ओस्कार विजेता वृत्तचित्र “नो अदर ल्याण्ड” का प्यालेस्टिनी निर्देशक ‘हिरासतमा’

डिसी नेपाल
११ चैत २०८१ १६:२१

काठमाडौं । मानव अधिकारकर्मीहरूका अनुसार ओस्कर विजेता वृत्तचित्र “नो अदर ल्याण्ड” का चार सह-निर्देशकहरू मध्ये एक प्यालेस्टिनी निर्देशक हमदान बल्लाललाई वेस्ट बैंकमा हिरासतमा लिइएको छ।

सोमबार सुस्या गाउँमा भएको आक्रमणको क्रममा त्यहाँ बसोवास गर्ने इजरायलीहरूले उनको घर घेरेको यहूदी अहिंसा समूहको केन्द्रले जनाएको छ।

उनको फिल्मका सह-निर्देशक युवल अब्राहमका अनुसार बल्लाललाई एम्बुलेन्समा हुँदा इजरायली सैनिकहरूले कुटपिट गरी लगेका थिए। यद्यपि, इजरायलले यो दाबीलाई अस्वीकार गरेको छ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले बल्लालको नाम नलिई तीन प्यालेस्टिनी र एक इजरायलीलाई सुरक्षा बलमाथि ढुङ्गा हानेको आरोपमा पक्राउ गरिएको बताएको छ।

पाँच जना यहूदी अमेरिकी कार्यकर्ताहरूले बताएअनुसार साँझ ६ बजेतिर सुस्या गाउँमा करिब एक दर्जन नकाबधारी मानिसहरूले आक्रमण गरे।

कार्यकर्ताहरूले घटना रेकर्ड गर्न त्यहाँ गएको बताएका छन्, तर इजरायली बसोबास गर्नेहरूले उनीहरूको कारको झ्याल भाँचे, मुक्का हाने र लाठीले कुटे।

“नो अदर ल्याण्ड” वृत्तचित्रका इजरायली निर्देशक युवल अब्राहमले आक्रमणबाट धेरै जना घाइते भएको र सम्पत्तिमा क्षति पुगेको बताए।

एक कार्यकर्ताले बीबीसीलाई बताएअनुसार जब उनीहरूले इजरायली सेनालाई आफूमाथि आक्रमण भइरहेको गुनासो गरे, सेनाले हस्तक्षेप गर्‍यो, त्यसपछि आक्रमणकारीहरू पछि हटे।

इजरायली सेनाले स्थिति नियन्त्रणमा लिन आइडीएफ सेना र इजरायली प्रहरी घटनास्थलमा पुगेको पुष्टि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *