गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धी भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताएका छन्।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैं मालिक हुने व्यवस्था भएको बताए। उनले भने, ‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महशुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो।’
उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताए।
राष्ट्रपति पौडेलले भने, ‘इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन् । संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौ । यो हजारौंको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी हो।’
राष्ट्रपति पौडेलले क्षेत्रमा सभामुख हुँदा पैदल यात्रा गर्दे यस ठाँउमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गरे। उनले भावविह्वल हुँदै नजिकै रहेको टिम्बुरबोटेको ओडारमा रूझ्दै र भिज्दै पुगेको बताए।
टिम्बुबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अबरूद्ध भएको थियो। टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा पंचायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्याको गरेको स्थान हो।
राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा बृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँंमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताए। उनले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न म सम्बद्ध सबैमा अपिल पनि गरे।
राष्ट्रपति पौडेलले संघीयता कार्यान्वयनका लागि तीन तहको सरकार मुलुकमा क्रियाशील भएको भन्दै जनताको ठूलो संघर्ष, त्याग र बलिदानले हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याएको बताए। उनले भने, ‘यसलाई सार्थक बनाउन संविधानको मर्म र भावनाअनुसार जनताको आवश्यकतामा जिम्मेवार ढंगले काम गर्न स्थानीय सरकार अझ बढि क्रियाशील हुनुपर्छ भन्ने म ठान्दछु।’
उनले कृषि, जलस्रोत पर्यटन, पूर्वाधार र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार भएको बताउदै यही भूगोलको सोलु र दूधकोशी नदीक्षेत्रमा निर्माणधीन साना ठूला जलविद्युत आयोजनाबाट मुलुकको आर्थिक विकासमा योगदान पुग्नेमा आफू विश्वस्त भएको बताए। उनले भने, ‘हिमाल आरोहण, पदयात्रासहित साहसिक गतिविधिमार्फत सगरमाथा क्षेत्रले मुलुकको पर्यटनको विकास र विस्तार एवम् अन्ततः राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान महत्वपूर्ण छ।’
राष्ट्रपति पौडेलले राजधानी र मधेशबाट सर्वोच्च शिखर सगरमाथाको काख अब धेरै टाढा नभएको देख्दा आफू अत्यन्तै खुशी भएको भन्दै अपर सगरमाथा मार्ग निर्माणका लागि भएका पहल र आफूले गरेको संघषको स्मरण गरे। राष्ट्रपति पौडेलले सगरमाथाको काँख मात्र नभई डोल्पाको दुनै देखि पूर्वी पहाडमा समेत सडक पुगेको बताए।
उनले भने, ‘नुन, तेल लिन भारी बोकेर कैयो दिन हिड्नुपर्ने हिजोको परिस्थितिबाट टाउकोको भारी बिसाउने अवस्था बहुदलीय लोकतन्त्रले ल्याएको हो। लोकतन्त्रले यो परिवर्तनलाई हामीले भुल्न हुँदैन।’
Facebook Comment