जनमत र नाउपावीच पार्टी एकीकरण गर्ने निर्णय

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले एकता गर्ने निर्णय गरेका छन्। नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ, पार्टी संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेताले शुक्रबार र शनिबार नियमित संवाद गरेपछि पार्टी एकतालाई अन्तिम रूप दिएको हो।
अध्यक्ष श्रेष्ठले नाउपा र जनमत पार्टीबिच एकता गर्ने निर्णय भएपछि कार्यदल गठन गरेको जानकारी दिइन्। उनले भनिन्, “नाउपा र जनमत पार्टी एकता गर्ने निर्णय भएको छ। चुनाव चिह्न र पार्टीको नाम छलफलकै क्रममा छ। एकता गर्न दुवै पार्टी सम्मिलित कार्यदल मात्रै गठन गरेका छौं।”
अध्यक्ष श्रेष्ठका अनुसार नाउपाबाट कार्यदलमा गंगाराम चौधरी, सुनिता चौधरी, रामलाल डगौरा र जनमतबाट अब्दुल खाँण, सरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन्। उनले कार्यदललाई १५ दिनभित्र छलफल गरेर पार्टी एकतालाई अन्तिम रूप दिन निर्देशन दिएको बताइन्। पार्टीको नाम, नेतृत्व र चुनाव चिह्नलाई लिएर एकता नरोकिने उनले बताइन्।
सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरको थारू आन्दोलनबाट उठेको पार्टी नाउपा र मधेशको पृथकतावादी आन्दोलनबाट उठेको जनमत पार्टी एकता गर्ने अवस्थामा पुगेका छन्। यदि दुई पार्टी एकता भएपछि संघीय संसद्मा जनमतका छ जना र नाउपाको चार जना गरी कुल १३ सांसद हुने छन् तर नाउपाका अध्यक्ष श्रेष्ठले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) सँग भने तत्काल एकता नहुने जानकारी दिइन्।
Facebook Comment