अजरबैजानका वातावरणमन्त्रीलाई ‘सगरमाथा संवाद’ मा सहभागी हुन आग्रह

डिसी नेपाल
११ चैत २०८१ २२:१३

काठमाडौं। जर्मनीको भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र अजरबैजानका वातावरण मन्त्री मुक्टार बाबायेभबीच द्विपक्षीय भेटवार्ता भएको छ।

जर्मनीको बर्लिनमा भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको मन्त्री शाहीको सचिवालयले जनाएको छ। भेटमा मन्त्री शाहीले गत वर्ष अजरबैजानको बाकुमा भएको जलवायुसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–२९) को सफल आयोजनाका लागि धन्यवाद व्यक्त गरेका थिए। साथै उनले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ मा सहभागी हुन औपचारिक निमन्त्रणा समेत गरेका थिए।

मन्त्री ‘पिटर्सवर्ग जलवायु संवाद’ मा सहभागी हुन यही चैत १० गते त्यसतर्फ प्रस्थान गरेका थिए। विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ।

उक्त संवादमा विशेषगरी जलवायु परिवर्तनको अन्तरराष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

जलवायु वार्ताहरूमा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलोपटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी भएका हुन्।

कार्यक्रममा मन्त्री शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायुविज्ञ मञ्जित ढकाललगायत सहभागी छन्। मन्त्री शाही यही चैत १५ गते स्वदेश फर्कनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *