जहाजमा लेखेको खनालको गीत जहाजबाटै सार्वजनिक

डिसी नेपाल
१२ चैत २०८१ ७:३०

काठमाडाैं। नेपालमा लोकगीत र दोहोरी गीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका सर्जक, वरिष्ठ लोक दोहोरी गायक, कलाकारहरुका अभिभावक, अग्रज कलाकार भनेर चिनिने र लोकगीत र दोहोरी गीतको क्षेत्रका धेरै कलाकारहरूलाई गाउँबाट टपक्क टिपेर पर्दामा उतार्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय दिलाउने, उनीहरूलाई पहिलो टेक दिने रामप्रसाद खनालले भर्खरै आफ्नो अर्को नयाँ गीत “पानी लिन जाँदा खेरी” रिलिज गरेका छन्।

पाँच हप्ताको नेपाल बसाइमा खनालले यस पटक ३ वटा गीत रेकर्ड, छायाङ्कन गरेका छन् त्यस मध्ये पहिलो गीत “पानी लिन जाँदा खेरी” रिलिज भएको छ । काठमाडौँबाट अमेरिका जाने क्रममा कतार एयरवेजको जहाजमा उडान भरिरहेका बेला खनालले त्यही बाटै “पानी लिन जाँदा खेरी” लोक दोहोरी गीत संसार भर एक साथ युट्युब मार्फत रिलिज गरेका थिए ।

खनालको आफ्नै शब्द रहेको यो गीतमा उनले शान्ति श्री परियारलाई आफ्नो गीतको दोहोरी गायिका बनाएका छन् र दोहोरी गायकका रूपमा आफैले गाएका छन् । खनालले आफैले टेलिभिजन र स्क्रिनमा पहिलो टेक दिएका गायक एवम् सङ्गीतकार कमल सौरागले गीतमा सङ्गीत र एरेन्ज गरेका छन् ।

नेपाली चलचित्र जगतकी सर्वाधिक लोकप्रिय निर्माता निर्देशक, कलाकार दीपा श्री निरौला र अर्का लोकप्रिय कलाकार गजित विष्टलाई रामप्रसाद खनालले आफू सँगै राखेर अभिनय मात्र गराएका छैनन् छमछमी नचाएका पनि छन् । खनाल, दीपा र गजितको नाच र अभिनयले “पानी लिन जाँदा खेरी” गीत राम्रो बनेको देखिन्छ ।

उनीहरूलाई अन्य कलाकारहरूले पनि साथ दिएका छन् । अहिलेका नयाँ पिँढीका निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेको यो म्युजिक भिडियो लाई राकेश दाहालले सम्पादन गरेका छन् ।

नेपाली लोक गीत तथा दोहोरी गीतको क्षेत्रमा सबैले जाने मानेका रामप्रसाद खनाल आफैमा सिद्धहस्त गीतकार, सङ्गीतकार, गायक, साहित्यकार, कलाकार र पत्रकार पनि हुन्। उनले हाल सम्म एक हजार दुई सय भन्दा बढी गीत गाइसकेका छन् ।

लोक गीत, आधुनिक गीत, दोहोरी गीत, धार्मिक भजन कीर्तन देखी हिन्दी गीत समेत गाएका खनाल रेडियो नेपाल, नेपाल टेलिभिजन, छापा पत्रकारिता देखी अनलाइन पत्रकारिता सम्म पनि उत्तिकै स्थापित र चलेका व्यक्ति हुन्।

उनी नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता, निर्देशक, सञ्चालक देखी टेलिभिजनको बोर्डकै सञ्चालक भएर पनि टेलिभिजन हाँकेका व्यक्ति हुन । उनी गीत सङ्गीतमा मात्र होइन नेपाली चलचित्र क्षेत्रमा पनि क्रियाशील कलाकार हुन्।

हाल सपरिवार अमेरिकामा बस्दै आएका खनाल हरेक वर्ष नेपाल आउँछन् र यस्तै साङ्गीतिक खुराक हरू पस्केर फर्किन्छन् । नेपाल र नेपालीहरू लाई औधी माया गर्ने खनाल अमेरिकामा पनि नेपाली समुदायमा उत्तिकै स्थापित र लोकप्रिय छन् ।

उनले अमेरिकामै पनि तीज महोत्सव देखी धेरै सांस्कृतिक अभियान हरू सँचालन गर्दै आएका छन् । खनालको यो नयाँ गीत “पानी लिन जाँदा खेरी” मा उनले लोक दोहोरीमा नयाँ प्रयोग गरेको र कहिल्यै पुरानो नहुने माया प्रेम कै विषयमा गीत बनाएका छन् । खनालका गीत सङ्गीतहरूमा मौलिक पन देखी अनुशासन सम्म सब कुरालाई ख्याल गरेको पाइन्छ भने उनका कुनै पनि गीतहरू सपरिवार बसेर हेर्न सुन्न सकिने खालका छन् ।

उनले कहिलै पनि भाईरल बन्नका लागि गीत संगीत क्षेत्रलाई दुरुपयोग गर्दैनन बरु अरुलाई खबर्दारी गर्दै भन्छन – “कलाकारले कला देखाउने हो, कलाका नाममा चर्तिकला देखाउनु पूर्ण तया गलत हो ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *