कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी विकास निर्माणका काम गर्नुपर्ने बताएका छन्।
नगर विकास कोषले आज यहाँ आयोजना गरेको ‘सहरी पूर्वाधारः प्राथमिकता तथा वित्त व्यवस्थापन’ कार्यशालामा उनले त्यसका लागि संघीयतालाई बलियो बनाउन संघ र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए।
उपप्रधानमन्त्री सिंहले परिवर्तित सन्दर्भमा नगर विकास कोषले नगरपालिकाको भौतिक पूर्वाधार विकासमा उपयुक्त कार्यक्रमका विषयमा छलफल गर्न कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गरे। सहरीकरणका लागि हाल देखिएको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले नागरिकको जीवन र जीविका सहज बनाउने कुरा नै सरकारको प्राथमिकतामा रहेको बताए।
कार्यक्रममा देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। त्यस क्रममा जनप्रतिनिधिहरूले हाल भोगिरहेका समस्या र वित्त व्यवस्थापनका चुनौतीबारे धारणा राखेका थिए।
Facebook Comment