सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति

डिसी नेपाल
१६ चैत २०८१ १४:२३

काठमाडौं । नेपाल पत्रकार महासंघले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ।

महासंघको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो।

समितिमा महासंघका ६ जना सचिव सदस्य रहेका छन्। समितिमा सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा र वैकुण्ठ पराजुली सदस्य रहेको महासंघका केन्द्रीय सदस्य मुकुन्द भण्डारीले जानकारी दिए।

समितिले आजै आक्रमण गरिएका सञ्चारगृहमा गएर अध्ययन गर्न लागेको संयोजक बागचन्दले जानकारी दिए। समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्नेछ। समितिले घटना के, कसरी भयो ?, अब महासंघ कसरी अघि बढ्ने ? लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ।

पूर्वराजा समर्थित समूहहरुले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए। प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो। कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण एवं तोडफोड गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *