बंगलादेशमा पछिल्लो ७ महिनामा १४० भन्दा बढी कपडा कारखाना बन्द

काठमाडौं । बंगलादेशको गार्मेन्ट क्षेत्र हाल गम्भीर संकटबाट गुज्रिरहेको छ। पूर्व प्रधानमन्त्री शेख हसिनाको कू पछिको सात महिनामा १४० भन्दा बढी गार्मेन्ट कारखानाहरू बन्द भएका छन्।
यसबाट एक लाखभन्दा बढी कामदार बेरोजगार भएका छन्। गाजीपुर, सावर, नारायणगञ्ज र नरसिन्दीमा मात्र ५० भन्दा बढी कारखाना पूर्ण रूपमा बन्द भएका छन् भने लगभग ४० कारखाना अस्थायी रूपमा बन्द छन्।
अर्कोतर्फ, धेरै गार्मेन्ट कम्पनीहरूमा कामदारहरूले २ महिनादेखि १४ महिनासम्मको तलब पाउन बाँकी छ जसका कारण उनीहरू सडकमा विरोध गरिरहेका छन्। ईद नजिकिँदै जाँदा अवस्था झन् भयावह बन्दै गइरहेको छ। ईद पछि थप कारखानाहरू बन्द हुने अपेक्षा गरिएको छ। यसको बाबजुद पनि सरकार र कपडा व्यवसायीहरूबाट कुनै कारबाही भइरहेको छैन।
बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनका स्रोतहरूका अनुसार २० प्रतिशत अर्डरहरू देश बाहिर सरेका छन्। अब यी अर्डरहरू भारत, भियतनाम, श्रीलंका, इन्डोनेसिया र पाकिस्तानले प्राप्त गरिरहेका छन्।
कपडा कारखाना अचानक बन्द हुनुका दुई मुख्य कारणहरू आर्थिक मन्दी र राजनीतिक अस्थिरता हुन्। यद्यपि, यस संकटमा एउटा रोचक तथ्य के छ भने बन्द भइरहेका अधिकांश कारखानाहरू पूर्व प्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगसँग सम्बन्धित नेताहरूका हुन्। यसमा हसिनाका विदेशी लगानी सल्लाहकार सलमान एफ. रहमानको बेक्सिमको कम्पनी पनि यसमा संलग्न छ।
पछिल्ला सात महिनामा बेक्सिमकोका १५ वटा कारखाना पूर्ण रूपमा बन्द भएका छन्। यसबाहेक, अवामी लिगका मन्त्री गाजी दस्तगीरका धेरै कारखानाहरू पनि बन्द भएका छन्।
श्रमिक नेता मोहम्मद मिन्टु भन्छन्, ‘बेक्सिमको गार्मेन्ट क्षेत्रको एक विशाल कम्पनी थियो। यहाँ कामदारहरूले समयमै ज्याला र बोनस पाउँथे। यो बन्द हुँदा समस्या भइरहेको छ।’ स्रोतका अनुसार धेरै ठूला कपडा व्यापारीहरू देश छोडेर गएका छन्, जसका कारण कारखाना बन्द हुने समस्या झनै गम्भीर बनेको छ।
Facebook Comment