देशभरका कृषिउपजको स्वाद चखाउन अब ‘भोजनलिपि–स्वाद’

काठमाडौं । नेपाली खाना प्रवर्द्धन अभियानले देशका विभिन्न क्षेत्रमा उत्पादित ताजा कृषिउपजको स्वाद चाख्न पाइने गरी व्यवस्थापन गर्न लागेको छ।
अभियानले किसान र होटल व्यवसायीसँगको समन्वयमा सो अवसर दिन लागेको हो। किसानसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूका उत्पादनलाई देशका प्रमुख सहरमा स्वादिष्ट परिकार बनाएर पस्कने अभियानको तयारी रहेको अभियानका संयोजक अमृत सापकोटाले बताए। उनले खाद्यान्न, फलफूल, दूध, माछा–मासु जस्ता किसानका उत्पादनको बजारीकरणमा अभियानले समन्वय गर्ने र होटल–रेष्टुराँ वा घरमै लगेर खान पाउने गरी संयोजन गर्न लागिएको बताए।
यसै सन्दर्भमा आज काठमाडौंमा आयोजित ‘भोजनलिपि–स्वाद’ कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, कृषि, पर्यटन, सञ्चारलगायत क्षेत्रका अगुवाले खानाको स्वाद लिएर अभियान सुरु गरेका छन्। विभिन्न परिकारको स्वाद लिएपछि मन्त्री अधिकारीले नेपाली उत्पादनको बजारीकरणमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
‘नेपाली रैथाने खानाको स्वाद अत्यन्तै राम्रो छ। काठमाडौंमा मात्रै होइन देशका ठूला सहरसम्म यो अभियान फैलाउने कुरा सुन्दा खुसी लागेको छ। नेपाल सरकार, कृषि मन्त्रालयको तर्फबाट यसको स्थायित्व र प्रवर्द्धनका लागि पूर्ण साथ र सहयोग रहन्छ’, उनले भने।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरीलगायतले राजधानीमै रहेर देशभरका कृषिउपज स्वादिष्ट परिकारका रूपमा खान पाउनु निकै सराहनीय भएको बताउनुभयो।
अभियानका संयोजक सापकोटाले सुरुमा खाद्यान्न, फलफूल जस्ता मौसमी उत्पादनको बजारीकरण र विस्तारै पर्यटकीय गन्तव्य, हस्तकला तथा साना उद्यमीहरूका उत्पादनको बजारीकरणमा समन्वय गरिने जानकारी दिए। कृषि उत्पादन र बजारीकरणमा साथ दिएर किसान र माटोप्रति माया जगाउन आफू पनि अभियानमा लागेको सञ्चारकर्मी एवं कृषि–पर्यटन अभियन्ता देवीप्रसाद सापकोटाले बताउनुभयो। स्वदेशी उत्पादन बढाउने र प्रयोग गर्ने सरकारी कार्यक्रमलाई नागरिकस्तरबाट सहयोग गर्न आफू केही वर्षदेखि लागिरहेको उनको भनाइ छ।
सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले रैथाने खाना प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्न अभियानले मद्दत पुग्ने विश्वास व्यक्त गरे। खाना प्रवर्द्धन अभियानमा अन्तरराष्ट्रिय सेफ दुर्गाबहादुर खड्का र घनश्याम कँडेल जोडिनुभएको छ। नेपाली खानालाई ‘फ्यूजन’ गरी अन्तरराष्ट्रिय बजारमा पस्कने खड्का र कँडेलको तयारी छ। उनीहरूले नेपाली रैथाने खानालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गरिने बताए। ‘हाम्रो उद्देश्य भनेको नेपाली रैथाने खानालाई विश्वबजारमा चिनाउने हो’, सेफ कँडेलले भने।
मास्टर सेफ खड्काले नेपाली खानालाई विश्वबजारमा प्रवर्द्धनका लागि अनुसन्धानमा सक्रिय रहेको र विदेशीलाई यसतर्फ आकर्षण गर्न विश्वव्यापी अभियान चलाइने बताए। काठमाडौंको सोह्रखुट्टेस्थित होटल हिमालयन स्वीटमा आयोजित भोजनलिपि–स्वादमा इलाम, धनुषा, सर्लाही, चितवन, नवलपरासी–गैँडाकोट, रोल्पा, बागलुङ, जुम्लालगायत जिल्लाका ताजा कृषिउपजको परिकार तयार गरिएको थियो। रासस
Facebook Comment