उत्कृष्ट दशमा पुग्नेलाई पनि तीन-तीन लाख पुरस्कार दिने घोषणा

काठमाडाैं। मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको टप १० मा पुग्ने हरेक प्रतिभालाई तीन-तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ।
नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने कार्यमा उल्लेख्य योगदान पुर्याएकोमा गायन र नृत्य विद्यालयका शिक्षक शिक्षिकाको अन्तर्क्रिया कार्यक्रममा इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले सो घोषणा गरेका हुन्।
विश्वभरका नेपाली जातिका १२०-१२० प्रतिभाकाबीच अन्तिम प्रतिष्पर्धा हुने यी दुबै शोहरुमा टप १० सम्म पुग्ने प्रतिभा नेपाली समुदायका लागि सम्मानित व्यक्तित्व बनिसक्ने हुँदा उनीहरुलाई सम्मान गर्न हरेकलाई तीन-तीन लाख रुपैंयाले पुरस्कृत गर्ने निर्णय गरिएको अधिकारीले जानकारी दिए।
मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को काठमाडौं अडिसनको पूर्वसन्ध्यामा विहीबार सांझ काठमाडौंमा सो कार्यक्रमको आयोजना गरिएको थियो। नेपाली संस्कृतिको पुस्तान्तरणमा गायन र नृत्यका प्रशिक्षण केन्द्रहरु तथा विद्यालयहरुले उल्लेख्य योगदान गरेको सन्दर्भलाई उल्लेख गर्दै आयोजक संस्था इन्ट्रा फाउण्डेसनका अध्यक्ष अधिकारीले सांस्कृतिक राष्ट्रवादलाई मुलुकको सीमाले बाँध्न नसक्ने उल्लेख गरे।
नेपाली संस्कृतिमाथि विदेशी अतिक्रमणको क्रम तीब्र भएको सन्दर्भ उल्लेख गर्दै उनले आफ्नो माटोको सुगन्धसहितको मौलिक संस्कृतिलाई भावी पुस्ताहरुमा पुर्याउने अभियानले नेपाली जातिको सांस्कृतिक राष्ट्रवाद अझ मजवुत हुने धारणा राखे।
आफू भुटानमा जन्मेर आफ्नै पितृभूमि नेपालमा १७ बर्षसम्म शरणार्थी शिविरमा कष्टकर जीवन विताउनु परे पनि नेपाली जातिको पहिचान अझ सशक्त बनाउन र संस्कृतिका माध्यमबाट नेपाली जातिलाई एकताबद्ध बनाउन आफ्नो संस्थाले गायन र नृत्यका दुई रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स संचालन गरिरहेको बताए।
नेपाली संस्कृतिका प्रतिभाहरु जन्माउने र उनीहरुलाई प्रशिक्षित गरी तिखार्ने अभियानमा लाग्नु हुने सम्पूर्ण प्रशिक्षकहरुमा अभार व्यक्त गर्दै यो पुनित कार्यमा राज्यले साथ सहयोग निरन्तर दिनु पर्ने उनको धारणा थियो।
नेपाली संस्कृतिको पुस्तान्तरणका लागि इन्ट्रा फाउण्डेसनले अमेरिकाका सातवटा शहरुहरुमा नेपाली लोक, शास्त्रीय संगीत र नृत्यका कक्षाहरु अनवरतरुपमा सञ्चालन गरिरहेको र ती कक्षाहरुका ११ सयभन्दा बढी नेपाली मुलका बालबालिकाहरु अध्ययनरत रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।
नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपाली संस्कृतिको जगेर्नाका लागि फाउण्डेसनले गरेको योगदान उल्लेख्य रहेको बताए। आफूहरुले पनि यसरी नै गर्ने सोचाइ बनाएको भए पनि विविध कारणले यो हालसम्म सम्भव नभएको बताउँदै आफूले कमाएको सम्पत्ति नेपाली कला, संस्कृतिको विकासका लागि लगाउने फाउण्डेसनको कार्यप्रति आफूले नमन गर्न चाहेको सुनाए।
यी दुबै शोले विश्वभरका नेपाली जातिका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउने उद्देश्य राखेको छ। कार्यक्रममा दिइएको जानकारीअनुसार, अमेरिका, बेलायत, पोर्चुगल, अष्ट्रेलिया, जापान, हंगकंग, थाइल्याण्ड, दुवाई, कतार, सिलगुडी, मुम्वई, पोखरा, नेपालगञ्ज, विर्तामोडलगायतका ठाउँहरुमा दुबै शोका अडिसनहरु सम्पन्न भइसकेका छन्।
फाउण्डेसनका नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीको सभापतित्वमा सम्पन्न भएको सो अन्तर्क्रियात्मक कार्यक्रममा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईल विश्वका विभिन्न स्थानमा भएका अडिसनहरुमा संसारका ६० भन्दा बढी देशमा बसोवास गर्ने नेपाली जातिका प्रतिभाहरुले सहभागिता जनाएको जानकारी दिएका थिए।
नेपाल टेलिभिजनबाट प्रसारण हुने दुबै शोहरुको काठमाडौं अडिसन यही चैत्र १६ र १७ गते सामाखुसीस्थित नवोदित कलेजमा हुने र त्यसबाट छनौट भएपछि संसारभरका विभिन्न देशहरुबाट आउनेसमेत १२० जना गायनमा र १२० जना नृत्यका प्रतिभाहरुले टेलिभिजनमा प्रदर्शन हुने प्रतिष्पर्धामा सहभागी हुन पाउने छन्।
कार्यक्रममा सहभागी गायन र नृत्यका प्रशिक्षकहरुका तर्फबाट नृत्य निर्देशक संघका अध्यक्ष बरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ र महेश गोदारले विश्वमा छरिएका नेपाली प्रतिभाहरुलाई नेपालसँग जोड्ने उद्येश्यमा दुवै रियालिटी शोहरुलाई सफलता मिलोस् भन्ने कामना गरेका थिए। उनीहरुले नृत्य र गायन सिकेर पढेर आफ्नो जातिका लागि ठूलो प्लेटफर्ममा पुग्न पाइने आशालाई साकार पार्न यी दुई शोहरुले योगदान दिएकोमा खुसी व्यक्त गरेका थिए।
दुबै शोका विजेताहरुले एक एक करोड पुरस्कार पाउने छन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउने छन्। यसवाहेक समूह नृत्य प्रतिष्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले ५ लाख पाउने जानकारी पनि कार्यक्रममा दिइएको थियो।
Facebook Comment