नियात्रा

ह्वेलले फ्याँकेको फोहोरा

खेमराज पोखरेल
१६ चैत २०८१ ७:२८

जुन ६, २०२१ को दिन। बोस्टन घुमघामको मुहूर्तको मेहेरो छ। अमेरिकाको न्युयोर्क, बोस्टन वा न्युइङ्गल्यान्ड घुम्न जुन-जुलाई जस्तो गर्मी याम अति उत्तम मानिन्छ। मेरो भदाहासालो सुमेशको नेतृत्वमा छौँ हामी। बोस्टन घुम्ने भनेपछि सुमेशको तीब्र इच्छा तथा पहिलो प्राथमिकता समुद्रमा गएर ह्वेल हेर्नु छ। याने कि ह्वेल वाचिङ्मा जानु छ।

यो मेरा लागि कौतूहलको विषय भए पनि पहिलो प्राथमिकतामा भने होइन। किन भने खासमा म बोस्टन यात्राका दौरान मैले नाम र कामले चिनेका तर प्रत्यक्ष भेटघाट नभएका साहित्यकार साथीहरू अनेसासका केन्द्रीय उपाध्यक्ष गोवर्धन पूजा, कथाकार सुशील नेपाल, उपन्यासकार महेश्वर पन्तसँग भेट्न चाहन्थेँ। गफिन चाहन्थेँ।

त्यसैले म न्युयोर्कदेखि नै उहाँहरूसँग सम्पर्कमा थिएँ। ६ जुनको दिन बिहान उहाँहरूसँग भेट्ने कार्यक्रम तय गरिएको थियो। तर त्यो कार्यक्रममा हाम्रो त्यो ह्वेल हेर्न जाने कार्यक्रमले बाधा दिइरहेको थियो। साहित्यकार साथीहरू र मेरा बिचमा लगातार सम्पर्क भइरहेको थियो।

ह्वेल वाचिङ्को कार्यक्रमको नाम सुन्नेबित्तिकै साहित्यकार तथा कलाकार महेश्वर पन्त सरले मलाई फोन गरेरै भन्नुभएको थियो – ह्वेल वाचिङमा नजानू सर। किनभने त्यहाँबाट फर्केर आउँदा सद्दे मान्छे पनि बिरामी परेर आउँछन्। लखतरान परेर आउँछन्। अझ महिला तथा केटाकेटी छन् भने त बिजोगै हुन्छ। बौरिन नै गाह्रो हुन्छ। बरु बोस्टनमा धेरै घुम्ने रमाइला ठाउँहरू छन्। यतै घुमे पनि भइहाल्छ नि।

तर हाम्रो टोलीको निर्धारित र अपरिवर्तनीय प्रमुख गन्तव्य नै ह्वेल वाचिङ हो। विवेकाले बोस्टनमै पढेको भए पनि तथा सुमेश आफैँ न्युयोर्क बस्ने र पटकपटक बोस्टन पुगेको भए पनि बोस्टनको ह्वेल वाचिङको हाईस्पिड क्रुज चढेका रहेन छन्। त्यस कारणले यो ह्वेल वाचिङ कार्यक्रम हामी सबैका लागि नौलो थियो।

ह्वेल वाचिङ नजाने भन्ने सम्भावना नै थिएन। मेरो आफ्नै अन्तरआत्मामा पनि एक पल्ट ह्वेल हेर्न पाए त हुन्थ्यो भन्ने अभिलाषा बेस्सरी पलाएको थियो। साहित्यको र ह्वेलको दुवैको तारतम्य मिले त हुन्थ्यो भन्नेमा थिएँ म।

समुद्रमा पानी जहाजबाट गएर ह्वेल उफ्रेको दृश्यको कल्पना मेरा दिमागभरि आइरहेको थियो। किनभने मैले चित्रमा बाहेक सजीव ह्वेल अहिलेसम्म देखेकै थिएन। ह्वेलले समुद्रमा बडेमानका जहाजलाई पल्टाइदिन्छ भनेको सुनेको थिएँ। त्यसैले ह्वेल हेर्न कुतूहल थिएँ।

अन्ततः १० बजे बिहान ह्वेल वाचिङ जाने र २ बजे फर्कने कार्यक्रम बनायौँ हामीले। त्यसो गर्दा सोही दिन बेलुकाको ६ बजे उहाँहरूलाई नै पायक पर्ने नोरबुड बोस्टनमा भेट्ने कार्यक्रम तय गरेको छु।

बिहानै हामी खाजा खाएर ह्वेल वाचिङका लागि समुद्रको भँगालो बोस्टन हार्वरतिर लागेका छौँ। ९० डिग्री फोरनहाइट तापक्रम छ। तापक्रमको परवाह नगरी यहाँ त बिहानैदेखि मान्छे खचाखच भरिएका पो रहेछन्।

हार्वरको किनारमा ह्वेलकै आकारको सानो घरमा रहेछ टिकट काउन्टर। विवेका टिकट काट्न लाइनमा उभिइन्। अनि पो भनिन् – भिनाजु ! दिउँसो ३.३० को मात्र छ टिकट। के गर्ने ?

नजाने सम्भावना थिएन। त्यसैले जाने नै सल्लाह भएअनुरूप विवेकाले कार्ड घोटेर लगभग प्रतिव्यक्ति ६५ डलर दरका टिकट काटिन्। ६ जनाको झन्डै ३६० डलर। म भने त्यो पैसालाई नेपाली पैसामा रूपान्तर गर्दै छु। झण्डै चालिस हजार नेपाली रुपियाँ हुन्थ्यो।

‘पैसा फेको तमासा देखो’ भन्ने हिन्दी गीत याद आइरह्यो। पैसा तिरेको देखेर सायद मेरो अनुहारमा एक खालको विपर्यास फजुल खर्ची झल्को आयो होला। अनि मेरो अनुहारतिर हेर्दै हाँस्तै विवेकाले भनिन्- भिनाजु, चिन्ता नगर्नू। मैले एक दिन ओभर टाइम गरेँ भने यो सबै खर्च उठ्छ।

मनमनै विवेकाको यो उदार हृदयलाई धन्यवाद दिइरहेँ। नत्र त मान्छे धन भए पनि कञ्जुसमाको पनि मक्खिचुस भएको नदेखेको होइन। तर उनको कर्म तथा साधनाले उनलाई परिश्रम गर्ने ठाउँ, जाँगर र सिप दिएको छ।

पैसा केमा कति खर्च गर्नु भन्ने अक्कल पनि दिएको छ। हृदयदेखिकै प्राञ्जल चेत छ उनको। उनीहरूको। नत्र त फुट्टीकौडी नझिकी बोस्टन घुम्न पाउने सौभाग्य मजस्तो घरबसुवा बेकारीले कहाँ पाउनू ? उनीहरूको सौहार्दता तथा हृदयस्पर्शी सौजन्यको तारिफ गरेर सकिने विषय नै होइन।

खासमा जहाजमा चढेर समुद्रको परसम्म पुग्ने र ह्वेलको बगालमै गएर प्राकृतिक नृत्य हेर्ने यो कर्म मेरा लागि सर्वथा नौलो हो। जुन महिनामा पुगेको हुनाले सुनमाथि सुगन्ध भएको छ। मजाको कुरा त के भने गर्मी याममा यात्रुको चाप असाध्य धेरै हुने भएकाले सिजनमा तथा विकेन्डमा ८ ट्रिपसम्म एउटा जहाजले गरेर धन आर्जन गर्दोरहेछ। अचम्म ! त्यत्रो जहाजमा त्यति धेरै ट्रिप।

हामी बेलैमा बोस्टन हार्वर पुगेका छौँ जहाज चढ्न। जहाजहरू आइरहेछन्। गइरहेछन्। यत्तिकैमा एउटा भीमकाय जहाज आयो। जहाजबाट आलसतालस भएर मदौरुजस्ता देखिने मान्छेहरू ओर्ले। यति बेला दिनको ३ बजिसकेको छ।

यो भीमकाय जहाज हामी चढ्ने जहाज हो। जहाजमा चढ्न मान्छे सामाजिक दूरी कायम गरिएको लाइन लागेका छन्। नाकमुखलाई मास्कले छोपेका छन्। यो कुरा व्यवस्थापकका तर्फबाट अनिवार्य गरिएको छ। नत्र त यति बेला बोस्टनका सडकमा मास्क लगाएका मान्छे भेट्न नै मुस्किल छ। जहाजको ठाउँठाउँमा स्यानिटाइजर राखिएको छ। मास्कको पोको बोकेर पाले गेटमा नै उभिएको छ।

हाम्रो पालो ३.३० दिउँसो। यसो सोचेँ ७ बजेसम्म फर्केर आइएला। किनकि ३.३० घण्टा लाग्ने समय तालिका थियो। मैले साहित्यिक साथीहरूलाई ७.३० को समयको अवस्था बताएँ।

हाम्रो बोस्टन ह्वेल वाचिङ क्रुजको जहाज हाइस्पिडको जहाज हो रे। जहाज पनि विचित्रको सुविधासम्पन्न रहेछ। स्न्याक तथा कफी पाइने फास्टफुड रेस्टुरेन्ट पनि छ। ४०० मान्छे अटाउने। तीनतिर खुल्ला डेक भएको। जहाजभित्र क्लाइमेट कन्ट्रोल गरिएको। विस्तारै जहाजले गति लिँदै छ।

हार्वरबाट मूल समुद्रमा प्रवेश गर्दै छ। बोस्टनका अग्लाअग्ला भवनहरू होचिँदै छन्। सुमेश र म जहाजको सबैभन्दा माथिल्लो खुला डेकमा पुगेर समुद्र बाक्लिएको तथा भीमकाय गगनचुम्बी सहर होचिएको दृश्य हर्दे छौँ। जहाजबाट हेर्दा त बोस्टन सहर जङ्गलभित्र पो देखियो।

समुद्रका बीचमा टापुहरू देखिए। ती टापुमा गुजमुज्ज सुन्दर बस्तीहरू देखिए। सुमेशले भने- भिनाजु, यो टापुमा घर किन्न त नेपालीले जति कमाए पनि त्यत्तिकै हो। संसारका मिलियनर बस्ने टापु हो यो।

अनि फेरि सुमेशले नै मलाई बोस्टन एयरपोर्टलाई देखाउँदै जानकारी गराए -भिनाजु, बोस्टनमा अब ठाउँ बाँकी छैन। त्यसैले यो एयरपोर्टको केही भाग समुद्र पुरेर बनाइएको हो।

ओहो विज्ञानले समुद्र पुरेर एयरपोर्ट बनाएको पो। अब करिबकरिब बोस्टनका अग्ला बिल्डिङहरू देखिन छाडेका छन्। जता हेरे पनि कि त आकाश देखिँदैछ कि त आकाशमा बादल र सूर्य देखिन्छ। कि त समुद्र देखिन्छ। पानी नै पानी। सूर्यको चमकमा समुद्र चम्किरहेको छ। जहाजले आफ्नो गति बढाएको छ।

यो बेला जोडले चलेको बतास र पानीको तरङ्गले रिँगटा लाग्न थालिसकेको छ। यसको लगत्तै सुमेश तल्लो तलामा बच्चा हेर्न झरि हाले। म एक्लै सबैभन्दा माथिल्लो खुला डेकमा बल गरेर उभिएर समुद्र हेर्न थालेँ। यो बेलाको अनौठो अनुभूति म कसरी वर्णन गरूँ ?

यसै बेला मलाई मेरी सुशाले तल्लो डेकबाट फोन गरेर बोलाइन्। म तल्लो डेकमा आउँदा हाम्रा टोलीका सबै भेटिए। खुब रमाइरहेका छन्। डेकमा सबैभन्दा अगाडि गएर उभिएँ। मान्छे टनाटन छन्। एक हुल भारतीय पनि देखा परे। एक हब्सी पुरुष र स्पानिस देखिने महिला सायद लोग्ने स्वास्नी वा ब्वायफ्ेन्ड गर्लफ्रेन्ड  जिप्टिएर उभिएका छन्।

केटीले एकदमै पारदर्शी पातलो र अल्प लुगा लगाएकी छिन्। समुद्रको बतासले गर्दा उनी लगलग कामिरहेकी छिन्। त्यो बतासले उनको भित्री सौन्दर्य बाहिर निकाल्न खोजिरहेको जस्तो लाग्छ। र पुरुषले आफूले लगाइरहेको अलि मोटो सर्ट ती महिलालाई दियो। अँगालाभित्र च्याप्यो।

तर ऊ आफू भने एउटा पातलो गञ्जीजस्तो लुगामा छ। उसले ती महिलालाई गरेको माया साँच्ची हेर्नलायक छ। त्यो क्षणमा माया, यौन, उत्साह, उमङ्ग, उन्मुक्तता तथा रोमाञ्चकता एकै पल्ट उदाएझैँ अनुभूत भइरहेको छ मलाई।

मजाको कुरा त के भने मजस्तो नेपाली भने ती जोडी देखेर आकाश खसेको जस्तो गरिरहेको छु भने अरू मान्छे त त्यो दृश्यलाई ‘कौन पुछे खेसडीका दाल’ झैँ ठानिरहेका छन्।

तर जब जहाजले गति लिन थाल्यो मान्छेहरू डेकबाट कोठाभित्र प्रवेश गर्न थाले। हाम्रो टोलीबाट पनि लगालग सबै भित्र पसे। म भने अलि आफूलाई विशेष बलियो देखाउन डेकमा बसिरहेँ। आधाबाटो हिँडिसक्दा त डेकमा एकादुई मान्छे मात्र बाँकी रहेका छन्।

डेकका मान्छे आलासतालस हुँदै छन्। रिँगटा लागेर लड्दै छन्। ह्वालह्वाली बान्ता गरेर कोही समुद्रमा फाल्दै छन्। कोही जिम्मट भने वास्ता नगरी बसेका छन्। जहाजभित्र गरिएका बान्तालाई कर्मचारी नरिसाई स्याहार्दै छन्। मैले नेपालमा बसको यात्रा गर्दा धेरै मान्छेले बान्ता गरेको र खलासीले तिनलाई खलासी गाली गरेको देखेको छु। कति खलासीले त त्यो बान्ता आलसतालस भएका यात्रुलाई नै सोहोर्न लगाएको पनि देखेको छु।

अँ त जहाजको त्यो डेकमा हाम्रो टोलीको ममात्र टिकेको छु। किनभने डेकबाट मात्र राम्रोसँग ह्वेल देखिने हुँदो रहेछ। चारैतिर हेर्न र रमाइलो हेर्न पाइने रहेछ। कोठामा पसेपछि त एकातिरको झ्यालबाट देखिने समुद्र र त्यही झ्यालका छेउमा ह्वेल उफ्रयो भने मात्र देखिने सम्भावना हुने रहेछ।

म भने डेकमा नै उभिएर समुद्रको छाललाई हेरिरहेको छु। जहाजको बेगले पानीलाई काट्दा आएको पानीका छिटाले अभिषेक गरिरहेझैँ लागेको छ मलाई। भिजाउन पनि पो खोज्दै छ त। वातावरण एक दम चिसो भइसकेको छ। त्यसमाथि बतासे हावाले डेकको छेउमा उभिएका मान्छेलाई उडाएर समुद्रमा फालिदिउँला झैँ गर्दै छ।

बतास यहाँसम्म छ कि नाकेडाँडीमा बसेको मेरो चस्मा पानीमा हुत्तिने सोह्रैआना सम्भावना देखेर मैले आफ्नो झोलामा हालेको छु। सबैले ‘बोक्नु पर्दैन स्विटर’ भनेको भए पनि झोलामा यसो लुकाएर बोकेको स्विटर लगाएको छु। अलि राहत भएको छ।

जहाजको अगाडिपटिको थुतुनोले पानीलाई काट्थ्यो र जहाज अघि बढ्थ्यो। यसो गर्दा पानीमा एउटा दह्रो छाल बन्थ्यो। त्यो निकै मनमोहक देखिएको छ। लगभग १ः३० घण्टा बितेपछि जहाज सायद ह्वेल क्षेत्रमा पुग्यो क्यार।

जहाज घरी उभिने घरी सुस्तरी चाल मारेर हिँड्ने घरी स्पिडमा हिँड्ने सिकारी चाल गर्न थाल्यो। जहाजमा उभिन मलाई निकै सकस भइरहेको छ। म सबै सकस खेपेर डेकमै उभिइरहेको छु। फेरि ह्वेल हेर्ने लोभ पनि त छ।

जहाजमा समुद्र, सामुद्रिक जीव तथा ह्वेलका बारेमा ब्रिफिङ भइरहेको छ। यो बेला गर्नु पर्ने साबधानी पनि बताइरहेका छन। अन्तत जहाज ह्वेलको घानी भएको ठाउँमा गएर एकछिन उभियो र फेरि हिँड्न थाल्यो। ह्वेल फटाफट उफ्रिन थाले। पहिले यति ठूलो थुतुनोलाई पानीबाट बाहिर निकालेर नाकको श्वासबाट केयौँ ग्यालोन पानी फाल्दो रहेछ।

ह्वेलले फालेको पानी निकै ठूलो फोहोरा जस्तो देखिँदो रहेछ। अनि थुतुनो पानीभित्र घुसाएर पुच्छर माथि निकाल्दो रहेछ। माछाको यामानको पुच्छर जस्तो निकैबेर अड्याएर पानीभित्र डुब्दो रहेछ।

एउटा ठूलो घर पानीमाथि उफ्रिए र फेरि पानीभित्र बिलाएजस्तो देखिँदो रहेछ। ह्वेलका विविध प्रजाति देख्न पाइयो। जहाजबाट लगातार ब्रिफिङ भइरहेको छ। ह्वेल देखिने बेला आएपछि सबै यात्रुलाई सूचना दिइँदै छ। त्यसै बिचमा जहाजकै माइकमा भनेको सुनियो — हेर्नुहोस्। ह्वेलको मुख्य ठाउँमा हामी आइपुगेका छौँ।
यति भन्दाभन्दै एउटा यामानको ह्वेलले फोहोरा फाल्यो र उफ्रिएर पानीमा डुब्यो। जहाजको माइक भन्दै छ — हेर्नु भयो नि ह्वेल ! ८० फिट लामो थियो त्यो। सम्भवतः यो धेरै ठूलो ह्वेल हो।

यस्तो क्रिया करिब १२÷१५ पल्ट गरेको देखेपछि हाम्रो जहाजले अब फिर्ने सूचना दियो। जहाजले फेरि घरमुहाँ भएर आफ्नो स्पिड बढाउन थाल्यो। जब जहाजले स्पिड बढायो, म पनि डेकमा उभिन सकिनँ। थ्याच्च भुइँमा बसेँ। तर यता र उता हल्लाएर भुइँमा पनि अडिनँ सकिनँ। मेरो शक्ति एकाएक सयबाट पाँचमा झर्यो।

शक्ति एक दम क्षिण भइसकेको छ। अब म रिंगटा लागेर ढल्ने अवस्थामा छु। अरू केही क्षण म डेकमा बसेँ भने यहीँ बान्ता गरेर इन्तुनचिन्तु हुन्छु होला जस्तो अनुभव भएको छ। त्यसैले तुरुन्त डेकबाट केबिनतिर लागेको छु। श्रीमती तथा सुमेश, विवेकालाई खोजि हेरे तलमाथि। कतै देखिनँ। केबिनभरि मान्छे अर्धचेतन तरिकाले पसारिएका छन्।

जहाजले हल्लाएर म रक्सीले बेस्सरी मातेर वारिपारि गरेझैँ केबिनभित्र हिँडिरहेको छु। अन्तत मैले टोलीका कसैलाई पनि देखिनँ। उनीहरूलाई खोज्ने शक्ति अब मसँग रहेन। म ढल्ने अवस्थामा छु। रोगँटे पिङमा हल्लाएझैँ हल्लिरहेको छु।

यत्तिकैमा परबाट कालो धब्बा आँखाको अगाडि आएको छ। म सोच्दै छु कि त्यो धब्बा केही निमषमा मभित्र प्रवेश गर्नेछ र म बेहोस हुनेछु। केबिन पनि खचाखच छ। संयोगले एउटा सिट खाली रहेछ। म झोलालाई च्यापेर त्यही सिटमा हतारहतार बसेको र अडेस लगाएर सुतेको सम्झना छ। त्यसपछि भने म निँदाएँछु। निदाएँछु त के भन्नु ? इन्तुनचिन्तु भएँछु। त्यसपछि के भयो मलाई केही थाहा भएन। मैले आँखा खोल्न सकेकै थिइन्। तर बेहोस नै त भएको थिइनँ होला कि !

लगभग फेरि डेढ घण्टा लगायो होला जहाजले फर्कन। त्यो समय त्यही सिटमा आँखा चिम्लिएर इन्तुनचिन्तु भएर बित्यो। आँखा खोल्न सक्ने हुँदा बोस्टनका हाइराज्ड बिल्डिङ देखिन थालेका छन्। जहाजबाट ओर्लेपछि बल्ल टोली सदस्य भेट भएका छन्। सबैको अनुहारले बताइरहेको छ कि ती निकै फत्रक्क गलित छन्।

त्यसपछि भने मेरा टोलीका सदस्यहरू भन्दै छन्-भिनाजुको साथीले भनेको मान्नु पर्ने रहेछ। यो ह्वेल वाचिङ केटाकेटी लिएर हिँड्ने यात्रा होइन रहेछ।

म भने हाम्रो टोली हुस्सु भएकोमा आश्चर्य र दिक्क मान्दै छु। लाउने लुगा पातलो भएको, ज्याकेट नबोकेको थक्कथक्क लागिरहेको छ। ज्याकेट हाल्न खोज्दा सुमेशले दिदीलाई ‘म ज्याकेट किनिदिउँला’ भनेको कुरा सम्झेर बेस्सरी हाँस्यौँ। समुद्रका बिचमा कता स्विटर किन्नु ? एउटा वाइनाकुलर पनि बोक्नु पर्ने रहेछ।

मोसन सिकनेसका लागि ड्रामामाइन भन्ने औषधी एक घण्टा पहिले नै खानु पर्ने रहेछ। हामीलाई थाहै भएन। त्यसैले बाटोमा वाइनाकुलरबाट समुद्र हेर्दै गरेका मान्छे देखेर लोभ त लागेको थियो नि !

बेलुका ७.३० मा जहाजबाट झरेका छौँ। साहित्यकार साथीहरूको म्यासेज आएकोआएै छ। थप कुरा गर्नका लागि मेरो मोबाइलमा चार्ज सकिन थालेको छ। अनि मैले जहाजबाट झर्ने बेलामा ‘आई एम कमिङ। प्लिज वेट मी’ भनेर म्यासेज गर्न त भ्याएको थिएँ। मेसेज गयो कि गएन थाहा भएन। त्यसपछि मोबाइल भने अफ भयो।

यति थाकेका छन् कि सुमेशले मलाई साहित्यकार साथीहरूकोमा पुर्याउने कुनै अवस्था छैन। सम्भावना पनि छैन। हामी सबैको मोबाइल अफ भइसकेको छ। उबर बोलाउन पनि मोबाइल छैन। अनि विवेकाले कतै गएर ५ मिनेट जति मोवाइल चार्ज गरेर मेरा लागि उबर बोलाइदिइन्।

त्यही उबर चढेर म पुग्दा ८.३० जस्तो भइसकेको छ। नेपाली रेसटुरेन्टमा मलाई पर्खेर कथाकार सुशील नेपाल, साहित्यकार महेश्वर पन्त, तथा अनेसासका केन्द्रीय उपाध्यक्ष गोवर्धन पूजा पखेर बस्नुभएको नै रहेछ। यो क्षण मेरा लागि अत्यन्त हर्षको बनेको छ। म धन्य महसुस गरिरहेको छु।

६ बजेको समयदेखि नै चिन्नु नजान्नु मान्छेलाई पर्खेर बस्नु उहाँहरूलाई कति उराठ लाग्दो भयो होला। किनभने त्योभन्दा पहिले मैले उहाँहरूलाई भेटेको थिएन। हाम्रो भलाकुसारी सुरु भएको छ। ‘ह्वेल वाचिङमा गएर पनि आउनसक्नु भनेको तपाईँ धेरै बलियो मान्छे हो’ भन्नु भयो। म कति मक्ख परेँ हूँला अन्दाज गर्नुस् है।

एकएक ग्लास मात्रको प्रारम्भिक सर्तअनुसार वाइन पिउन थालियो। रेस्टुरेन्टआगडिको पेटीमा राखेको टेबुल कुर्सीमा बसेर वाइन पिउँदाको मजाको के बयान गरूँ ? होटल मालिक नेपाली। नेपाली रेस्टुरेन्ट। होटल मालिक ज्यादै फरासिलो। उहाँले मेरा नजिकै आएर भन्नु भयो -आफैँले पारेको मही छ। अलिकति खाउँ है सर।
महीको कुरा सुनेर मेरो मन रमायो।

हरहर भएर आँत सुकेको थियो। त्यसैले ‘हुन्छ’ भनें। तर उहाँले त वाइनलाई नै अमेरिकाको मोही भन्नुभएको रहेछ। यस्तो कुरा कसरी पो बुझुनु र ? वाइन पिइरह्यौँ। निकै बेरपछि खाना आयो। निकै मीठो। स्वादिष्ट। चिकेन। नेपाली मसला, नेपाली स्वाद। नेपाली आत्मीयता। नेपाली सत्कार। नेपालमा आफ्नै घर पुगेको अनुभूति भयो।

हाम्रा गफहरूमा साहित्य छ। नेपाली भाषा तथा साहित्यलाई कसरी थप सम्वर्धन गर्ने भन्ने कुरा छ। लेखन, प्रकाशन तथा बजार व्यवस्थापनका कुरा छन्। हाम्रो कुरा सकिने छेकछन्द छैन। धित मरेको छैन। तर समय न हो। मैले फिर्नु पर्ने। मोबाइल चार्ज गराइसकेको छु। उबर मगाउन खोजको त सुशील नेपाल सरले भन्नु भयो- म पुर्याइदिन्छु।

यसरी उहाँको गाडीमा बसेर आउँदा करिब २५ मिनेटको यात्रामा अन्तरङ्ग गफहरू भए। बाटोमा भन्नुभयो- यसरी आएर हुन्छ त ? फेरि आउनुस्। मेरो घरमा बस्ने गरी आउनुस्। अनि साहित्यका साथीहरूसँग भेट गर्ने कार्यक्रम गरौँला।

बाटोमा म सोचिरहेँ कि गोवर्धन पूजाले त मेरो बारेमा धेरै जानकारी राख्नुभएको रहेछ। मैले लेखेको मनपराएर पढ्नु हुँदो रहेछ। उहाँसँगको भेटमा म यति प्रफुल्ल भएँ कि कुनै दिन उहाँ अनेसासको अध्यक्षमा उठ्नु भयो भने मेरो भोट पक्का। अरूले नमाग्नु होला।

उपन्यासकार महेश्वर पन्तलाई मैेले टिभीमा नाच्दै गरेको देखेको थिए। उहाँ त कलाकार पनि बेजोड हुनुहुँदोरहेछ। उहाँको फुुर्लुङ उपान्यासले निकै हलचल मचाएको थियो। कति सरल लाग्यो मलाई पन्त सर।

साहित्यकार सुशील नेपाल सर धन पनि भएको मन पनि भएको स्रस्टा। आफ्नै खर्चमा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान खोलेर साहित्यको सेवा गर्ने र साहित्यिक कार्यक्रम गर्ने मनकारीसँगको भेटमा पुलकित भएको छु। उहाँका धेरै कथाहरू मैले फेसबुकको कथा पेजमा पढेको छु। प्रतिक्रिया दिएको छु। त्यसैले म अग्घोरै रमाएँ यो भेटमा।

अन्ततः म बसेको होटलको अगाडि ल्याएर छोडिदिनु भयो। धन्यवाद भनेर फेरि भेटिने वाचासहित म होटलभित्र छिरेँ। लिफ्ट चढेर आठौँ तलामा रहेको आफ्नो कोठामा पुगेँ। सुशा मेरो पर्खाइमा थिइन्। मचाहिँ लम्पसार परेर सुतेँ। भोलि पल्ट सुमेश मलाई भन्दै थिए -माने मैले भिनाजुलाई।

आफू कसरी होटल आइपुगियो थाहा भएन। तर भिनाजु त ह्वेल वाचिङपछि पनि नचिनेका साहित्यकारसँग भेट्न त्यति टाढा पुगेर सकुशल आउन सक्ने। भिनाजुको साहित्यप्रतिको समर्पण देखेर छक्क परेँ।

जे भए पनि मैले साहित्यिक मित्र पनि भेटेँ। ह्वेलको पनि दर्शन गरेँ। किन भने आफैँ नमरी स्वर्ग त देखिन्न नि ! बोस्टनलाई धन्य भन्न लाग्यो मलाई। म जब्बर तरिकाले फुर्किएको छु है।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *