कविता : भोजपुर

प्रकाशचन्द्र खतिवडा
१६ चैत २०८१ ६:५५

हिउँ, तुषारो र चिसा स्याँठहरु
अबिरल झरी बादल
पहिरो र खडेरी झेलेर
दुःखका गीतहरु गाउँदै
विरहका सुशेलीहरु सुसेल्दै
फक्रन नपाई
कोपिलामै चुँडेर लगे जस्तो
नांगो रुखको प्रतीक भएर
बसन्तको आगमनलाई
स्वागत गर्न
उत्सुकुता र जाँगर संगालेर
अस्तित्व जोगाउन संघर्षरत
क्षितिजको रक्तिम सूर्य चिहाउँदै
न्यानो ओत पर्खेर
बसिरहेको छ भोजपुर।

हरेक दिन
हरेक रात
मेरो आँखामा उदाउने भोजपुर
पिखुवा, याग्वा र चिर्खुवा भएर
अबिरल बगिरहेको छ सलल
उँचो शिरका साथ
लुकामारी खेल्दै
ट्याम्के र सिलिचुङ
खम्बा जस्तै उभिएको छ हर दिन
मैले देखेको
मैले भोगेको
म जन्मिएकै प्यारो भोजपुर
सद्मी र रामनवमी मेलाहरुमा
मादल भएर घन्किएको छ
चम्पे र भोजपुर बजारहरुमा
खुकुरी भएर चम्किएको छ।
तपाईंहरुले नदेखेको
तपाईंहरुले नाम मात्रै सुनेको
एकादेशको भोजपुर
किमालुङ र सुन्तले डाँडामा
गुराँस भएर फुलिरहेको छ
जरायोटार र माङदिङमा
बदाम र सुर्ती भएर उम्रिएको छ
श्यामेङ बेँसी

स्वर्‍याङ बेँसीमा
धान भएर झुलेको छ
थुप्रै बेँसीहरु छन्
थुप्रै ढापहरु छन्
भोजपुरेका धुकधुकीहरु
बेँसी र ढापहरुले
क्रमश : नापिरहेकै छन्
हरिया नागीहरुमा
चौरी चरिरहेकै छ
देउराली पार गर्न
समय लाग्छ
लाम लागेर भोजपुरेहरु
डबली मेला भरीरहेछन
फिर्के बजार

साल्पा पोखरीमा
यात्रुहरुसँग झुमिरहेकै छ भोजपुर
हतुवागढी
ऐतिहासिक किल्ला नै हो
भग्नावशेषमै मुर्झाइरहेको छ
बुकी पूmलहरु फक्रिएको बेला
ढुकुर र हलेसो कराइरहेकै छ
यसरी
आफ्नै यात्रामा भोजपुर
हिलो संग छुप्छुपाई रहेकै छ
खेत, खलियानहरुमा
अर्म, पर्म गरिरहेकै छ
बैशाखे पूर्णे

मंसिरे पूर्णेमा
साकेवा शिली नाचिरहेकै छ
लाखे नाच होस या मारुनी
नियमानुसार नाचिरहेकै छ।

खमारेका जोगीहरु
फेरि लाउनमा व्यस्त छन्
जरायोटारका गन्धर्बहरु
सारंगी रेट्नमै मस्त छन्
होम्ताङको दाइ

सालेवाको भाइ
एकापसमा
अंकमाल गर्दै
बालन र भजन गाइरहेछन्
चरम्बीकी दिदी

गोगनेकी बहिनी
एकापसमा
हातेमालो गर्दै
संगिनी भनिरहेछन्
धापखर्कको आप्पा

भिरथाप्लाको आप्पा
एकापसमा
काँध मिलाउँदै
सेलो गाइरहेछन्
टक छाप्ने टक्सार
विरासत गुमेको पीडामा
दुःख मनाउ गरिरहेकै छ
गुरु षडानन्द

योगमायाहरु
गढिगाउँ

सिम्ले मझुवामा
रुद्राक्षको बोट मुनि ध्यान मग्न भएर
आफ्ना शिष्यहरु खोज्दै
कोरा सामाजिक कुरीति विरुद्ध
शिक्षा दीप बालिरहेछन्
रामप्रसाद राई र नारदम्ुनी थुलुङहरु
मोर्चाबन्दी युद्धको कला पस्कदै
तन्नेरीहरुलाई
उर्जा भरिरहेछन्।

परिवर्तनको सम्वाहग भोजपुर
हिजो आज त
लय र सुर खुस्केर
बिलखबन्दनमा परी
नमिठो सुस्केरा फाल्न विवश छ
मैले भोगेको
म हुर्किएकै भोजपुर
हिउँ, तुषारो र चिसा स्याँठहरुमा
फक्रन नपाई
कक्रिएको, कक्रिएकै पनि छ भोजपुर
कतै पहिरोले चिथोरेको छ
कतै खडेरीले जिङग्राएको छ
तपाईहरु जन्मिएर
तपाईहरुले नै माया मारेको भोजपुर
रवी, शयली, श्याम र प्रकाशहरुको मात्रै
दुःखाई हैन भोजपुर
शिव, कमल, मोक्तान भाइ, ज्ञानराज र गायत्रीहरुको
छत्र, कलाङ, इन्द्रदेव र अम्रिकाहरुको मात्रै

पीडा हैन भोजपुर
मंजुल, विमल, शंकर, कल्पना र रसिकहरु
दैबज्ञ, पिताम्बर भोला, ज्ञानमणि, हेमांग र प्रधानहरु
संजय, तोया, यात्री, दधि र भोजपुरेहरु
शैलेन्द्र, बुलु, विरही र निनुहरु
बद्रीबिशाल, कृष्णविनोद, नरेन्द्र, कोर्काली र जोशीहरु
रत्न, राजन, भिषण र मञ्जुश्रीहरु
गोपाल, हेम, उदय र चेतनारायणहरु
भूपाल, शशी, पारस, लेखनाथ र आभाहरु
श्रवण, बर्तमान, तारा र विप्लबजी हरुलाई पनि
दुःख्नु पर्ने हो भोजपुर
कुन्नि, कसरी दुःख्छ अरुलाई भोजपुर
सान्नानी, बेली र चमेलीहरुलाई
लैङ्गिक घात बनेर दुःख्छ भोजपुर
कालु, रामु र श्यामुहरुलाई
मुग्लान भएर दुःख्छ भोजपुर
शायदै
सुकेनाशले सुके जस्तो
रोगले सताएर
अकालमै मर्न सक्छ भोजपुर।

सुन्दरहरैचा-६, दुलारी, मोरङ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *