गाजामै हमासको विरोध, शासक संगठनविरुद्ध स्थानीय प्यालेस्टिनीहरू सडकमा

काठमाडौं । मंगलबार गाजामा हमास विरुद्ध विरोध प्रदर्शन भएको छ। उत्तरी गाजाको बेइत लाहियाको सडकमा सयौं मानिसहरूले यसमा भाग लिए।
इजरायल र गाजाबीचको युद्ध सुरु भएपछि मानिसहरू हमासको विरोधमा यति ठूलो संख्यामा बाहिर निस्केको यो पहिलो पटक हो ।
प्रदर्शनकारीहरूले हमासले अब सत्ता त्याग्नुपर्ने माग गरेका छन्। यसैबीच, नकाबधारी हमासका लडाकुहरूले बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरे।
केही लडाकुहरूको हातमा हतियार पनि थियो। उनीहरूले प्रदर्शनकारीहरूलाई कुटपिट पनि गरे।
त्यही समयमा हमासका आलोचक मानिने सामाजिक कार्यकर्ताहरूले सामाजिक सञ्जालमा केही भिडियोहरू भाइरल बनाए।
तीमध्ये धेरै युवाहरू उत्तरी गाजाको बेइत लाहियाको सडकमा देखिए। उनीहरू “बाहिर…बाहिर…बाहिर…हमास बाहिर…” भन्ने नारा लगाइरहेका थिए। यद्यपि, हमासका समर्थक मानिने समूहहरूले यस विषयमा हमासको बचाउ गरे।
हमास समर्थकहरूले यी प्रदर्शनहरूलाई सामान्य भनेका छन्। उनीहरूले यी विरोध प्रदर्शनमा भाग लिनेहरू ‘देशद्रोही’ भएको आरोप लगाए । यस विषयमा हमासको तर्फबाट कुनै बयान आएको छैन।
Facebook Comment