दुलेगौंडा-हर्कपुर सडक स्तरोन्नति गरिँदै

दमौली (तनहुँ) । मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति थालिएको जिल्लाको दुलेगौंडा-हर्कपुर खण्डमा हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ। गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत तनहुँको दुलेगौंडा-हर्कपुर खण्डमा स्तरोन्नति थालिएको हो।
लामो समयदेखि काम हुन नसकेको उक्त खण्डमा अहिले निर्माण कम्पनीका प्रतिनिधिले काम सुरु गरेका छन्। शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडाबाट म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम सुरु गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।
कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार वि.सं. २०५२ मा ट्रयाक खोलिएको दुलेगौंडा-हर्कपुर खण्डको १० दशमलव १८ किलोमिटर कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भई २०७६ साल मङ्सिर २४ गते शिलान्यास गरिएको थियो।
वि.सं. २०७८ माघ १० गतेभित्र सम्पन्न हुनुपर्ने सडकमा पटकपटक म्याद थप गरिएको छ। यो सडकको म्याद आगामी असारसम्म रहेको छ। उक्त खण्ड कालोपत्रका लागि एमएस शंकरमाली निर्माण सेवाले २५ करोड १० लाख ६० हजारमा ठेक्का पाएको थियो।
शुक्लागण्डकी नगरपालिकाको पहलमा निर्माण कम्पनीका प्रतिनिधि श्याम लामासहितको टोली अहिले सडक स्तरोन्नतिका लागि कार्यक्षेत्रमा खटिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए। तत्कालका लागि पाँच किमी कालोपत्र गर्न दबाब दिएपछि निर्माण कम्पनी अहिले कार्यक्षेत्रमा खटिएर काम अघि बढाएको उनले बताए।
शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ। पहिलो चरणमा १० किमी सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो। ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति सुरु हुँदा स्थानीयवासी खुसी भएकामा कामले गति नलिँदा निराश भएका छन्।
दुलेगौंडा–हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले यस क्षेत्रको पुरानो सडक समयमा सम्पन्न नहुँदा स्थानीय र यात्रुले सास्ती पाएका बताए। उनले यथाशीघ्र सडक स्तरोन्नति गरी यात्रा सहज बनाउनुपर्नेमा जोड दिए।
Facebook Comment