राजावादीहरुको जुलुसमा माओवादी वाइसिएलका सक्रिय सदस्य, राजावादी र माओवादी नै चकित

डिसी नेपाल
१३ चैत २०८१ ११:००

काठमाडौं। गएको फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदै गर्दा उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न राजावादीहरुले जुलुस आयोजना गरेका थिए। ठूलो संख्यामा राजावादीहरुले पूर्वराजाको स्वागत गरे र उनीहरुले पूर्वराजालाई जुलुसले नै स्कर्टिङ गर्दै निर्मल निवाससम्म गए।

आम नागरिकले यसलाई राजावादीहरुकै जुलुस ठाने तर सुरक्षा निकायको अनुसन्धानमा भने त्यहाँ अर्कै तथ्य फेला परेपछि सम्बन्धित सबै पक्षहरु चकित परेका छन्। राजावादीहरुको जुलुसमा माओवादीको भातृ संगठन वाइसिएलका सक्रिय क्याडर सदस्यहरु संलग्न भएको पाइएपछि सुरक्षा निकाय मात्रै होइन राजावादी समूहका अगुवाहरु र माओवादीका नेताहरु समेत चकित परेका छन्।

माओवादी गणतन्त्रको मुख्य पक्षधर हो। २०६२-६३ को जनआन्दोलनपछि तत्कालीन प्रमुख राजनैतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले समेत संवैधानिक राजतन्त्रको पक्षमा हुँदा माओवादीले राजतन्त्र हटाउनैपर्ने अडान लिएको थियो। केही समय राजतन्त्र फाल्न नहुने अडान लिएका कांग्रेस र एमाले पछि माओवादीको अडानमा सम्झौता गर्न तयार भएका थिए र देश गणतन्त्र घोषणा भएको थियो।

देशबाट राजतन्त्र फालेर गणतन्त्र घोषणा गरेको जस अहिले पनि माओवादी अध्यक्ष प्रचण्डले लिने गर्छन्। अहिले माओवादीको तराइ मधेश जनजागरण अभियान चलिरहेको छ र माओवादीले यो अभियान गणतन्त्रका बारेमा जनतालाई बुझाउनका लागि गरिरहेको बताएको छ। माओवादी अध्यक्ष प्रचण्डले यी कार्यक्रममा सम्बोधन गर्ने क्रममा गणतन्त्र ल्याउने आन्दोलनको अगुवाइ आफैंले गरेको भनिरहेका छन्।

माओवादी अध्यक्षले गणतन्त्र ल्याउने मुख्य नेतृत्वकर्ता आफू नै भएको दावी गर्दै गर्दा उनको पार्टीकै अर्धसैन्य संगठन वाइसिएलका सक्रिय क्याडर सदस्यहरु राजावादीको प्रदर्शनका सहभागी भएपछि उनका लागि यो टाउको दुखाइको विषय बनेको छ। उनले यो सबै पार्टीभित्र आफ्ना प्रतिस्पर्धीहरुले गराएको हुनसक्ने आशंका गरेको स्रोत बताउँछ। तर, प्रचण्डले यसबारे केही बोलेका भने छैनन्।

उता राजावादीहरु पनि आफ्नो प्रदर्शनमा कट्टर गणतन्त्रवादी पार्टीको अर्धसैन्य संगठनका सदस्यहरु सहभागी भएको थाहा पाएपछि अन्योलमा परेका छन्। राजावादी समूहकै एकथरी माओवादीभित्रै गणतन्त्र अलोकप्रिय भएको र उसकै सदस्यहरु राजतन्त्र समर्थक आन्दोलनमा सहभागी भएको तर्क गर्दै उत्साहित छन्। अर्कोथरी भने आफूहरुको आन्दोलन भाँड्न घुसपैठ भएको हुनसक्ने भन्दै सशंकित छन्।

सुरक्षा निकाय समेत यो सहभागिताले अन्योलमा छन्। सुरक्षा निकायसँग राजावादी प्रदर्शनमा सहभागी ती वाइसीएल सदस्यहरुको तस्वीर पनि छ। तस्वीरबाट ती सदस्यहरु पहिले वाइसिएलको काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङ जिल्ला कमिटीमा आबद्ध रहेको सुरक्षा निकायले पुष्टि समेत गरेको छ।

सुरक्षा निकायलाई यी वाइसिएल सदस्यहरु राजावादी प्रदर्शनमा किन सहभागी भए भन्ने कुरा टाउको दुखाइको विषय बनेको छ। राजतन्त्रवादीहरुको कट्टर प्रतिद्वन्द्वी मानिने माओवादीको भातृ संगठन भएकोले उनीहरु राजावादी आन्दोलन भाँड्न सहभागी भएको हुनसक्ने पहिलो आशंका भए पनि उनीहरुले राजावादीहरुको प्रदर्शनमा कुनै अवाञ्छित क्रियाकलाप नगरेपछि सुरक्षा निकाय पनि रनभुल्लमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *