भुटानले अमेरिकालाई झुक्यायो, डिपोर्ट गरेर भुटान पठाइएका व्यक्ति नेपालबाट पक्राउ

काठमाडौं । अमेरिकाको ट्रम्प प्रशासनले आपराधिक कार्यमा संलग्न भएको भन्दै डिपोर्ट गरेर भुटान पठाएका तीन जना भुटानी नागरिक नेपालबाट पक्राउ परेका छन् । यी तीनै जनालाई अमेरिकाले भुटानको थिम्पुस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थल पठाएको थियो ।
दुई हप्ता पहिले अमेरिकाको ट्रम्प प्रशासनले केही देशहरुमाथि भिसामा प्रतिबन्ध लगाउने तयारी गरिरहेको जानकारी सार्वजनिक भएको थियो । यसमा अमेरिकाले केही देशलाई भिसामा पूर्ण प्रतिशन्ध लगाउने, केहीलाई आंशिक प्रतिशन्ध लगाउने र केही देशले तोकिएको समयमा मापदण्ड पूरा नगरे आंशिक प्रतिशन्ध लगाउने गरी तीन छुट्टाछुट्टै सूची बनाइएको थियो ।
भुटान तेस्रो सूची अर्थात अमेरिकाले तोकेको मापदण्ड तोकिएको समयभित्र पूरा नगरे प्रतिबन्धको सामना गर्नुपर्ने देशहरुको सूचीमा थियो । अमेरिकाले आफूलाई प्रतिबन्ध लाग्नसक्ने जोखिमपूर्ण सूचीमा राख्न खोजेपछि भुटान सरकारले अमेरिकालाई आफ्नो देशको नाम यो सूचीबाट हटाइदिन आग्रह गरेको थियो । यसका लागि अमेरिकाको शर्त मान्न भुटान तयार भयो । सोही अनुसार अमेरिकाले त्यहाँ आपराधिक कार्यमा संलग्न भुटानी नागरिकलाई डिपोर्ट गर्ने भयो ।
आफ्नो देशमा आपराधिक गतिविधिमा संलग्न भुटानी नागरिकलाई डिपोर्ट गर्ने अमेरिकाको शर्त मान्न भुटान तयार भयो । र, अमेरिकाले तीन जना भुटानी नागरिकहरु रोशन तामाङ, आशिष सुवेदी र सन्तोष दर्जीलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने गरी डिपोर्ट गरेर पठायो । ती तीनैजना नेपालीभाषी भुटानीहरु थिए । तर, यी व्यक्तिहरु भुटानमा अवतरण गरेपछि भने भुटान सरकारले चलाखी गर्दै उनीहरुलाई आफ्नो देशबाट पनि निकाल्यो ।
भुटानले उनीहरुलाई नेपालीभाषी भएको र नेपालको झापामा रहेको शरणार्थी शिविरका बासिन्दा रहेको भन्दै आफ्नो देशबाट निकालेर नेपाल पठाएको हो । भुटानले पहिले नेपालीभाषीलाई जसरी देशबाट निकालेको थियो अहिले डिपोर्ट गरिएका तीन जनालाई पनि त्यसैगरी निकालेको हो । भुटानले कैयौं वर्षअघि यसरी निकालेका नेपालीभाषीहरु ठूलो संख्यामा पूर्वी नेपालको शरणार्थी शिविरमा छन् । तीमध्ये केही अमेरिका सरकारको पुनर्वासको नीतिअनुसार अमेरिका गएर बसेका छन् ।
भुटानले अहिले देशनिकाला गरेका तीन जना पनि अवैध रुपमा नेपाल प्रवेश गरेपछि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् । अमेरिकासँगको शर्तअनुसार उनीहरुलाई भुटानले आफ्नै देशमा स्वीकार गर्नुपर्ने थियो तर भुटानले अमेरिकालाई झुक्याउँदै उनीहरुलाई देशनिकाला गरेको हो ।
Facebook Comment