किनमेलको पुरानो जक्सनमा जात्राको उत्सव

काठमाडौं उपत्यकाका सांस्कृतिक पहिचानका अनेकौं स्तम्भ-अभिलेखहरू बोकेर बाँचिरहेको प्राचीन शहर हो। तेत्तीसकोटी देवताले बास गरेको मानिने यस शहरलाई मन्दिरै-मन्दिरको शहर पनि भनिन्छ। यही शहरमा पाइलैपिच्छे भेटिने देवीदेवताका कलात्मक मूर्ति र तिनैप्रति उपत्यकाबासीको हार्दिक श्रद्धा यौटा आदिम अध्यात्मको जीवन्त दर्शन हो।
यही उपत्यकामा तिथिअनुसारका अनेकन चाडपर्व, उत्सव-उमङ्गका तामझाम देख्न सकिन्छ। तिनै उल्लासका पलहरूले उपत्यकाबासीलाई आत्मीय सम्बन्धको सिलसिलामा आबद्ध गरिराखेको छ। दिनदिनैजस्तो हुने पर्वका रौनकहरूमा स्थानीय जीवनशैलीका प्रस्तुतिसँगै परम्परागत धर्मधामको अध्याय पनि अभिव्यक्त भइरहेको स्वतः महसुस गर्न सकिन्छ।
यहाँका हरेक चोक, डबली, गल्लीगल्छेंडाहरू पुराना कथा बोकेर बसेका छन्। यिनै कतिपयमा स्थानमा प्राचीन अभिलेखका अक्षरहरू खिइदै इतिहासका पाना पल्टाउन नसक्ने अवस्थामा पुगिसकेका छन्। तिनका भित्ताहरूमा समयले कोरेका चित्रहरू छन्। इतिहासका छायाहरू छन्।
यहाँ पुख्र्यौली विरासतका चिनोचिकर्टाहरू समयको हुरीबतास, प्रकोपका घटनाहरूले टुक्रिदै, हराउँदै, बिलाउँदै गइरहेका छन्। तिनलाई बचाउने, जोगाउने र मेटिलागिसकेको इतिहासलाई सुरक्षित राख्न सकिएन भने हाम्रो पहिचान पनि संक्टमा पर्न सक्छ।
यसै सन्दर्भमा अहिले यही शहरको असनमा जात्राको उत्सवले बेग्लै भीडभाडको उपस्थिति भएको छ। सधैं किनमेलकै लागि भेला हुने थलोमा बेलाबखत सांस्कृतिक उत्सवले पृथक परिवेशको दृश्य प्रस्तुत गर्छ। रिझाएका हाटबजारका आवाजहरू छन्। तीमध्ये पनि असन-एक यस्तो ठाउँ हो, जसले समयलाई आफ्नो व्यस्त चालले पन्छाइरहेको छ।
सहरको मध्यभागमा अवस्थित असन, किनमेलको थलो मात्र होइन, सभ्यता र संस्कृतिको एउटा जिउँदो संग्रहालय पनि हो। यहाँका घरहरू अग्ला छन् र गल्लीहरू साँघुरा छन्। तर तिनले जीवनको अपार खुलापन समेटेका छन्।
बिहान सबेरै नै अर्थात् उज्यालो धर्तीमा झर्नुअघि नै यहाँको वातावरणमा मानवीय चहलपहलको प्रारम्भ भइसकेको हुन्छ। जहाँ पूजाआजामा आउनेहरूको घुइचोदेखि किनमेलका मानिसको भीडले निकै चहलपहल बढ्छ।
असनको डबलीमा बिहानै बत्तीको मधुर उज्यालोमा मानिसको आऊ–जाऊको हतारो एक प्रकारले जीवनको चलायमान गतिको विम्ब पनि हो। यही भीडमा तरकारी व्यापारीहरूका स्वर मिसिएर आउने कोलाहल, मठमन्दिरका घण्टीहरूको गुञ्जन, सिद्रागुन्द्रुकको गन्ध र चिया पसलहरूमा गफिनेहरूको हुटहुटी। यी सबै दृश्यमय दर्शनका परम्परागत क्रमको निरन्तरता पनि हो।
यसै चोकमा सखारै सफाइ कर्मचारीहरूले अघिल्लो दिनका फोहोरमैला बटुल्दै, बटार्दै सिनित्त सफा पारिएका अन्नपूर्णा देवीको चोक निकै सुन्दर देखिन्छ। बत्तीको चहिलो किरणमा मन्दिरको कलात्मक संरचना नेपाली कलाकौशलको यौटा उदाहरणीय स्तम्भ पनि हुनसक्छ।
यसै मन्दिरको प्राङ्गणमा भक्तजनहरूको लामो लाइन र पूजाप्रार्थनाको आध्यात्मिक मन अँध्यारोपछि आउने उज्यालो समयको प्रतीक्षा पनिहुसक्छ। उनीहरू आरोग्य जीवनको मनोकामना बोकेर त्यहाँ आएका हुन्छन्। फर्किँदा तरकारीका पोको बोकेर असनको यात्रा ‘एक काम दो काज’ जस्तै हुन्छ।
त्यही चोकमा यसरी पूजाआजाका लागि हातमा पूजा थाली बोकेर आइरहेका भक्तजन महिला आमादिदीहरू, ‘मोर्निङ वाक’ को फेरो मार्दै अन्नपूर्णा देवी परिक्रमा गर्न आइपुगेकाहरू, तरकारी बेच्न आएका किसानहरूका खर्पन, डोका आदि हुन्छ। त्यहीँ परेवाहरू बिहानै चारा टिप्न हतार गरिरहेको एकपछि अर्को दृश्यको श्रृङ्खला त्यहाँ दृष्टिगोचर हुन्छ।
वास्तवमा असनको हाटबजारमा समय किनिन्छ र बेचिन्छ। अनेकथरि मान्छेका भेट हुन्छ। कुराकानी हुन्छ। अनेकथरि अनुहारहरूको त्यस जम्काभेटमा स्थानीयपन र पहिचानको राम्रो झलक पनि देख्न पाइन्छ।
असनको मुख्य चोकमा उभिएर चारैतिर दृष्टि दौडाउँदा थुप्रै आयामहरू देखिन्छन्। एकातिर फलफूलको थुप्रो, अर्कोतिर मसला पसल। अनि कुनै कुनामा सुनचाँदीका गहना पसलहरू। यहाँ व्यापार मात्र हुँदैन, समयको किनमेल पनि हुन्छ। ठूला महाजनका सन्तानहरू अहिले पनि यही गल्लीमा बसेर आफ्ना पुर्खाको विरासत धानेर बसेका छन्।
काठमाडौंबाहिरका मात्रै होइन शहरका भित्री बासिन्दाहरूसमेत असनलाई ‘सबथोक पाइने ठाउँ’ भन्छन्। साँच्चै, यहाँ केही नपाइने वस्तु विरलै होला ! बागलुङको घिउदेखि ताप्लेजुङको अलैँचीसम्म, दोलखाको छुर्पीदेखि पाल्पाको ढाकाटोपीसम्म पाइन्छ। जुम्लाको पाखनबेत, इलामको इलामे चिया, धनकुटाको सुन्तोला, जनकपुरको माछा, खोकनाको तेल किन्न यहीँ आउनुपर्छ।
काठमाडौँ उपत्यकाको भव्यता यही चोकमा अडिएको थियो पहिले। त्यही भएर यहाँ देवीहरूको खट जुधाउने र ढोगभेट गराउने जात्राको उत्सव हुन्थ्यो। अतः संस्कृति र परम्पराको जक्सन हो असन।
असन व्यापारिक केन्द्र र सांस्कृतिक सम्पदाको खानी पनि हो। यहाँका गल्लीहरू ऐतिहासिक मन्दिर, चैत्य, तथा पुराना घरहरूले भरिपूर्ण छन्। असनकै बीचमा रहेको अन्नपूर्णेश्वरी मन्दिरलाई लिएर थुप्रै किंवदन्ती सुन्न सकिन्छ।
कतिले भन्छन्- यो मन्दिर अनादिकालदेखि यहाँ छ। कसैले भन्छन्– यसले व्यापारिक मार्गहरूलाई सुरक्षित राख्ने शक्ति प्रदान गर्छ।
असनका गल्लीहरूमा रम्ने हो भने, इतिहासले फुसफुसाएर आफ्ना कथा भन्न थाल्छ। उहिल्यै राजाहरूका पालामा त यहाँ व्यापार गर्नेहरू भारतदेखि तिब्बतसम्मका थिए रे ! यी गल्लीमा गमलाका फूलहरू बेच्नेहरू मात्र होइनन्, चिया पिउँदै साहित्य छलफल गर्नेहरू पनि भेटिन्छन्।
अन्ततः जीवन्त हाटबजारको जादूमय थलो हो यो असन।
डेढ दशकअघि बिहान र रात्रिकालीन असनको दृश्यलाई आँखाभरि बटुलेका सम्झनाहरू मेरो मानसपटलमा जीवितै छन्। पहिले र अहिलेको असनमा केही परिवर्तन आएके छ। तर असनको चिनारीमा फेरबदल आएजस्तो चाहिँ लाग्दैन। ठहिटीदेखि आउँदा होस् या भेँडासिंह अथवा इन्द्रचोकतिरबाट असन आउँदा परैबाट असनको असली गन्ध नाकसम्म आउँथ्यो।
त्यो गन्धमा अनेकथरि गन्ध मिसिएको हुन्थ्यो। गन्ध भन्नाले गनाउन होइन त्यसमा बेग्लै किसिमको मिठास पनि महसुस हुन्थ्यो। साँझको घुमाइ त झन् रमाइलो हुन्थ्यो। स्थानीय व्यापारी, ग्राहकहरू, मजदूरहरू, गाडी गुडाउने, तरकारी व्यापारीहरू सबै मिलेर असनलाई साँझपख झन् जीवन्त बनाइरहेका हुन्थे।
मलाई लाग्छ, असन एउटा जीवित संग्र्रहालय हो। यसले समयलाई रोकेर राखेको छैन। बरु समयसँगै हिंडिरहेको छ। आधुनिक सुपरमार्केट र मलहरूले यसलाई केही न केही असर पारिरहेका होलान्।
तर असनको धड्कन कहिल्यै रोकिँदैन। किनकि यो किनमेल गर्ने ठाउँ मात्र होइन, यो एउटा संस्कृतिको चोक र चिनारीको प्राचीन थलो हो। यहाँ पुरानो र नयाँ, भूत र वर्तमान, व्यापार र परम्परा सबै एकसाथ जिउँदै छन्।
असनमा हिँड्दा, सामान किन्ने होइन, जीवनको एउटा अंश पनि साथमा लैजान सकिन्छ। यही असनको जक्सनमा, समय स्वयं व्यापार गरिरहेको हुन्छ– कुनै ग्राहकको पर्खाइमा, कुनै पसलको चुक्क चल्न छाड्ने चिन्तामा।
यही पुरानो ठाउँ असनमा दिदीबहिनी देवीहरू ढोगभेटको सांस्कृतिक अनुष्ठान यौटा अविच्छिन्न परम्पराको निरन्तरता पनि हो। यसमा परम्पराको निर्बाध निर्वाहसँगै स्नाथीय जनजीवनमा आफ्नो आस्था र आराधनाप्रतिको असीम श्रद्धा पनि व्यक्त भएको अनुभव गर्न सकिन्छ।
अहिलेको नयाँ पुस्तामा यसप्रति जागरण र प्रेमको भाव प्रवेश गराउन सक्नु ठूलो उपलब्धिको कुरा हुनेछ भावी पुस्ताका लागि समेत। यस कार्यमा कतिपय वडा, टोलहरूले बाजागाजाको प्रशिक्षण गरी-गराई युवापुस्तामा चासो जगाउँदै आएको छ।
असनलाई काठमाडौं उपत्यकाको हृदय मानिन्छ। यहाँ समयले बजार गुल्जारको व्यवस्था उहिलेदेखि गर्दै आएको हो। कुनै किसिमको सामानहरू किनमेलका लागि असन बजारको पसल भरपर्दो गन्तव्य स्थल रहँदै आएको पनि उहिलेबाट हो।
यहाँ खिर्चीमिर्ची सामान, बोटबिरुवाका सामान, औषधिदेखि कपडा, किराना पसल घिउ-तेलदेखि जडीबुटी यावत आवश्यक सामानहरूको उपलब्ध पसलहरु साना कोठादेखि सडकका छेउ किनारा जताततै साना-ठूला पोका-पुन्तुराका झोले पसलहरू पनि देख्न पाइन्छ।
सानै होस् तर यिनै पसलमा हामीले खोजेको हामीलाई चाहिएको घरेलु सामान यहाँ उपलब्ध हुन्छ। त्यसैले असल बजार उहिलेदेखि काठमाडौँ काठका हुन् वा काठमाडौं बाहिरबाट आउने अथवा काठमाडौँ भित्रकै मानिसहरुले किनमेल गर्ने एउटा महत्वपूर्ण जक्सन हो।
आफ्ना पाइला गन्तव्यबिहीन तरीकाले मात्र चालेको छैन, संस्कृति, व्यापार र लोकधार्मिक चहक पनि सँगसँगै लहराएको छ। यो बजार साँघुरो गल्लीहरूको जालो मात्रै होइन, पूरै उपत्यकाको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक तन्तुहरू गाँसिएको जीवित संग्रहालय हो। असनको सन्दर्भमा एउटा अनुपम विशेषता भनेकै यहाँ मनाइने देवीहरूको ढोगभेट संस्कार हो।
यो अनुष्ठान कुनै सामयिक आयोजनाभन्दा धेरै माथि छ–यो भनेको श्रद्धा, साइनो, र परम्पराको पुनर्नवीकरण हो। जब असनका देवीहरू एकअर्कासँग भेट्छन्, उनीहरू मात्र मूर्तिहरूको समागम गरिरहेका हुँदैनन्; त्यो त सम्पूर्ण समुदायले आफ्ना पुर्खाको संस्कारलाई पुनः स्मरण गर्ने, नयाँ पुस्तालाई परम्पराको सन्देश हस्तान्तरण गर्ने एउटा अनुपम अवसर हो।
जात्रा पनि परम्परा र नवीनताको सञ्जाल हो, जहाँ पुर्खाको सम्झना र भविष्यप्रति समर्पण मिसिएको छ।
जब जात्रा सकिन्छ, असन फेरि आफ्नो पुरानै गतिमा फर्किन्छ। तर, देवीको खट जुधाउने जात्राले छाडेका ध्वनि, रङ र भावनाका तरङहरू केही समयसम्म हावा, गल्ली र मानिसका मनहरूमा गुञ्जिरहन्छन्।
Facebook Comment