संस्मरण

नगरकोटमा एक रात

कपिल लोहनी
१६ चैत २०८१ ७:३०

तिहार सकिए लगत्तै एक रात बस्ने गरि नगरकोट जाने योजना अकस्मात बनेकोले एकाबिहानै झोलामा सामान प्याक गर्ने काम शुरु भयो। एकै रातको निम्ति बाहिर जाने भए पनि चाहिने भन्दा धेरै सामान झोलामा कोच्ने पहिलेदेखि कै नराम्रो बानी आफ्नो।

झनै स्थलमार्गबाट जाने भए पछि लग्ने सामान केही बढी नै भइहाल्ने। १२ बजे घरबाट यो छोटो यात्राको निम्ति रवाना भयौँ। म नगरकोट नगएको पनि एक दशक भइसकेको रहेछ। भक्तपुरदेखि नगरकोटसम्मको बाटो मर्मत गर्न झण्डै एक दशक नै लगायो सरकारले। छिटफुट बिग्रेको बाहेक समग्रमा बाटो ठीकै रहेछ।

२,१७५ मिटरको उचाईमा रहेको नगरकोट पुग्दा चिसो हावाको झोक्काले निकै आनन्दित तुल्यायो। १,४०० मिटरको उचाईमा अवस्थित काठमाडौँ अति घनावस्तीमा परिणत हुँदै गएर हरियालीको नामोनिशान उड्न थालेको र जताततै घरैघर बनेको तथा अधिकांश धुले सडकमा लाखौँको संख्यामा धुवाँ छोड्दै सवारीसाधनहरू दौडिरहने भएकोले यो शहरको तापक्रम र प्रदूषणको मात्रा ह्वात्तै बढ्दै गएको छ।

काठमाडौँ एउटा कप वा बाउल जस्तो बाटुलो र गहिरो उपत्यका भएकोले यहाँभित्र रङ्मङ्गीएर बसेको धुलो र धुवाँको प्रदूषणलाई बढार्न मार्च महिनाको (चैते) हुरीले मात्र सक्छ तर हालको मौसम परिवर्तनको समस्याले गर्दा माघे झरी तथा चैते हुरी पनि ओझेलमा पर्न थालेका छन्।

धनकुटाको भेडेटार पनि काठमाडौँ जस्तै १,४२० मिटरमा अवस्थित भएता पनि त्यो काठमाडौँ जस्तो उपत्यका नभइ नगरकोट जस्तै पहाडको टुप्पामा भएकोले त्यहाँ चिसो हावा र स्याँठको वाहुल्यता हुने गर्दछ र प्रदूषण पनि नगण्य छ।

नगरकोट छोटो पदयात्रा गर्न रुचाउने मानिसहरूको निम्ति एक निकै लोकप्रिय गन्तव्य हो। साँखु बजार र चाँगुनारायणबाट नगरकोट आउजाउ गर्ने वा बनेपा वा धुलिखेलबाट नगरकोटको रुट समातेर हाइकिङ गर्नेहरू धेरै हुँदा रहेछन्।

त्यस्तै नगरकोटकै सेरोफेरोको नेचर वाक, तामाङ तथा अन्य गाउँको भ्रमण वा लामो दूरीको चिसापानीसम्मको हिँडाइहरूमा पनि हाइकरहरू रमाउने गर्दछन्। माउन्टेन वाइकमा विभिन्न ठाउँ घुम्ने साहसिक पर्यटनको लागि पनि नगरकोट प्रख्यात छ। राजधानीको पश्चिमपट्टि अवस्थित चन्द्रागिरिमा झैं यहाँ केवलकारको भने अझसम्म निर्माण भएको छैन।

बाल्यकालमा जाँदाको खुला र हरियालीपूर्ण नगरकोट क्षेत्र आज हेर्दा हेर्दै होटेलै होटेल भएको बस्तीमा परिणत भएको छ। काठमाडौँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरूका साथै राजधानीवासीको एकाध रात बिताउने सबैभन्दा लोकप्रिय गन्तव्य भएकोले पनि नगरकोट एक हिलस्टेशनको रूपमा विकसित हुँदै जानुमा कुनै आश्चर्य मान्नु पर्ने कुरा छैन।

विभिन्न सरकारी तथा निजी संस्थाका गोष्ठी तथा तालिमसहित मनोरञ्जनात्मक कार्यक्रमका लागि एकाध दिन बिताउने स्थलको रूपमा नगरकोट निकै लोकप्रिय रहेको छ। यस्तै कार्यक्रममा भाग लिने क्रममा मैले पनि धेरै पटक नगरकोटमा बास बसेको छु।

आजभन्दा पचास वर्षअघिको सम्झना गर्दा त्यति बेला काठमाडौँ निकै खुला थियो। अधिकांश शहरी इलाकाको प्रत्येक घरमा साना करेसा बारी र बगैँचा पनि हुन्थे। शहरबाट केही पर नै धान र तरकारी बारी हुन्थे। चराचुङ्गी प्रसस्त देखिन्थे। नदी तथा खोलानाला निकै सफा हुन्थे।

चारैतिर हरियाली र शान्त वातावरण थियो। गौचर हवाईअड्डा यानी आजको त्रिभुवन विमानस्थल निकै सानो थियो। बानेश्वरबाट सिनामंगल हुँदै हालको विमानघाट भित्रैबाट थिमी र भक्तपुर जाने पुरानो बाटो थियो। हवाइअड्डाको पूर्वपट्टि मनोहराको विशाल फाँट र नदी।

भैमाल भन्ने वस्ती थियो त्यहाँ। त्यहाँका वासिन्दालाई भैमाले भनिन्थ्यो। गाई-भैँसी पाल्ने पेशा उनीहरूको। काठमाडौँका दूरदराज क्षेत्रका घरघरमा भैमाले महिला तथा पुरुषहरू बिहानै सिलाभरका सेता भाँडाहरू भरी दूध बोकेर पुर्‍याउने गर्दथे। यही क्षेत्र हुँदै थिमी र अनि भक्तपुर छिचोलेर हामी नगरकोटको बाटोतिर लाग्दथ्यौँ।

हिजोआज त्रिभुवन विमानस्थलको विस्तारसँगै भक्तपुर जाने पुरानो र नयाँ बाटो पक्रन कोटेश्वर पुग्नु पर्दछ। पुरानो भन्दा नयाँ ६ लेनको बाटो नै बढी चल्तीमा छ अहिले। यो बाटो पनि चिनियाँ सहयोगमा कोदारी राजमार्गको रूपमा २०२० सालको अन्ततिर बनेको हो।

यो पहिले २ लेनको सुनसान सडक थियो। तर पछि राजा वीरेन्द्रको राज्याभिशेष ताका चिनियाँ सरकारले दक्षिण एशिया कै एक मात्र ट्रलिबस सेवा काठमाडाैंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म निर्माण गरिदिएको थियो। यस्तो गौरवशाली यातायातको साधनलाई पछि विजुलीको अभावको वहाना बनाएर बन्द गरियो।

काठमाडौँ उपत्यकाको चारैतिरको डाँडा र भञ्ज्याङको सेरोफेरोमा नै कैयन् रमणीय स्थलहरू छन् र हिजोआज त्यहाँ बस्ने र खाने निकै राम्रो व्यवस्था भइसकेको छ। तर जुनै सरकार आए पनि जनतालाई आवश्यक पर्ने सार्वजनिक सेवामा हेलचक्रर्‍याइँगर्ने भएकोले त्यस्ता नजिकका रमणिय स्थलमा पुग्न पनि हम्मे हम्मे पर्ने।

मुलुकमा सडक यातायातको निकै विकास भइसकेको आजको सन्दर्भमा पनि सडकको खराब अवस्था र अस्तव्यस्तताले गर्दा हाल धुलिखेल, बनेपा, ककनी, नुवाकोट, धादिङ, कुलेखानी, चित्लाङ, हेलम्बु, मेलम्ची जस्ता राजधानीबाट नजिकका स्थल पुग्न समेत निकै कष्ट भोग्नु पर्ने अवस्था छ। तर त्यस्ता गन्तव्यमा पुगि सकेपछि भने त्यहाँ निर्मित आरामदायी होटेल र रेष्टुरेन्टहरूको सेवा लिँदै मनग्गेसँग दृश्यावलोकनको आनन्द लिन सकिने भएको छ।

नगरकोटबाट उत्तरपुर्वी मोहडामा रहेको एक नाम चलेको होटेलमा हाम्रो मुकाम बन्यो। विदेशी पर्यटकहरू पनि बसेका रहेछन् त्यहाँ। सबै कोठामा बार्दलीसमेत भएकोले खुला हावामा बसेर आफ्नो सुरमा दृश्यावलोकन गर्न निकै रमाइलो लाग्यो। अन्य पर्यटकहरू पनि आआफ्ना बार्दलीमा बसेर फोटो खिच्ने तथा हिमाल तथा पहाडको दृश्य हेरेर आनन्द लिने काम गरिरहेका थिए।

काठमाडौँको डेङ्गुको संक्रमणकारी लामखुट्टेलाई उतै छोडेर एक रातको निम्ति आएका हामीलाई त्यहाँ पनि लामखुट्टेले टोक्ला कि भन्ने त्राहिमामको स्थिति कायमै थियो। माओवादी द्वन्द्वको बेलामा एक पटकको नगरकोटको बसाइँमा रातिको समयमा टाढा टाढाबाट गोली चलेको आवाज आउँदा त्यहाँ बसेका पर्यटक र हामीसमेत भयभीत भएका थियौँ भने अहिले जाबो लामखुट्टेबाट त्रसित हुनु परेको अवस्था।

तर त्यहाँको मौसम ठण्डा नै भएकोले लामखुट्टे देखिएको थिएन। तैपनि कोठामा घरैबाट लगेको लामखुट्टे भगाउने म्याट बाल्नुका साथै हात, खुट्टा र मुहारमा क्रिम पनि दलेँ। एक वर्ष पहिले लामखुट्टेले कुन सड्को टोकेर बिरामी पारे पछि म अस्पतालको सघन उपचार कक्षमा नै पुगेर मृत्युको पञ्जाबाट उम्केर निस्केको मान्छे। त्यतिबेला मर्न डर नलागे पनि सद्दे छँदा निकै डर लाग्दो रहेछ।

केही बेर कोठामा आराम गर्नुका साथै टेलिभिजनमा विश्व समाचार हेरे पछि साँझपख होटेलबाट बाहिर निस्केर सल्लाका रुखहरू छिचोल्दै नगरकोट बजार क्षेत्रमा हिँडेर गएँ। पहिलेभन्दा निकै गुल्जार भइसकेको। सबै प्रकारका आवश्यकीय सामान र खाना पाइने भएछ अब त्यहाँका पसल र रेष्टुरेन्टहरूमा।

हिँड्दै हिँड्दै सेनाको ब्यारेक भएको इलाकासम्म पुगेर त्यहाँ भएको हरित मैदानमा अवस्थित पुरानो फलामे टावरमा चढेँ। पुराना याद ताजा भए। पश्चिमबाट सूर्यास्तको समयमा उत्तर र पूर्वमा रहेका हिमालमा डुब्दो सूर्यको रातो, पहेँलो र सुन्तला रङको किरण परेपछि सोको सम्मिश्रणले बनेका रङहरूले मन निकै छोएको थियो।

त्यो टावरबाट दक्षिणतर्पm तराई र भारतको सिमावर्ती शहरमा राती बलेको बत्ती पनि देखिन्छ भन्थे, तर पर परसम्म धुलोको कारणले हुन सक्छ, तुँवालो लागेको जस्तो भएकोले खासै त्यस्तो केही देखिएन। तर पनि हरिया फाँट र डाँडाकाँडाका मनोरम दृश्य भने अवश्य देखियो।

रात पर्दै गर्दा फर्केर होटेल परिसरभित्रका उकाली र ओराली हिँडेँ। अनि बेला भयो रात्रीको खानाको। खाना खाने ठाउँमा नै आगो बालेर घुनी जगाउँदै वरीपरी स्वदेशी तथा विदेशीहरू बसेर गीतार बजाउँदै पालै पालो गीत गाइरहेका थिए।

मैले पनि केही लोकभाकाका नेपाली गीत गाएर सुनाएँ। आफुले मद्यपान गर्न छोडेको निकै समय भएकोले सोडा-पानीमा नै यो हिल स्टेशनको आनन्द लिनु पर्‍यो। तर हिजोआज मद्यपानमा पहिले जस्तो कुनै दिलचस्पी नै रहने गरेको छैन। नपिउँदा नै बरु आँखा अगाडिका दृश्यदेखि अन्य विविध कुरा जस्तै खाना र नजिकको वातावरणको पनि आनन्द लिन पाइने।

खुबै मज्जाले त्यहाँ बुफेमा सजाइएका सुप, फलफुल र खानाहरू स्वाद लिइ लिइ खाएँ र अन्तमा स्वादिलो अमेरिकानो (कालो कफी)। भारतीय र अन्य मुलुकबाट आएका विदेशी पर्यटक पनि रमाइ रहेका थिए।

हाम्रो समुहका साथीहरूसँग केही बेर भलाकुसारी र हँस्सी ठट्टा। यसरी कतै घुम्न जाँदा केही समयको निम्ति भए पनि सबैले आफ्ना मनका कुरा अरु बेलामा भन्दा खुलस्तसँग भन्ने। रमाइलो क्षण।

केही बेर बत्तीको उज्यालोमा रेष्टुरेन्ट र स्विमिङ पुलतिर टहल्दै गफ गरेर सबैजना आआफ्ना खोपी तिर गयौँ, भोलिको सूर्योदय हेर्न सबेरै उठेर आआफ्ना बार्दलीमा आउने र ब्रेकफास्टको समयमा बात मार्ने सर्तमा। टेलिभिजन र सामाजिक सञ्जालको माकुरे जालोमा फँस्दा फँस्दै थाहै नपाई कुन सड्को निद्रादेवीले छोपि सकिछन्।

बिहान ४ बजे उठ्दा चिसो वातावरण। आनन्दको अनुभूति। नित्यकर्म पश्चात् डोरबहादुर विष्टद्वारा लिखित ‘सबै जातका फूलबारी’को राउटे जाती बारेको निकै रोचक तथ्य पढेर सकेँ। पुस्तक पढ्नुको पनि आफ्नै आनन्द छ। त्यो पुस्तक पढेर नसकुञ्ज्यालसम्म पुस्तकका लेखक तथा पात्रसँग आत्मिय सम्बन्ध रहिरहने।

त्यस्तै पुस्तकमा लेखिएका विविध परिवेशभित्र आफु पनि भएको महसुस हुने। नयाँ नयाँ विषय र परिवेश बारे निकै ज्ञान आर्जन गर्न पाइने। आखिर अध्ययनबाटै त हो नि मानवजातीको ज्ञानको दायरा बढ्दै गएर उ विवेकी बन्ने।

केही बेर अमेरिकाको राष्ट्रपतीय निर्वाचनको परिणामको प्रत्यक्ष प्रसारण टेलिभिजनमा हेरेर बसेँ। अत्याधुनिक डिजिटल प्रणालीबाट मतदान हुने भएकोले मतदान सकिने वित्तिकै मतगणना शुरु भइहाल्ने र २४ घण्टाभित्रै चुनावको परिणाम आइहाल्ने। तर हाम्रो तिरको विश्वमा यसको प्रयोग गर्ने चेष्टा किन नगरेका हुन् त्यो बुझ्न नै नसकिने।

होटेलको कोठामा राखिएको बिजुलीद्वारा चल्ने भाँडोमा पानी उमालेर चिया बनाएँ र चियाको चुस्कीसँगै अबका केही दिनमा गर्ने कामहरू बारे घोत्लिन थालेँ र कागजमा नोट गरेँ। अनि कोठा बाहिरको बरण्डामा बसेर चिया पिउँदै सूर्योदयको प्रतिक्षा गरेँ।

अँध्यारो आकाशमा हल्का प्रकाश छाएजस्तो दृश्य। टाढाका हिमालहरू अँध्यारोमा नै प्रकृतिले कोरेका रेखा जसरी देखिँदै गएका। पूर्वतिर बिस्तारै निलो र सेतो रङ्गको हल्का उज्यालोले चियाउन शुरु गरेको र क्रमशः त्यो उज्यालो बढ्दै गएको।

हिमाल र तल्लो आकाशमा रहेका बादलहरू सेतो र पहेँलो हुँदै रङ्ग बदल्दै निकै सुन्दर देखिएका। हिजोको दाँजोमा आकाश ज्यादै खुलेकोले आज गणेश हिमालदेखि गौरीशंकर, लाङटाङ, मनास्लु, रोल्वालिङ, जुगल र टाढाको सगरमाथा पनि सूर्यको किरणसँगै धपक्क बलिरहेका।

हिमालभन्दा वरका तह तहमा बाँडिएका पर्वत र पहाडहरू पनि बिस्तारै देखिन थालेका। पहाडभन्दा पनि वरका फाँटहरूलाई बादलले ढाकेर कपासको विछौनाजस्तो देखिएको। ज्यादै रमाइलो दृश्य।

पूर्वी आकाश बिस्तारै पहेँलो र रातो हुँदै बलेको आगोको राप जस्तो हुन थाल्यो भने सोभन्दा माथिको आकाशबाट तारा बिलाएर आकाश बिस्तारै हल्का निलो हुन थाल्यो। केही छिनमा हिमालमा पूर्वको घामको प्रकाश पर्न थालेर हिमाल पनि सेतो, पहेँलो र अनि रातो हुन थाल्यो।

हेर्दा हेर्दै पूर्वको एक कुनाबाट सूर्य सियोको टुप्पोजस्तो गरेर झुलुक्क झुल्क्यो भने सेकेन्ड सेकेन्डमा उसले माथि माथि आउँदै चारैतिर प्रकाश छर्न थाल्यो। यो दृश्य देखेर मेरो मन अति नै रोमाञ्चक भएको थियो।

कोसँग यो भव्य दृश्यको बारेमा कुरा गरौँ भन्ने कुरा मनमा भइरहेको बेलामा होटेलका अन्य बरण्डा र झ्यालबाट चुपचाप यो सब दृश्य हेरिरहेका मानिसहरूको ‘वाह’ र ‘वाउ’ जस्ता अभिव्यक्तिसहितका आवाज एकै साथ गुञ्जिँदा एकछिन त म झसङ्ग भएँ भने एकैछिनमा मजस्तै त्यो होटेलमा बसेका अधिकांश मानिस सूर्योदय हेर्नको निम्ति व्यग्र प्रतिक्षामा रहेछन् भन्ने कुरा बुझ्न पुगेँ। ती मानिसहरू मेरो अगाडि नै नभएर आआफ्ना बार्दलीमा भए पनि हामी सबैले एक प्रकारको भाइचाराका साथ त्यो अद्भूत दृश्यको आनन्द लिइरहेका थियौँ।

अब बल्ल टाढाको फाँटको कुनाबाट बगेको विशाल नदीको नागबेली पथ देखिन थाल्यो भने कपास रूपी बादलको बिछौना पनि घाम पर्न थालेर रङ्गी विरङ्गी भएर चम्कन थाल्यो।

उता सूर्यले अब पुरै बाहिर निस्केर ठूलो गोलाकार मुख देखाउँदै चारैतिर प्रकाश र ताप छर्न थाल्नाले हराभरा देखिएका रूखपातको आडमा चराचुरुङ्गीहरूको चिरबिर पनि सुनिन थाल्यो र तल नदी र फाँटबाट बाफ उडेझैं कुहिरो आकाशमा आउन शुरु भयो। कपासरूपी बादल बिस्तारै फाटेर पातलिँदै गयो र आखिर हरायो पनि।

सूर्यको बढ्दो उज्यालोसँगै हामी बसेको होटेलको प्रत्येक बार्दलीमा नेपाली र विदेशी पर्यटकहरू निकै प्रसन्न मुद्रामा हातमा मोवाइलको क्यामरामार्फत फोटो र भिडियो खिच्न लागेको दृश्य देखिन थाल्यो भने नजिककासँग चिनाजानी नभए पनि मुस्कान साँटासाँट हुन थाल्यो।

काठमाडौँको अझै  पनि नघटेको गर्मीबाट यहाँको ठण्डा मौषममा प्रायः सबैले शरीरलाई ज्याकेट र स्वेटरले ढाकेको देखिन्थ्यो। मैले पनि यस्तै चिसो होला भन्ने अन्दाज गरेर एउटा ज्याकेट र बाहुलादार गञ्जी तथा कान छोप्ने टोपी झोलामा कोचेको थिएँ, जुन आज साँच्चि नै काममा आयो।

सनराइज हेर्ने काम सकेर होटल परिसरबाट बाहिर घुम्न निस्केँ। नगरकोट चोकसम्म डुलेँ। बाटो मर्मत गर्ने काम अधुरै छोडिएकोले धुलो र हिलोको बाहुल्यता भएको सडक। नेपालमा पर्यटक आकर्षण गर्न र उनीहरूको सुविधाजनक बसाई र घुमाइको निम्ति निजी क्षेत्रले निकै रकम खर्चेर होटेल, रेष्टुरेन्ट तथा मनोरञ्जनका साधनहरूको विकास गरेको छ भने सरकारले कुनै सडक पनि गतिलो बनाउन सकेको छैन। तै नेपालमा हिजोआज बिजुलीको उत्पादन वर्षेनी बढेकोले राती विद्युतीय उज्यालोमा वातानुकुलीत कोठाभित्र बस्ने सुविधा भने बढ्दै गएको छ।

नेपालले विदेशी मुद्रा आर्जन गर्न सक्ने तीन ज्यादै महत्वपूर्ण कुरामा जलविद्युत निर्यात, पर्यटन र कृषिमा आधारित औद्योगिक वस्तुको निर्यात हो। हाल नेपालमा जलविद्युतको विकास निकै धेरै हुँदै गएकोले मुलुकभित्रको लोडसेडिङ हटाएर भारत र बंगलादेशमा पनि विद्युत निर्यात गर्न शुरु भएको छ।

नेपालमा अन्य जैविक उर्जाका साधन जस्तै पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय चुलो, विद्युतीय सवारी साधन तथा अन्य विद्युतीय उपकरणको प्रचलन बढाउन प्रोत्साहन दिनु पर्नेमा सो राम्ररी हुन सकेको छैन।

ठूला ठूला राजनीतिक दलका नेता तथा सरकार चलाउने व्यक्तिहरू समेत विचौलियाहरूसँग मिलेर मुलुकको हित विपरित काम गरेर द्रव्य कमाउने मेलोमा खुलेआम लागेकाले नेपालमा विद्युत विकास र व्यवस्थापनमा अहम् भूमिका खेलेका कुलमान घिसिङलाई नाना थरी आरोप लगाएर हालै पदमुक्त गरेका छन्। यो एउटा ज्यादै नै खेदपूर्ण कार्य हो।

सामान प्याक गरि कोठा छोडेर हामी सबै खाना खाने ठाउँमा जम्मा भयौँ। अनि बिहानको नास्ता खाँदै यसपालीको नगरकोट बसाइँ बारे मन्थन गर्न थाल्यौँ। सबै साथीहरूले निकै आनन्द लिएको र आउँदा केही समयको लागी काम गर्ने उर्जा मिलेको कुरा पनि बताए।

रातिको खाना जस्तै ब्रेकफास्ट पनि ज्यादै स्वादिलो र स्वस्थकर थियो। सबैले आआफ्नो होटेलको बिल चुक्ता गरेर त्यहाँका हँसिला कर्मचारीहरूसँग बिदाबारी भए पछि हामी होटेलबाट निस्केर हाम्रो मोटरगाडीमा बस्यौँ र मधुर संगीत सुन्दै नगरकोटबाट तल तल ओर्लिन थाल्यौँ।

केही बेर भक्तपुरको दरवार क्षेत्रको भ्रमण पनि गर्‍यौँ र दरवार स्क्वायरको बगलमा नै खुलेको एक सफा सुग्घर नेवारी रेष्टुरेन्टमा पसेर नेवारी परिकारको मज्जा लियौँ। विदेशीहरूको धुइँरो थियो त्यहाँ।

भक्तपुर पुगे पछि जुजु धाउ नखाने त कुरै भएन, बरु सबैले घर लग्न पनि भक्तपुरको मिठो दही किनेर गाडीमा बसे। त्यहाँबाट निस्केर उही धुलो, उही भिडभाड र उही गर्मी छिचोल्दै आआफ्ना गुँडमा पुग्यौँ, तर मन भने निकै प्रसन्न र तृप्त भएको थियो।

-लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *