प्रधानमन्त्री कप क्रिकेट : पुलिस बन्यो दोस्रो पटक च्याम्पियन

डिसी नेपाल
१६ चैत २०८१ १५:०८

काठमाडौं । नेपाल पुलिस क्लब लगातार दोस्रो पटक प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

अर्को बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिस लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

शनिबार सिद्धार्थ क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पुलिसले जम्मा २५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेर च्याम्पिनयको उपाधी हासिल गरेको हो।

जसअनुसार पुलिसका लागि कुशल भुर्तेलले ७० बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरेका थिए भने अमीत श्रेष्ठले ३९ र दिलिप नाथले अविजित ३१ रन बनाएका थिए।

पहिलो विकेटका लागि कुशल र अमीतले ७७ रनको साझेदारी गर्दा  आर्मीका लागि शाहब आलमले ३  तथा नरेन साउदले १ विकेट मात्रै हात पार्न सफल भएका थिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेर पुलिस सामु चुनौती खडा गरेको थियो।

जसअनुसार आर्मीका लागि बसिर अहमदले १०४ बलमा ९ चौका र १ छक्काको मद्दतले अविजित ८६ रनको योगदान गरेका थिए भने कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन मात्रै बनाएका थिए।

पुलिस समग्रमा चौथो पटक च्याम्पियन बनेको हो। पुलिस सन् २०१७ मा आर्मीसँग संयुक्त रुपमा तथा २०१९ र २०२४ मा एकल रुपमा विजेता बनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *