लघुकथा : बैठक

भूमिका गैरे तिमिल्सिना
१६ चैत २०८१ ७:२५

`ओहो! आज त एकछिन फुर्सद नै हुने भएन । कता कता भ्याउने हो?´ एकाबिहानै मिटिङको तालिका हेर्दै उनले योजना बनाए।

चिटिक्क परेर उनी निस्कन लागेको देखेर मैले भनेँ, `बिहानै बिहानै कताको साइत हो ?´

उनले हतारो देखाउँदै भने, `आज खान नपर्खिनू , म उतै खान्छु। दिनभरिमा ४ वटा मिटिङ भ्याउनु छ।´

मेरो पारो तात्यो। बेस्सरी रन्किँदै भनेँ, ` दुबैजना मिलेर आज त कोदो रोपौँला भनेकी थिएँ। सबैको कोदो हरियो भइसक्यो। हाम्रो चाहिँ अत्तोपत्तो छैन।”

`नकराऊ न लाटी! तिम्रो बुढाको कामै त्यस्तै? फुर्सदका दिन सहयोग गरौँला नि! रिसाएर हुन्छ र?´ भन्दै उनी बाहिरिए।

म एक्लै फत्फताउँन थालेँ , ` सधैं नै मिटिङ र कामको बहानामा बाहिरिनेसँग त म हैरान भएँ। होइन, घरका सबैलाई हुँदा मेरो मात्र किन यति साह्रो टाउको दुख्ने हँ? हा, म पनि आनन्दले बस्छु।´

केही बेर चुप लागेर बसेँ तर फेरि भुट्भुटो भयो। लाग्यो, `हैन, मैले पनि धर्म छाडे भने त बर्बाद हुन्छ। अहिले छोराछोरीले भोक लाग्यो आमा! भन्छन्। वस्तुभाउ कराउन थाल्छन्।´

म कामकै चटारोमा अल्मलिरहेँ। मनमनै सोचेँ, `यिनीहरुको मिटिङ उपलब्धिमूलक हुनु र देशमा परिवर्तन हुनु एकै रहेछ।”

गैंडाकोट ४, नवलपुर

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *