राजा फर्काउने आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नियन्त्रणमा

काठमाडौं। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ।
८७ वर्षीय नेता सुवेदीलाई स्वास्थ्य र उमेरका कारण घरमै नियन्त्रणमा राखिएको हो। प्रहरीले राप्रपाका महामन्त्री धवल शमशेर जबर, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र अधिवक्ता स्वागत नेपाललाई पक्राउ गरेको छ।
आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान गएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। शुक्रबार भएको राजावादीको आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान जानुका साथै निजी तथा सार्वजनिक सम्पतिमा तोडफोड र लुटपाट भएको थियो। आज भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त व्यवसायी दुर्गा प्रसाईँ भने फरार रहेका छन्।
राजावादी समूहले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको झडपले उग्र रुप लिएको थियो। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास लगाएत गोली प्रहार गरेको थियो।
Facebook Comment