बर्खास्त गरिएको जानकारी दिन ऊर्जा मन्त्रालयले कुलमानलाई पठाएको तीन पानाको पत्रमा के छ ?

डिसी नेपाल
१२ चैत २०८१ १०:४८

काठमाडौं । ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका कुलमान घिसिङलाई तीन पानाको पत्र पठाएको छ । पत्रमा मन्त्रालयले उनलाई पदबाट बर्खास्त गरिएको जानकारी दिँदै उनलाई पदबाट हटाउनुका कारणहरु लेखेको छ ।

मन्त्रालयले कुलमानलाई पदबाट हटाउनुका १० कारण दिएको छ । यी कारण बुँदागत रुपमा उल्लेख गरिएका छन् । मन्त्रालयले कुलमानमाथि सार्वजनिक सञ्चार माध्यममार्फत् संघीय संसद र सरकारविरुद्ध पटक–पटक अभिव्यक्ति दिएको आरोप लगाएको छ ।

यसैगरी उनले कर्मचारीहरुबीच गुटबन्दी गराएको, सञ्चालक समितिले गरेका निर्णय कार्यान्वयन नगरेको, मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफका विषयवस्तु सञ्चार माध्यममा सार्वजजिक गरेको, बिदामा बस्दा र आन्तरिक वा अन्तर्राष्ट्रिय भ्रमण काजमा जाँदा सञ्चालक समितिको स्वीकृति नलिएको लगायतलाई मन्त्रालयले उनलाई पदबाट हटाइनुको कारणको रुपमा उल्लेख गरेको छ ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् महशुल वापतको बक्यौता रकम असुल उपर नगरेको, आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर भारतमा विद्युत् व्यापार सम्बन्धी सम्झौता गरेको, भारतमा वार्तामा जानुअघि सञ्चालक समितिबाट निर्णय नगरेको जस्ता आरोपहरु पनि मन्त्रालयले पठाएको उत्रमा उल्लेख गरिएका छन् ।

उता मन्त्रिपरिषद बैठकबाट आफूलाई पदबाट हटाइएको औपचारिक लिखित जानकारी पाएपछि कुलमान अदालत जाने तयारीमा छन् । उनले आजै अदालतमा आफूलाई पदबाट हटाइनु नियमविपरित भएको दावीसहित अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् । यसअघि उलर्जा मन्त्रालयले पटक पटक कुलमानलाई स्पष्टीकरण सोधेको थियो तर उनले आफूलाई स्पष्टीकरण सोध्ने मन्त्रालयको क्षेत्राधिकार नभएको जवाफ पठाएका थिए ।

मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफमा कुलमानले क्षेत्रधिकारको प्रश्न उठाएपछि मन्त्रालयले मन्त्रिपरिषदको स्वीकृति लिएर स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफमा कुलमानले आफूले कुनै गलत काम नगरेको जवाफ पठाएका थिए । मन्त्रिपरिषदले उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *