एभिन्यूज टिभीका क्यामेरा पर्सन रजकको मृत्यु भएकोप्रति पत्रकार महासंघद्वारा दुःख व्यक्त

काठमाडौं। नेपाल पत्रकार महासंघले राजसंस्थाको पुुनःस्थापनाको माग राख्दै भएको भनिएको प्रदर्शनकारीद्वारा गरिएको आगजनीको समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले स्तब्ध भएको जनाएको छ।
महासंघले आज प्रेस विज्ञप्तिमार्फत पत्रकार रजकको जलेर निधन भएको खबरले स्तब्ध भएको जनाउँदै यो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ। मृतक पत्रकार रकजप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
प्रदर्शनकारीको समूहले विभिन्न सञ्चारगृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हान्ने, सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेको भन्दै महासंघले भत्सर्नासमेत गरेको छ।
आगो लगाइएको भवनको समाचार संकलनका क्रममा जलेर एभिन्यूज टेलिभिजनका पत्रकार रजकको मृत्यु भएको महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पुष्टि गरिएको छ।
‘प्रदर्शनकारीको समूहले काठमाडौंस्थित तीनकुनेमा रहेको अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पुर्याएको छभने कान्तिपुर टेलिभिजनको भवनमा जबर्जस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुङ्गामुढा गरी समाचार कक्षसम्म आतंक सृजना गरिएको छ। यस्तै, हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड गरिएको छ’, महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र सञ्चारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य भएको महासचिव दाहालले बताए। क्षति पुर्याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन महासंघले सबैलाई आग्रह गरेको छ।
Facebook Comment