने हुन्तस्मान क्यान्सर इन्सिच्युट, अमेरिकाबाट आएका डा श्रीनिवास के तन्त्रावाहीले एक्युट ल्युकेमियामा तार्गेटेड थेरापीका विषयमा आफ्नो विज्ञता र अनुभव साझा गरेका थिए।
शुक्रबारको अन्तिम सेसनका रुपमा ‘ट्युमरबोर्ड-स्टाइल डिसकसन-च्यालेन्जिङ केसेस’ रहेको थियो। जहाँ स्टेनफोर्ड हेल्थकेयर, अमेरिकाका डा मार्क पेग्रामले चेयर गरेका थिए। जहाँ डा रजनी झा, डा सारदा खड्का, डा कपेन्द्रशेखर अमात्य, डा पेग्राम र डा राजीव झाले आफ्ना केसहरु प्रस्तुत गरेका थिए। ती केसमाथि चिकित्सकीय दृष्टिकोणबाट छलफल भएको थियो।
शनिबार गाइनोक्लोजी क्यान्सरका विषयमा छलफलबाट सम्मेलन सुरु गरिएको थियो। जसको सेसन चेयरका रुपमा डा जितेन्द्र परियार रहेका थिए भने अमेरिकाबाट आएका क्यान्सर रोग विशेषज्ञ डा यिङ लियुले सर्भाइकल क्यान्सर स्क्रिनिङका विषयमा प्रस्तुति राखेकी थिइन्। डा रमेश श्रेष्ठको केस-बेस्ड प्रस्तुति रहेको थियो। डा विवेक घोषसहित प्यानल डिस्कसन भएको थियो।
दोस्रो ब्रेस्ट क्यान्सरका विषयमा थियो जहाँ डा पेग्रामले सेसनको चेयर गर्नुका साथै सिस्टम थेरापीका विषयमा अपडेट गरेका थिए। डा विप्लव यादवले युवा बिरामीमा ब्रेस्ट क्यान्सर पहिचानका जोखिमबारे प्रस्तुति दिएका थिए। त्यस्तै डा सुजिता हिराचन, डा रञ्जना कर्माचार्य, डा रमिला शिल्पाकरले केस-बेस्ड प्रिजेन्टेसन गरेका थिए।
अर्को सेसन फोक्सोको क्यान्सरका विषयमा थिए। जहाँ डा अस्मिता रायमाझीले सेसन चेयर गरेकी थिइन्। डा सुदिप श्रेष्ठले ‘अपडेट्स इन द म्यानेजमेन्ट अफ एनएससीएलसी’ शिर्षकमा र डा विवेक घोषले केस-बेस्ड प्रस्तुति दिएका थिए। डा सत्यदीप भट्टाचार्य चेयर रहो अर्को सेसनमा डा पुन्यराम खर्बुजा र डा अस्मिता रायमाझीको प्रस्तुति रहेको थियो।
डा सञ्जय कपुर चेयर रहेको अर्को सेसनमा ‘सर्पोर्टिम केयर’ शिर्षकमा छलफल भएको थियो भने डा विवेक घोष चेयर रहेको सेसनमा डा राजी शर्मा, डा विवेक घोष र डा उमेश नेपालले विभिन्न क्यान्सरका विषयमा छलफल गरेका थिए।
क्यान्सर सम्मेलनको आयोजक विनयतारा फाउन्डेसन हो। जुन अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था हो। फाउन्डेसनले स्वास्थ्य सेवामा न्युन पहुँच भएको दक्षिण एशियाका विभिन्न क्षेत्रमा काम गरिरहेको छ। बोनम्यारो प्रत्यारोपण केन्द्र, होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुरामा यसले सहयोग गरिरहेको छ।
मधेश प्रदेशको जनकपुरमा २०० बेडको दक्षिण एशियाकै नमुना क्यान्सर उपचार केन्द्र बनाउने लक्ष्य लिएको फाउन्डेसनले जनकपुरमा २५ बेडको अस्पताल सञ्चालन गरिरहेको छ । फाउन्डेसनले अमेरिकामा क्यान्सर सम्मेलन, कन्टिन्यु मेडिकल एजुकेसन (सीएमई) गर्नुका साथै अनलाइन क्यान्सर सीएमई एप अन्कोब्लास्ट समेत सार्वजनिक गरेको छ।
Facebook Comment