लुम्बिनलाई पराजित गर्दै एपीएफ ७ विकेटले विजयी

काठमाडौं । नेपाल एपीएफ क्लबले सोमबार लुम्बिनी प्रदेशविरुद्ध ७ विकेटको जित हासिल गरेको छ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित विभागीय टोली एपीएफले ७ विकेटको जीत हासिल गरेको हो।
भैरहवाको एक्ट्राटेक ओभलमा लुम्बिनीले प्रस्तुत गरेको २२४ रनको लक्ष्य एपिएफले ४१.५ ओभरमा तीन विकेट गुमाउँदै सो लक्ष्य पूरा गरेको हो।
एपिएफका लागि पूर्ण बिकले ११२ बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ७२ रनको योगदान गरेका थिए भने रोहितले ९४ बलमा ७ चौकासहित ७१, सन्दीप जोराले अविजित २१, लोकेश बमले २१ र आसिफ शेखले १८ रन बनाएर एपीएफलाइ फराकिलो जीत हासिल गराएका हुन्।
लुम्बिनीका लागि तीनै विकेट राजेन्द्र बमले लिएका थिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २२३ रनको योगफल तयार पारेको थियो।
जितसँगै आठ खेलमा १२ अंक जोडेको एपिएफ तेस्रो स्थानमा यथावत छ भने पराजित लुम्बिनी ९ खेलबाट ८ अंकका साथ छेटौं स्थानमा कायम छ।
Facebook Comment