गणतन्त्रमाथि नेताहरुबाटै खतरा

महेश कोइराला
१४ चैत २०८१ १४:५६

झण्डै दुई दशकदेखि सत्ताको उपयोग गरिरहेका राजनीतिक दल यतिबेला निकै आत्तिएका छन्।

उनीहरुले गर्ने प्रत्येक भाषणमा नेपालमा कुनै पनि हालतमा राजतन्त्र आउँदैन भन्न छुटाउँदैनन्। जबकि आजका मितिसम्म नेपालमा राजतन्त्र ल्याउने आन्दोलन सुरु भएकै छैन। शुक्रबारदेखि राजतन्त्र पक्षधरले राजधानीमा आन्दोलन गर्ने तयारी गरिरहँदा गणतन्त्रवादी नेताहरु यति साह्रो किन आत्तिए?

के अब मुलुकमा राजतन्त्र आउनै लागेको हो? मुलुक अब हिन्दु राज्य बन्न लागेको होे? सिनमा त्यस्तो केही पनि देखिँदैन। तर दलहरुको छटपटाहट हेर्दा मुलुकमा राजनीतिक परिवर्तन भने हुँदैछ भन्ने देखिन्छ।

यो दुई दशकमा जनता सार्वभौम थिए। जनताका प्रतिनिधिमार्फत शासन सत्ता सञ्चालन भइरहेको छ। सबै कुरा नेताहरुले चाहे अनुसार चलिरहेको छ। त्यसो भए किन दलहरु यति बिध्न आत्तिएका ? यो प्रश्नको उत्तर गम्भीर भएर खोज्नुपर्छ। योबीचमा राजनीतिक दलले गरेका कुकर्मका कारण आज उनीहरु भयभित अवस्थाबाट गुज्रिरहेका छन्।

दलका नेतहरु आत्तिएको जनताले स्पष्ट रुपमा थाहा पाउन थालेका छन्। जनताका लागि जनताले र जनताद्वारा शासन संचालन गर्ने व्यवस्थामा जनताका प्रतिनिधिका गतिविधि विगतदेखि वर्तमानसम्म अध्ययन गर्ने हो भने उनीहरुको डर स्वभाविक हो। यो बीचमा जनताका नाममा गरिएको कुकृत्यको हिसाव सबै जनताले राखेका छन्। आज दलीय व्यवस्थामा पनि दल र त्यसका नेता यति अलोकप्रिय बन्नुको कारण स्वयं दलका नेता नै जिम्मेवार छन्।

झण्डै दुई दशक अगाडि विधिवत् रुपमा विदा गरिएको राजतन्त्रलाई लिएर आफूलाई जनताका मसिहा भन्ने दल किन आत्तिए? पूर्वराजालाई स्वागत गर्न उनका समर्थक आउँदा गणतन्त्रको मुटु हल्लिन्छ भने हामीले कस्तो गणतन्त्रको अभ्यास गरिरहेका रहेछौं। के यो गणतन्त्र नेपाली जनताको आन्दोलनको बलबाटै आएको थियो? शंका गर्नुपर्ने बेला भएको छ।

फाल्गुन २५ को पूर्वराजाको स्वागतमा आएको जनलहर देखेर आत्तिएका सत्ताधारी दल जनताको मनमा बस्न सफल कुलमानलाई सत्ताच्युत गर्ने देखि आफ्नो मान्छे भर्ती गरी कुलमानले नाफा देखाएको रकममा आखा लगाएको र त्यो रकम पनि अब विभिन्न योजनाको बहानामा आफ्नो र आफ्ना मान्छेको स्वार्थ पूरा गर्ने र २५ करोड तस्करीको पैसाको विषयलाई विषयान्तर गरी सांगठनिक अपराधमा अनुसन्धान नै नगरी राजस्व अनुसन्धानले मात्र अनुसन्धान गर्नुले आफ्नालाई उन्मुक्ति दिन खानेजेको जनताले बुझेका छन्।

अहिलेको यो माक्र्स, लेलिन र माओको भूतको मान्यताबाट स्थापित गणतन्त्र धान्न सक्ने अवस्था नरहेको हुँदा आफ्नो सबै व्यवस्था गरी जनतालाई उत्तेजित बनाएर गणतन्त्रको विरोधमा जनता आउने अवस्था सृजना गरी आफू बंगलादेशकी हसिना भागे झैं भाग्ने तयारी स्वरुप कुलमानलाई हतियार बनाएका त होइनन् भन्ने जनतामा आशंका उत्पन्न भएको छ।

अहिले राजनीतिक दलप्रति यति धेरै वितृष्णा उत्पन्न भइरहेका बेला सरकार जनताको आक्रोश मथ्थर पार्ने भन्दा पनि आगोमा घ्यू थप्ने काममा व्यस्त छ। चार महिनापछि स्वतः अवकाशमा जाने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने त्यसैको उदाहरण हो। जसले जनताको मन जित्न सफल भएका थिए। अहिले सडकमा उनको पक्षमा स्वतःस्फुर्त प्रदर्शन हुन थालेका छन्।

गणतन्त्र स्थापनापछि मुलुकमा सकारात्मक भन्दा बढी बेथिति हुन थाल्यो। आफू र आफन्तलाई कसरी आर्थिक जोहो गर्ने, पार्टीका कार्यकर्तालाई भाग पुर्याउने र देश र जनताका विषयमा चिन्ता लिनु नपर्ने अवस्था भएपछि जनता आक्रोशित हुनु स्वाभाविक कै हो।

यदि अहिले गणतन्त्र साँच्चै धरापमा परेको छ भने त्यो राजतन्त्रवादीका कारणले नभइ यिनै गणतन्त्रवादी नेतहरुका कारण हो। सत्तामा भएपछि केही नदेख्ने सत्ता उन्मादका कारण अहिले जनता सडकमा उत्रिएका छन्। यो जनआक्रोश बढ्दै गयो भने आफूलाई जनताको मसिहा ठान्ने दलको हविगत के हुने हो यसै भन्न सकिने अवस्था छैन।

तर अब देश बचाउन युवा शक्ति अग्रसर हुनु परेको छ। नेपालको धर्म, संस्कृति र देशको राष्ट्रिय अखण्डा बचाइ राख्ने जिम्मा अब युवाहरुको हो, त्यसैले यो वा त्यो पक्ष नभनी अब युवा अग्रसर भएर नेतृत्वमा आउनुपर्छ र देशको मुहार फेर्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *