सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग

डिसी नेपाल
१५ चैत २०८१ १९:३०

काठमाडौं। समाजवादी मोर्चा नेपालले प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आपराधिक तत्वलाई यथाशीघ्र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

मोर्चाले आज विज्ञप्ति जारी गर्दै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो। मोर्चाले यस प्रकारका उच्छृंखल र अराजककार्यको भत्र्सना र निन्दा गरेको छ।

राजधानीमा आयोजना गरेको जनप्रदर्शनबाट अत्तालिएका यथास्थितिवादी तत्वले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय, काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजको निजी निवास, निजी तथा सार्वजनिक सम्पत्ति र सञ्चार गृहमा तोडफोड तथा आगजनी गरेको मोर्चाले जनाएको छ।

मोर्चाले प्रतिगामी षड्यन्त्रका विरुद्ध तथा गणतन्त्रको संवर्द्धन र राष्ट्रिय स्वाधिनताको संरक्षणका लागि आज आयोजित जनप्रदर्शनमा उल्लेख्य नागरिकको सहभागिताका लागि आभार प्रकट गरेको छ।

मोर्चामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *