मुख्यमन्त्रीको नीर्देशन अवज्ञा गर्ने डाक्टर साह पक्राउ

डिसी नेपाल
१२ चैत २०८१ १४:५९

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगरस्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक डाक्टर उमेश प्रसाद साह पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा इलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख सई बब्लुकान्त झा नेतृत्वमा गएको टोलीले उनलाई हस्पिटलबाटै पक्राउ गरेको हो।

पक्राउ परेका डाक्टर साहलाई तत्कालै आवश्यक कारबाहीको लागि प्रहरीकै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय गौरतर्फ पठाइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।

हस्पिटल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि उचित कारबाही गरिने एसपी घिमिरेले जानकारी दिए।

मुख्यमन्त्री सिंहले दुईसाता अघि अनुगमनको क्रममा आनन्द हस्पिटल  मापदण्ड विपरीत हस्पिटल सञ्चालनमा रहेको पाइएपछि बन्द गर्न निर्देशन दिएका थिए।

मापदण्ड पूरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई आनन्द हस्पिटल शिवनगरका सञ्चालक उमेश प्रसादले अटेरी गरी निर्बाध रुपमा हस्पिटल सञ्चालन गर्दै आएका थिए।

नियमानुसार व्यवस्थापन नहुन्जेलसम्म पुराना बिरामीलाई अन्य हस्पिटलमा राखेर उपचार गर्ने तथा आनन्द हस्पिटलले उपचार खर्च दिनुपर्ने हुन्छ।

तर, त्यसको विपरित डाक्टर साहले पुराना बिरामीको आफ्नै हस्पिटलमा उपचार गर्नुका साथै नयाँ बिरामीलाई समेत त्यसै हस्पिटलमा भर्ना गरी  उपचारको नाममा लुट मच्चाउँदै आएको प्रत्यक्षदर्शीले बताएका छन्।

पछिल्लो दुई दशकदेखि उमेश प्रसादले अवैध हस्पिटल सञ्चालन गरी लकवा प्यारालाइसिस रोगको उपचारको नाउँमा खुलेयाम लुट मच्चाउँदै आएका छन्।

मुख्यमन्त्री सिंहले गरेको अनुगमनको क्रममा शिवनगर, गरुडा र चन्द्रपुरमा मापदण्ड विपरित सञ्चालनमा रहेको डेढ दर्जन हस्पिटल तत्काल बन्द गर्न निर्देशन दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *