मुख्यमन्त्री सिंहद्वारा जनकपुरका होटल अनुगमन

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका होटलको अनुगमन गरेका छन्। यहाँका केही होटलमा सफा, तथा स्वस्थ खाना उपलब्ध नहुने गुनासाका आधारमा मुख्यमन्त्री सिंहले आज होटल अनुगमन गरेका छन्।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीसँगै मुख्यमन्त्री सिंहले जनकपुरधामस्थित होटल जानकी भ्यू, हंसराज स्वीट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गरे।
सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताए। उनले होटल अनुगमनलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने जानकारी दिए।
अनुगमनका क्रममा अधिकांश होटललाई मापदण्डअनुसार भान्सा कोठालाई सफा तथा व्यवस्थित राख्न निर्देशन दिइएको छ।
साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहका अनुसार हंसराज स्वीटबाट उत्पादकको नाउँ, उत्पादन तथा म्याद गुज्रिने मिति नभएका ११ प्याकेट मम जफत गरी नष्ट गरिएको छ। न्यू जानकी भ्यू होटल र लक्ष्मी मिष्ठान्न भण्डारबाट अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ।
Facebook Comment